+
+

राहतको जाल बुनेर छद्मभेषीहरु छिर्दैछन् पालमा

वैसाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटको समय रहेछ । त्यसबेला हामी शक्ति समूहमा मानव बेचबिखन प्रभावित सदस्यहरुको नियमित मासिक बैठकमा थियौं । एक्कासी अनौठो आवाजका साथ कोठा हल्लिन थाल्यो । टेबुलका सामानहरु हुत्तिन थाले । यस्तो लाग्थ्यो, मृत्यु हामीलाई लिन आइरहेको छ । मेरो मुखबाट भूकम्प भन्ने आवाज एक्कासी आयो । सबैजना आत्तिएर भाग्न खोजे पनि भाग्ने अवस्था थिएन । टिम लिडरको हैसियतमा सबैजनालाई सम्हाल्नु थियो । तर, डर लुकाउन त कहाँ सकिन्छ र ? वरिपरिका घरहरुको पर्खाल भत्केर ईंटा झरिरहेको देखेपछि झनै त्रास सिर्जना भयो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ९:५०

सुनिता दनुवार

वैसाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटको समय रहेछ । त्यसबेला हामी शक्ति समूहमा मानव बेचबिखन प्रभावित सदस्यहरुको नियमित मासिक बैठकमा थियौं । एक्कासी अनौठो आवाजका साथ कोठा हल्लिन थाल्यो । टेबुलका सामानहरु हुत्तिन थाले । यस्तो लाग्थ्यो, मृत्यु हामीलाई लिन आइरहेको छ । मेरो मुखबाट भूकम्प भन्ने आवाज एक्कासी आयो । सबैजना आत्तिएर भाग्न खोजे पनि भाग्ने अवस्था थिएन । टिम लिडरको हैसियतमा सबैजनालाई सम्हाल्नु थियो । तर, डर लुकाउन त कहाँ सकिन्छ र ? वरिपरिका घरहरुको पर्खाल भत्केर ईंटा झरिरहेको देखेपछि झनै त्रास सिर्जना भयो ।
Sunita-danuwarसबैलाई टेबुलमुनि लुक्न भने पनि लुकेर बाँच्ने अवस्था थिएन । सबै सदस्यहरु रुवाबासी गर्न थालेपछि मैले टेबुलमुनिबाट निस्केर सबैलाई शक्ति समूहको कार्यालय नजिकैको ग्यारेजमा लगेँ । ठूलाठूला घर पिङ खेलिरहेका थिए । सदस्यहरु आत्तिएकाले उनीहरुको घरपरिवारमा सम्पर्क गराउन फोन गरें । तर, फोन सम्पर्क नै भएन । सदस्यहरु कोही बच्चा त कोहीले परिवारहरुका सदस्यहरु सम्झिँदै रुन थाले । त्यत्तिकैमा सानासाना बालबालिकाहरु घाइते भैसकेका थिए मानिसहरु घाइतेलाई लिएर अस्पतालतिर लग्दै गरेको देखियो ।

केहीबेरपछि पराकम्पन कम भयो र पोस्टपेड मोबाइलले काम गर्न थाल्यो । मेरो घरबाट सन्देश आयो, हामी सुरक्षित छौं । त्यसपछि सबै सदस्यहरुलाई घर घरमा पठायौं । एकैछिनमा सबैतिर तहस नहस भैसकेको रहेछ । रिगंटा लाग्यो, वाकवाक लाग्यो र  एकदम गाह्रो भयो । हेर्दा हेर्दै भूकम्पले देश तहस-नहस भयो । घरमा बसेकालाई सडकमा पुर्‍यायो ।  धेरैको परिवारबाट आफ्ना आफन्तलाई सदाको लागि बिछोड बनायो, बालबालिकाहरुलाई टुहुरो बनायो, अभिभावकको काख रित्तो बनायो, ८ हजार भन्दा ज्यादाले ज्यान गुमाए । दसौं हजार घाइते र अपांगता हुन पुगे ।

