२७ असार, काठमाडौं । फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदारहरुलाई खाडी मुलुक पठाउने सरकारको निर्णय विरुद्ध आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरु आफ्नो अडानमा लचिलो बनेका छन् ।

यसअघि फ्रि भिसा र फ्रि टिकटको निर्णय खारेज गर्न माग गर्दै आएका उनीहरुले पूर्वअडान परिवर्तन गरी स्थगित गर्न मात्रै माग गरेका छन् ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले आइतवार राजधानीमा पत्रकार सम्मेलन गरी फ्रि भिसा र फ्रि टिकटको निर्णय स्थगित गर्दै आयोग गठन गरे वार्तामा बस्न तयार भएको जनाएको छ ।
वैदेशिक रोजगार ऐनत २०६४ को दफा ४ बमोजिम रोजगारदाता मुलुकसँग द्विपक्षीय सम्झौता गर्नुपर्नेमा रोजगारदाता कम्पनीसँग कुनै छलफल र सम्झौता नगरी फ्रि टिकट र फ्रि भिसाको निर्णय गरिएकाले आफूहरुले अहसमति जनाएको संघका अध्यक्ष विमल ढकालले बताए । निर्णय स्थगित गरी उच्चस्तरीय आयोग गठन गरिए आफूहरुले छलफल गर्न सक्ने ढकालले बताए ।
विगत पाँच दिनदेखि म्यानपावर बन्द गरी आन्दोलनमा उत्रिएका ब्यवसायीहरुले फ्रि भिसा र फ्रि टिकटको निर्णय फिर्ता गर्नुपर्ने लगायतका पाँच सुत्रीय माग संघले अघि सारेको छ ।
बायोमेट्रिक प्रणाली खारेज गर्न माग
ब्यवसायीहरुले कामदारलाई आर्थिक भार पर्ने बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने पनि माग राखेका छन् । यसअघि पनि बायोमेट्रिक प्रणालीको विरोध गरेका ब्यवसायीहरु सम्झौतामा चुकेका थिए ।
वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारले ७ सय रुप्ैया भिसा शुल्क तिर्नुपर्नेमा भिसा प्रोसेसिङका नाममा कामदारबाट थप ३२ सय रुपैया लिने भन्दै स्वीकृति दिइएको भीएलएन नेपाल तत्काल बन्द गर्नुपर्ने पनि ब्यवसायीहरुले माग अघि सारेका छन् ।
यस्तै, कोरियामा जीटुजी कामदार पठाउँदा एक लाख लिइरहेको अवस्थामा खाडी मुलुकमा निजी क्षेत्रलाई फ्रि भिसा र फ्रि टिकटको ब्यवस्था हुनुपर्ने निर्णय अब्यवहारिक भएको भन्दै फ्रि भिसा र फ्रि टिकटको शुरुवात सरकारबाटै गर्नुपर्ने तथा वैदेशिक रोजगार ऐन २०६४ कामदार र ब्यवसायीहरुको प्रतिकुल भएको भन्दै तत्काल संसोधन गर्नुपर्ने ब्यवसायीहरुले माग गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना कार्यालयहरु बन्द गरी आइतबार पाँचौ दिन पनि वैदेशिक रोजगार विभागमा घेराउ र प्रदर्शन गरेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले यही असार २१ गतेदेखि मलेसिया, बहराईन, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, ओमान र कुवेतको रोजगारीका लागि निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4