+
+

जाजरकोटको विकास निर्माणमा ढिलासुस्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ११ गते १०:२०

११ चैत, जाजरकोट । जाजरकोटमा विकास योजना कार्यालय र कार्यक्षेत्र एकै ठाउँ नहुँदा कर्मचारी तथा सेवाग्राहीलाई कठिनाइ भएको छ ।

जाजरकोटका लागि विकास निर्माणका कार्य गर्ने सरकारी कार्यालय रुकुम, सुर्खेत, नेपालगञ्ज लगायतका स्थानमा मात्र स्थापना हुँदा कर्मचारीलाई काम गर्न कठिनाइ भएको हो ।

कार्यालय जिल्लामा स्थापना हुन नसक्दा विकास निर्माणमा ढिलासुस्ती र आलटाल हुनुका साथै सरकारी खर्चमा पनि वृद्धि हुने गरिएको छ ।

गत वर्ष जाजरकोटमा स्थापना हुनुपर्ने डिभिजन सडक कार्यालय पनि रुकुमको चौरजहारीमै स्थापना भयो । सडक निर्माणको जिम्मेवारी बोकेको उक्त कार्यालय अपायक हुँदा निर्माणमा ढिलासुस्तीका साथै काम गुणस्तरहीन बन्ने गरिएको छ ।

टाढाको कार्यक्रमतर्फ दृष्टि नै नपुग्दा यस्तो समस्या आउने गरेको डिभिजन प्रमुख प्रकाश भण्डारीले बताउनुभयो ।

उक्त कार्यालयको बैंकिङ कारोबार पनि जाजरकोटबाटै हुने गरेको छ । डोल्पा र जुम्लासम्मको कार्य क्षेत्र हेर्न जाजरकोट नै पायक पर्छ । सुरक्षाका दृष्टिले पनि सन्तोषजनक नभएको कर्मचारीले बताएका छन् ।

अर्कै जिल्लाको विकासे अड्डा भएकाले स्थानीय समुदायको पनि सहयोग गर्न आनाकानी गर्ने गरेको ती कार्यालयका कर्मचारीले बताएका छन् ।

बिजुलीको अभावले कार्यालयको काम गर्न समस्या हुँदै आएको कर्मचारीको भनाइ छ । रुकुमको चौरजहारीमा रहेको कार्यालयमा पिउने पानीसमेत पाउन धौ–धौ रहेको कर्मचारीले बताएका छन् ।

त्यस्तै सिँचाइ डिभिजन कार्यालय पनि रुकुममै छ । पर्यटन कार्यालय नेपालगन्जमा छ । भवन तथा सहरी विकास र जल उत्पन्न प्रकोप डिभिजन कार्यालय सुर्खेतमा छ । कार्यक्षेत्र जाजरकोटमै भए पनि ती कार्यालयको शाखासमेत स्थापना भएका छैनन् ।

जिल्ला बाहिरबाट विकास निर्माणका काम गर्ने ती सरकारी कार्यालयले के कस्तो काम गर्छन् लक्षित समुदायलाई थाहा हुन मुस्किल हुँदै आएको छ ।

त्यस्ता कार्यालयबाट जिल्लाका लागि बर्सेनि ठूलो बजेट खर्च हुन्छ । जसको उपलब्धि भने देखिँदैन । बजेट बालुवामा पानी खन्याएझैँ भएको सरोकारवालाले बताउँदै आएका छन् । जिल्ला बाहिरका कार्यालय भएकाले पनि स्थानीय बासिन्दालाई सबै गतिविधि थाहा नहुने गरेको स्थानीयवासीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?