बैसाख १३ गते आइबार १२ बजेर ५६ तिर अर्कोपल्ट फेरि ठूलै पराकम्प आयो । त्यतिबेला हामी चौरमा बसेका थियौं । त्यतिबेला लाग्यो कि अब त जमीन नै भासिन्छ । विपत्ति आइलागेपछि  साँच्चै मान्छे साह्रै निरीह  हुँदोरहेछ । चाहे धनी होस् या गरीब, शिक्षित होस् या अशिक्षित, महिला होस् या पुरुष ।

मनमा जति डर भए पनि जिम्मेवारीले त्यसै बस्न दिएन । भोलिपल्ट १४ गते विहानै काठमाडौंका भग्नावशेषहरु हेर्न निस्किएँ ।
म शक्ति समूहद्वारा सञ्चालित शक्ति केन्द्र र संघर्षशील आवासहरुको अनुगमनमा गएँ ।  त्यहाँ सबै ठीक नै भएको पाएँ । उता सिन्धुपाल्चोकको अवस्था काठमाण्डौ भन्दा अझ बढी नै दयनीय थियो । सकुशल उभिएका घर र सदस्य नगुमेका परिवार थिएनन् । चेलिबेटी बेचबिखनबाट बढी प्रभावित र हाम्रो कार्यक्षेत्र भएकाले हामी सिन्धुपाल्चोकतर्फ लाग्यौं ।

बाटोमा जाँदा आँखाले भ्याउनेसम्मको दृश्यहरुमा पुरै गाउँ नै सखाप भएका रहेछन् । ती गाउँघरमा मेरा आँखा गए, धेरै नै गाह्रो भयो । तर पनि मनलाई बलियो बनाएर हामी चौतारा पुग्यौं । जब हामी चौतारा पुग्यौं, त्यहाँ हेर्दा अझ बढी गाह्रो भयो । पूरै चौतारा बजार नै सखाप भएको रहेछ ।

शक्ति समूह कार्यालयको पछाडि एउटा घरमा गाडी बनाउने एक जना पुरिएका रहेछन् । उनलाई दाजु आफैं आएर निकाल्ने प्रयास गरिरहेका थिए ।

मन दह्रो बनाउँदै राहत र उद्दारमा

बेचबिखन प्रभावित महिलाहरुले मृत्युलाई धेरैपटक जितिसकेका छन् । नरकबाट भागेर आउनेहरुका लागि, राक्षसहरुबाट पटक-पटक लुछिएर बाँचेकहरुका लागि मृत्युसँग डर हुँदैन जस्तो लाग्थ्यो

शक्ति समूहद्वारा सञ्चालित पुनर्स्थापना केन्द्र सिन्धुपाल्चोकका १० जना महिला तथा बालबालिका र ३ जना कर्मचारीहरुलाई उद्धार गरी काठमाण्डौमा ल्याउँदै थियौं ।  साङगाचोकमा त्यहाँका बासिन्दाहरुले राहत लिएर चौतारा जान लागेका सेनाका गाडी रोकेका थिए । उनीहरुको माग त्यो राहत उनीहरुलाई नै चाहिन्छ भन्ने थियो ।

त्यही ठाउँमा एउटा पक्की घरमा चारजना पुरिएकाले दुर्गन्ध फैलिएको रहेछ ।  शवलाई त्यहीँभित्रै एउटा कालो बिरालोले खाइरहेको छ भन्ने जानकारी उद्धारका लागि आएका चिनियाँ उद्धारकर्मीहरुले गराए ।

शक्ति समूहका धेरै सदस्य घरवारविहीन भइसकेका थिए । ठूलो संघर्षबाट समाजमा पुनर्स्थापना गरिएका बेचबिखन प्रभावित दिदी बहिनीलाई त्यही ठाउँमा राख्ने चुनौती हाम्रा सामु आइपुग्यो । त्यसैले हामीले राहतका लागि अपील गर्‍यौं ।  हाम्रै कर्मचारी र सदस्य साथीहरु डराइरहेका थिए । तर, मानवीय सहयोगका लागि हामी एकजुट भयौं ।  यसैक्रममाद एशिया फाउण्डेसन, एडब्लुएपी जापान, जेनेभा ग्लोबल, प्लानेट इन्फ्यान्टस, ग्लोवल फण्ड फर ओमन, सीडब्लुएसएचके, जापानी नागरिक मासाको तानाका तथा कोरियाली नागरिक सिसिलिया र सञ्जाल लगायतका विभिन्न व्यक्ति, संस्थाहरुले सहयोगी हात फैलाए ।

