शब्द आफै बोल्दैनन् । बोल्ने मानिसले हो । मानिसले एउटै शब्द फरक अर्थमा प्रयोग गर्न सक्छन् । नेपालमा यस्तो प्रचलन छ – कम्युनिष्टहरुलाई वामपन्थी (लेफ्ट) ठान्ने र बाँकी पार्टीहरुलाई गैरवामपन्थी (राइटिष्ट) भन्ने । यो बुझाइले नेपालको राजनीतिक विज्ञान विश्व विश्लेषण पद्दतिभन्दा केही फरक भएको छ ।
विश्वमा कम्युनिष्टहरुलाई बामपन्थी नभनिने हैन । तर, कम्युनिष्ट हुनु आफैमा बामपन्थी हुनुको परिचय पनि हैन । कम्युनिष्ट एउटा विचारधारा हो । विशेषतः कार्ल मार्क्स र लेनिनको दर्शनमा विश्वास गर्ने विचारधारा हो ।
कार्यदिशाका हिसाबले कम्युनिष्ट पनि उग्रबामपन्थी, बामपन्थी, वामकेन्द्रवादी, मध्यमार्गी र दक्षिणपन्थी हुन सक्छ । कम्युनिष्ट नामैले बामपन्थी, अरुचाहिँ काम गरे पनि वामपन्थी हैन भन्ने विश्लेषण अलि त्रुटीपूर्ण नै हो ।
कम्युनिष्ट हैन, न्यू लेफ्ट
नेपालमा अर्को प्रचलन छ, विश्वको जुनसुकै देशमा वामपन्थीले चुनाव जिते भने कम्युनिष्टहरुले जिते, फेरि मार्क्सवाद, लेनिनवादको, सर्वहारा अधिनायकत्वको, बजार अर्थतन्त्र विरुद्धको, निजीसम्पतिको अन्त्य, सामुहिक स्वामित्व र उत्पादन साधनको राष्ट्रियकरण नीति पुष्टि भयो भनेर हल्ला गर्ने ।
भेनेजुएलामा ह्यूगो चाभेजको, ब्राजिलमा लुला र वकर्स पार्टीको, बोलिभियामा मोरालेसको उदय हुँदा त्यति भनियो । अहिले ग्रिसमा सिरिजाको विजयलाई पनि त्यही भनिँदैछ । हो, सिरिजामा माओवादी, ट्राटस्कीवादी, स्टालिनवादीसम्मका कम्युनिष्टहरु पनि संलग्न छन, तर सबै गठबन्धन नै कम्युनिष्ट हैन ।
सन् १९९० यता उदय भएका ल्याटिन अमेरिकी बामपन्थीहरु कोही पनि कम्युनिष्ट हैनन् । यहाँसम्म कि ब्राजिलको बकर्स पार्टी पनि कम्युनिष्ट हैन, त्यो ‘न्यु लेफ्ट’ मात्र हो । अझ मोरालेज त जनजाति आन्दोलनसँग जोडिएका छन । ठीक यस्तै आन्दोलनलाई नेपालमा विखण्डनको आन्दोलन, जातीय आन्दोलन भन्न खोजिन्छ, तिनै बुद्धिजिबीहरु विश्व सन्दर्भमा भने मोरालेसको जितलाई कम्युनिष्ट समर्थकको जित भनेर मख्ख पर्दछन् । यस्तो बुझाइ र विश्लेषण पद्दतिले नेपाली जनमतलाई केही हदसम्म गुमराह पनि गरेको छ ।
लेफ्ट शब्दको उत्पति
