२८ असार, काठमाडौं । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका थारु सभासदहरुले एक भएर थारु अधिकारको बारेमा संविधानसभाभित्रै संघर्ष गर्ने बताएका छन् । त्यस क्रममा पार्टीको हृवीप उल्लंघन गर्न समेत तयार रहने उनीहरुले बताएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामा समावेशी सहभागिताको विषयमा सोमबार आयोजित कार्यक्रममा थारु सभासदहरुले समुदायका हितका लागि आवश्यक पर्दा दलको हृवीपभन्दा बाहिर जान सकिने बताए ।
नयाँ संविधानको मस्यौदाले आदिबासी थारुको अधिकांश अधिकार कटौती गरेको आरोप लगाउँदै सभासदहरुले संघर्षको विकल्प नरहेको बताए ।
एमाले सभासद तथा पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरीले प्रारम्भिक मस्यौदामा थारुको अधिकार छुटेको भएपनि मुटुमाथि ढुंगाराखेर स्वीकार्नुको विकल्प नरहेको बताए ।
संख्यात्मकरुपमा ४२ जना थारु सभासद संविधानसभामा प्रतिनिधित्व गरेपनि साझा मुद्दामा एक नहुँदा दबाव नपुगेको उनले बताए ।
कांग्रेस सभासद डिल्ली चौधरीले थारुको अधिकार स्थापित गराउन कांग्रेस सभापति सुशील कोइराला र नेता शेरवहादुर देउवालाई मनाउन आफू तयार रहेको बताए । साथै उनले एमाले सभासदले आफ्नो नेतृत्वलाई झुकाउन तयार हुने चुनौति दिए ।
सभासद गोपाल दहितले मातृभाषामा सूचनाको हक पहिले सहमति भइसकेको भएपनि मस्यौदाले खारेज गरेको आरोप लगाए ।
एमाले सभासद वैजनाथ चौधरीले केही भएपनि लोकतान्त्रिक आन्दोलनको विषय संस्थागत हुन गइरहेकाले त्यसमा खुशी हुनुपर्ने बताए । परिवर्तन चाहने वा नचाहने बीचको लडाई अहिले चलिरहेको बताउँदै चौधरीले संविधान समयमै बन्नु राम्रो पक्ष भएको बताए । सिमाङ्कन र नामाङ्कन टुंग्याएर जाँदा राम्रो हुन्थ्यो तर, त्यसो गर्दा संविधान नबन्ने हो पो कि भन्ने चिन्ता रहेको उनले बताए ।
सभासद गौरी शंकर चौधरी, मानपुर चौधरीले थारु आयोग गठनमा एक भएर लड्नुपर्ने बतााए । कैलाली र कञ्चनपुरको विषयमा सभासदहरुले एक भएर अगाडि बढ्नुपर्ने बताउँदै थारुको जनसंख्या पनि त्यही जिल्लामा सबैभन्दा वढी भएको बताए ।
प्रतिक्रिया 4