मृत्युसँग पटक-पटक संघर्ष

हामीले सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, गोर्खा, धादिङ, ललितपुर र काभ्रेको विभिन्न गा.वि.सहरुका लागि खाद्यान्न, बच्चाका लागि आवश्यक सामाग्री, सामान्य औषधीलगायत राहतका अत्यावश्यक सामाग्री संकलन गर्‍यौं ।

शुरुमै सिन्धुपाल्चोकमा राहत बाँडेपछि हामी भोटेचौरको बाटो हुँदै काठमाडौं फर्किदै थियौं । साँझपरेपछि दुर्गन्ध झन बढेर आउँदो रहेछ । बाटोमा ठाउँ ठाउँमा सुख्खा पहिरो गइरहेका थिए ।

हाम्रो एउटा गाडी कटिसकेपछि अर्को गाडी नकट्दै माथिबाट हृवात्तै पहिरो आयो ।  भूकम्पमा बाँचेका हामी यही पहिरोमा सिद्धिने भयौं भन्ने लाग्यो ।  बेचबिखन प्रभावित महिलाहरुले मृत्युलाई धेरैपटक जितिसकेका छन् । नरकबाट भागेर आउनेहरुका लागि, राक्षसहरुबाट पटक-पटक लुछिएर बाँचेकहरुका लागि मृत्युसँग डर हुँदैन जस्तो लाग्थ्यो । तर, जीवन रहुञ्जेल यसको माया त हुने नै रहेछ ।

भूकम्प प्रभावित गाउँबस्तिमा हुन सक्ने मानव वेचबिखन विरुद्धको अभियान चलाउने सन्दर्भमा छलफल गर्दै शक्ति समूहका सुनिता दनुवार, चरिमाया तामाङ, अधिकारकर्मी डा. रेणु अधिकारी लगायत
भूकम्प प्रभावित गाउँबस्तिमा हुन सक्ने मानव वेचबिखन विरुद्धको अभियान चलाउने सन्दर्भमा छलफल गर्दै शक्ति समूहका सुनिता दनुवार, चरिमाया तामाङ, अधिकारकर्मी डा. रेणु अधिकारी लगायत

नुवाकोट जिल्लामा भने हामीले सम्पर्क गर्न नसकेकाले म र बालकुमारी राना (आवास गृह संयोजक) थप्रेकको सातबीसे पुग्यौं । त्यहाँ खाद्यान्न भन्दा पनि जस्तापाता चाहियो भन्ने कुरा आयो ।

दलालको डर

सदरमुकाम बिदुर पुगेर प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार नै थप्रेक, शिखरबेंसी, उर्लेनी लगायतका गाउँमा जानुपर्ने भयो । त्यहाँ पुगेपछि हामीले थाहा पायौं ती ठाउँमा भूकम्पको विनाशपछि मानव बेचबिखनको जोखिम पनि बढेको रहेछ । राहत बाँड्ने नाममा दलालहरु गाउँ पस्न लागेको सूचना पाएपछि हामी अब राहतसँगै महिला बालवालिकालाई सचेत बनाउने उपाय खोज्न वैशाख २९ गते कार्यालयमै बैठक बस्दै थियौं । फेरि ठूलो भूकम्पले धक्का हान्यो । सबैजना भागाभाग भए, म चाहिँ केही सोच्नै नसकी उभिएको उभियै भएँछु । साँच्चै मृत्यु पटक-पटक नजिकबाट आएको महसुस हुँदोरहेछ ।

जेठ १३ गते सिन्धुपाल्चोकको ग्यालथुनमा सुत्केरी महिलाहरुलाई २०० थान झुल र एकजना शक्ति समूहको सदस्य जसले आफ्नो २ वर्षको छोरा गुमाएकी थिइन्, उनलाई राहत र सहयोगका लागि गएका थियौं । हामीले झुल गाविस सचिवलाई हस्तान्तरण गर्दै थियौं । त्यहीबेला इचोकलाई केन्द्र बिन्दु बनाएर फेरि भूकम्पको धक्का आयो । सैनिक ब्यारेकबाट नुहाउँदै गर्दाका अवस्थामा कतिपय सैनिकहरु डराउँदै बाहिर आए । उनीहरु हामीलाई भन्दै थिए-अब नभाग्नुस् ।