लेफ्ट शब्दको उत्पति सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट भएको थियो । त्यतिखेर कम्युनिष्ट सिद्धान्तको उत्पति नै भएको थिएन । सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले ‘कम्युनिष्ट मेनुफेष्टो’ लेखेपछि मात्र कम्युनिष्ट विचारको जन्म भएको हो । फ्रान्सेली ‘नेशनल एसेम्बली’ मा राजाका समर्थकहरु दाहिने हारका कुर्सीमा बस्थे, क्रान्तिका पक्षधरहरु देब्रे हारका कुर्सीमा बस्थे । यसर्थ क्रान्तिका पक्षधरहरुलाई देब्रेतिर बस्ने (लेफ्ट) भनिएको हो ।
संवैधानिक विपक्षको माग गर्ने नागरिकमाथि दमन गर्ने कम्युनिष्ट सरकारहरुलाई कसरी बामपन्थी भन्न सकिन्छ ? ऊ कम्युनिष्ट हुन सक्छ, वामपन्थी हैन ।
आज भइरहेको भन्दा नयाँ प्रकारको, अझ राम्रो परिवर्तन चाहने, लोकतन्त्र, शान्ति, विकास र समाजवादको पक्षपोषण गर्ने, स्वतन्त्रता, पारदर्शिता र सुशासनमा विश्वास गर्ने, श्रमिक वर्गको जीवनका समस्याप्रति संवेदनशील हुने र त्यसलाई हल गर्ने प्रयत्न गर्ने, यस्तो हुनबाट रोक्ने जुनसुकै नामको पार्टी, विचार र सत्ताका विरुद्धमा निर्मम संघर्ष गर्न तयार हुने राजनीतिक शक्तिलाई बामपन्थी भनिन्छ ।
यदि यो दृष्टिकोणबाट हेर्ने हो भने थुप्रै देशका कम्युनिष्ट पार्टी पनि बामपन्थी रहँदैनन्, ती कम्युनिष्ट मात्र रहन्छन् । क्रान्तिकारी पनि रहँदैनन् ।
उदाहरणमा हेरौं । भरखरै हङकङमा महिनौंदेखि लोकतन्त्रका पक्षमा जनप्रदर्शन भइरहे । तर, त्यहाँको कम्युनिष्ट चीन समर्थक सरकार क्रान्ति (लोकतन्त्र) चाहिरहेको छैन । यसको अर्थ, त्यहाँका कम्युनिष्टहरु अब बामपन्थी रहेनन् । ती प्रतिक्रान्तिकारी र राइटिष्ट भइसके ।
यही कुरा चीनको मूलभूमि, क्युवा, उत्तरकोरिया र भियतनामका हकमा पनि लागू हुन सक्छ । अभिव्यक्तिको स्वतन्त्रता, मानव अधिकार, संविधानवाद, आवधिक निर्वाचन र संवैधानिक विपक्षको माग गर्ने नागरिकमाथि दमन गर्ने कम्युनिष्ट सरकारहरुलाई कसरी बामपन्थी भन्न सकिन्छ ? त्यस्तो नीति र सिद्धान्तलाई समर्थन गर्ने संसारको जुनसुकै देशको कम्युनिष्ट पार्टीलाई बामपन्थी भन्न मिल्दैन । ऊ कम्युनिष्ट हुन सक्छ, वामपन्थी हैन ।
कम्युनिज्म पनि वामपन्थ थियो
विशेषतः उन्नाइसौं शताब्दिमा कम्युनिज्म बामपन्थ थियो । किनकि त्यतिखेरका कम्युनिष्टहरु विपन्न र श्रमिक वर्गका पक्षक्षर थिए । उनीहरु श्रम कार्यघण्टा घटाउने, राज्य प्रक्रियामा सर्वहारा वर्गको पहुँच बढाउने, ट्रेड युनियन अधिकारका पक्षमा लड्ने, प्रतिनिधिमूलक लोकतन्त्रभन्दा फरक पनि लोकतन्त्रको विकास हुन सक्छ भनेर पैरवी गर्ने, त्यतिखेरका सामन्ती तथा पुँजीवादी सत्ताहरुको विरोध गर्ने काम गर्दथे । विशेषतः सोभियत सत्तामा स्टालिनको उदयपछि कम्युनिष्टहरुले विश्वव्यापी रुपमा नै त्यो गुण गुमाउँदै गए ।
कम्युनिज्मको विचार अठारौं शताब्दीको जगमा बन्यो । उन्नाइसौं शताब्दिभरि त्यो बामपन्थी विचार थियो । बीसौं शताब्दिमा शासक विचारधारामा बदलियो र कतिपय हिसाबले त्यसले यथास्थितिवादी बाटो लियो । एक्काइशौं शताब्दिका लागि भने कम्युनिज्म ‘राइटिष्ट’ विचार हो । किनकि अबको मानव समाज मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको चिन्तनको सीमाबाट हिँड्न सक्दैन । यी विचारधाराहरुको विरासत समातेर यसैको थप विकास गर्ने दृष्टिकोण पनि सही हैन ।
अबको युगलाई समातेर जब विचारधाराहरु विनिर्माण गर्न थालिन्छ, नयाँ विचारले यी विचारसँग अनेकन कोणहरुमा सम्बन्धविच्छेद गरिसकेको हुन्छ । सायद अबको बामपन्थले कम्युनिज्मसँग विस्तारै सम्बन्धविच्छेद गर्दै जान्छ ।
अब कम्युनिष्ट हुँदा बामपन्थी हुन सकिँदैन भन्न त मिल्दैन, तर त्यो निक्कै गाह्रो छ । किनकि त्यसले मानिसको चिन्तनलाई मारक्र्सवाद, लेनिनवादको सीमाभित्र कज्याउँन खोज्छ । तर, मानिस सधै गतिशील सोच भएको प्राणी हो । मानव समाजले मार्क्सवादी, लेनिनवादी सोचका पनि सीमासमेत नाघेर अघि बढ्ने इच्छा राख्छ । गतिशील भइरहने इच्छा राख्छ । त्यही विन्दूमा कम्युनिज्म र बामपन्थका बीचमा अन्तर्विरोध सिर्जना हुनेछ ।
के हो कम्युनिष्ट विचार ?
कम्युनिष्ट विचार चाहिँ के हो त ? सन् १८५२ मा कार्ल मार्क्सले जे.वेमेडियरलाई लेखेको चिठ्ठीमा भन्छन्-
‘आधुनिक समाजमा बर्गहरुको अस्तित्व र तिनीहरु बीचको संघर्षलाई पत्ता लगाएको जस मलाई नदिए हुन्छ । मभन्दा धेरै अगाडि नै बुर्जुवा इतिहासकार र अर्थशास्त्रीहरुले बर्गसंघर्षको ऐतिहासिक विकास र त्यसको आर्थिक रुपरंगबारे लेखिसकेका थिए । मैले पुष्टि गर्न खोजेको कुराचाहिँ के हो भने- १. वर्गहरुको अस्तित्व उत्पादनका ऐतिहासिक विकासका अवस्थासँग विशेष प्रकारले जोडिएको हुन्छ, २. वर्गसंघर्ष अपरिहार्य रुपमा सर्वहारा अधिनायकत्वतिर जाने छ । ३.त्यो अधिनायकत्व आफैमा वर्गहरुको अन्त्य र वर्गहीन समाजको निर्माण हुनेछ ।’