लडेपछि उठ्न नडराउँ

भूकम्प आउँछ भनेर दिनभर पालभित्र बसेर तास खेल्ने थुप्रै झुण्डहरु हाम्रो टोलतिर पनि देखिरहेका छौं । त्योभन्दा सिर्जनात्मक कार्यमा मन लगाउनु बुद्धिमानी देखिन्छ । डराएर कहिलेसम्म बस्ने ? अब सबै आ-आफ्नो काममा फर्किन ढीला गर्नुहुँदैन । यही लेख लेखिरहँदा भूकम्पको देश जापानमा ८.२ रेक्टर स्केलको भूकम्प गैसकेको छ, । यस्तो फेरि पनि हुन सक्छ । तर, त्यसो भनेर अब पुर्ननिर्माणमा नजुट्ने भन्ने हैन । मरेर जाने त गए, बाँचेकाहरुका लागि गाँस, वास र कपासको आवश्यकता पूरा गर्नुछ र सुरक्षित भविश्य निर्माण पनि । तर, जे होस, अबको पुनर्निर्माण भने सुरक्षित व्यवस्थित हुन जरुरी छ ।

जहाँ पातलो, त्यहीँ भ्वाङ

एउटा नेपाली उखान छ, जहाँ पातलो त्यहीँ भ्वाङ पर्छ । विपतिमा परेर घरबास गुमाएका बेला महिला वालवालिका बेचबिखनको जोखिम पनि बढेको छ । यति बेला महिला तथा बालबालिकाहरुलाई मानव बेचबिखन जस्तो जघन्य अपराध र अन्य अपराधबाट जोगाउन हामी सबैको उतिकै दायित्व हो । यो समयमा सबै मानिसहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । यही मौकामा मानव बेचबिखन गर्ने दलालहरु पनि  धेरै सक्रिय बन्दै गएको हामीले बिभिन्न ठाउँमा पुगेर थाहा पायौं ।

दर्जनौं बालबालिकाहरु भारत लैजाँदै गर्दा उद्दार भएका छन् ।  राम्रो काम लगाइदिने बाहनामा किशोरीहरुलाई ओसार-पसार गर्न थालिएका छन् भने उता आफ्नै अभिभावकहरुले १२/१३ वर्षका बालकहरुलाई काठमाण्डौको होटेलमा काम गर्न जाउ भन्दै कुटेर लखेटेको पाइयो ।

शक्ति समूहद्वारा सिन्धुपाल्चोकमा हालिएको मान बेचबिखन मुद्दाका ४ जना दलालहरु फरार रहेका छन् । यदि उनीहरु भारत पसिसकेछन् भने तिनीहरुले उतै बसेर अपराध बढाउन सक्ने ठूलो जोखिम रहेको छ ।

राहतका नाममा दाल चामल बाँड्न जाने कतिपय छद्मभेषीहरुले ठूला ठूला आश्वासन र प्रलोभन बाँड्दै लाउँलाउँ खाउँको उमेरका किशोरीहरुलाई आफ्नो जालमा पार्ने खतरा धेरै देखिएको छ । हामीले यस्ता धेरै ठाउँमा पुगेर उनीहरुलाई मनोवैज्ञानिक परामर्श पनि दिएका छौं ।

अब हामी संकल्प गरौं, हाम्रा घर भत्किए पनि सिर्जनशील हातहरु भाँचिएका छैनन् । हाम्रा मनहरु बिचलित भए पनि सपना टुटेका छैनन् । यो देशको नवनिर्माण र पुननिर्माणसँगै बेचबिखनजस्तो मध्ययुगीन अपराधलाई पनि अन्त्य गर्न सबैले हातमा हात मिलाउनु छ ।
(महिला अधिकारकर्मी सुनिता मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?