कार्ल मार्क्सको यो भनाइबाट साम्यवादका विशेषताहरु पुष्टि हुन्छन् । पहिलो-पुँजीवादले बुर्जुवा र सर्वहारा दुई वर्गमा समाजको ध्रुवीकरण गर्दछ । २. सर्बहारा बहुसंख्यामा हुने हुँदा उनीहरुले बुर्जुवा विरुद्धको संघर्षमा सर्वहारा क्रान्ति गर्छन्, त्यसको हतियार कम्युनिष्ट पार्टी बन्छ । ३. कम्युनिष्ट पार्टीले विशिष्ट ऐतिहासिक संक्रमणका रुपमा केही समय सर्वहारा अधिनायकत्व (कम्युनिष्ट पार्टीको अधिनायकवादी शासन) लागू गर्दछ । ४. यो शासनको क्रममा वर्गको अन्त्य हुन्छ, संगसंगै वर्गविहीन समाज निर्माण हुन्छ । ५. वर्गविहीन समाज निर्माण हुने भनेको शोषणविहीन, निजी सम्पतिविहीन, राज्यविहीन, मुद्रा, बजार र बचत (पुँजी) विहीन ‘कम्युन’हरुद्वारा सञ्चालित हुने समाज निर्माण गर्नु हो । ६. कम्युनबाट सञ्चालित संमाज नै कम्युनिज्म हो, त्यहाँ पुगेर मात्र मान्छे वास्तविक रुपमा खुशी, सुखी, मुक्त र स्वतन्त्र हुन सक्छ ।
जो यस्तो विचार दर्शनका विश्वास गर्छन्, उनीहरु नै कम्युनिष्ट हुन् । तर कार्ल मार्क्सले भनेका यी कुराहरु दर्शन, इतिहास र व्यवहार तिनै दृष्टिकोणबाट पुष्टि हुन सकेका छैनन् ।
एमालेको यथार्थ :
नेपालमा एमालेले आफूलाई कम्युनिष्ट नै भन्छ । अझ लेनिनवादी पनि भन्छ । अर्कोतिर आफूलाई जनताको बहुदलीय जनवादी पनि भन्छ । वस्तुतः यो असंगत चिन्तन हो । लेनिनवाद र जनताको बहुदलीय जनवादबीच कुनै सम्बन्ध छैन । यी बिल्कुलै फरक विचारधारा हुन् । मार्क्सवादको व्याख्या गर्ने क्रममा लेनिनसँग मतान्तर गर्ने कार्ल काउत्स्की र रोजा लक्जम्बर्गले अभिव्यक्त गरेका विचारसँग जनताको बहुदलीय जनवाद मिल्दोजुल्दो छ । सन् १९५० पछि थुप्रै देशमा यस्तै विचारलाई ‘युरो कम्युनिज्म’ भनिन्थ्यो ।
एमाले नेताहरुलाई यो कुरा बडो राम्ररी थाहा छ । कतिपय दोस्रो तहका नेताहरुले यो पंक्तिकारसँग व्यक्तिगत भेटघाटमा यो यथार्थलाई स्वीकार गरेका छन् । एमाले उपहासचिव घनश्याम भुसाल त घोषितरुपमा नै लेनिनवाद परित्याग गरी रोजावादी विचारलाई महत्व दिनुपर्ने मतका पक्षधर हुन् ।
‘सोसलिष्ट इन्टरनेशनल’ का महासचिव रोइला आइला काठमाडौं आउँदा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले यसको सदस्यता माग गरेका थिए । त्यो प्रजातान्त्रिक समाजवादीहरुको अन्तर्राष्ट्रिय संगठन हो । यसबाट पनि एमालेको मनोविज्ञान बुझ्न सकिन्छ ।
‘एमाले’ शब्द नेपाली राजनीतिमा एक प्रकारको ‘ब्राण्ड’ बनिसकेको हुँदा चुनावी राजनीति प्रभावित होला भनेर मात्र एमालेले आफूलाई लेनिनवादी भनिराखेको हो । कम्युनिष्ट भनिराखेको हो ।
एमालेले आफ्ना दस्तावेजहरुमा सोभियत प्रणालीको चर्को विरोध गरेको छ । उनीहरु अब ‘कम्युन अर्थतन्त्र’ मा विश्वास गर्दैनन्, न त ‘निजी सम्पति’ र ‘अतिरिक्त मूल्य’ को अन्त्यमा नै । उत्पादन साधनहरुको राष्ट्रियकरणमा उनीहरुको कुनै विश्वास छैन । ‘बजार अर्थतन्त्र’ भन्दा पर एमालेसँग कुनै भिन्नै उत्पादन तथा वितरण मोडेलको कल्पना देखिँदैन । यहाँसम्म कि उनीहरुले निजीकरणलाई पनि ‘छनौटपूर्ण निजीकरण’ भनेर स्वीकार गरिसकेका छन् ।
एमाओवादीको वैचारिक छटपटी
शान्ति प्रक्रियामा आउनु अघिसम्म एमाओवादी आधारभूतरुपमा कम्युनिष्ट पार्टी थियो । जुन दिन प्रचण्डले संसदवादी दलहरुलाई ‘तपाइँहरु गणतन्त्रवादी हुन तयार हुनु होस्, हामी बहुदलवादी हुन तयार छौं’ भनेका थिए, त्यसको वैचारिक मोड देखा परिसकेको थियो ।
माओवादी आन्दोलनभित्र कम्युनिज्मबारे नेतैपिच्छे फरक मनोविज्ञान छन् । प्रचण्ड द्वैध मनस्थितिमा छन् । बाबुरामले ‘नयाँ शक्ति’ को बहसमार्फत् बुझ्नेहरुका लागि काफी संकेत गरेका छन् ।मोहन बैद्य समूह अकर्मण्य र अनिर्णित छ । वैचारिक हिसाबले उसले पुरानै कम्युनिष्ट चिन्तनलाई समात्न खोजेको छ । तर, व्यवहारिक हिसाबले त्यो सम्भव छैन भन्ने उनीहरुलाई लागिसकेको छ ।
माओवादमा आधारित ‘नयाँ जनवादी क्रान्ति’ नेपालमा मात्र हैन, संसारमा कहीँ पनि सम्भव छैन अब । सम्भव भए नै पनि त्यो बामपन्थ नभएर एकप्रकारको अधिनायकवाद नै हुनेछ । एकदलीय सर्वसत्तावाद नै हुनेछ ।
विप्लब समूहको विचारमा अलि बढी साम्यवादका गुणहरु छन् । तर, त्यो पनि धेरै कुरामा अन्योलपूर्ण छ । यति हुँदाहुँदै पनि संघीयता, गणतन्त्र र समावेशीकरणप्रतिको प्रतिवद्धतामार्फत् माओवादी धारले बामपन्थी गुण भने छोडेको छैन ।
‘न्यु लेफ्ट’ को भविष्य
अबको बामपन्थी आन्दोलनको दिशा ‘न्यु लेफ्ट’ हो । वस्तुतः सहभागितामूलक लोकतन्त्र र बजार-समाजवाद यसका मुख्य विशेषता हुन् ।
विज्ञान र प्रविधिमा ‘क्वान्टम भौतिकी’ को विकासपछि द्वन्द्ववादका नियमहरु मार्क्सेली द्वन्द्ववादका सीमाभित्र रहँदैनन् । प्राचीन ग्रिक दार्शनिक हेराक्टिसदेखि शास्त्रीय जर्मन दार्शनिक हिगेलसम्म द्वन्द्ववादका आआफ्नै प्रकारको ब्याख्या हुँदै आएका थिए । एक्काइशौं शताब्दीमा द्वन्द्ववादको दर्शनले पनि नयाँ फड्को मार्ने सम्भावना छ ।
वलियो अन्तरपार्टी जनवाद, वर्गविश्लेषणमा मध्यमवर्गको भूमिका, सीमान्तकृत आन्दोलनप्रतिको झुकाव, राष्ट्रियता र भूमण्डलीकरणबीचको ‘द्वन्द्वात्मक सन्तुलन’, रचनात्मक श्रम आन्दोलन, वातावरणीय आन्दोलन आदि ‘न्यु लेफ्ट’ ले आफूमा समाहित गर्न सक्ने थप केही महत्वपूर्ण विशेषताहरु हुन् ।
प्रतिक्रिया 4