- राजपुर गाविस ९ स्थित डगमारा अस्थायी प्रहरी चौकी
१८ साउन, घोराही । खरले छाएका स-साना घर, न झ्याल-ढोका छन् न भित्तो बलियो छ । मान्छे उँभिदा पनि छानोमा टाउको ठोक्किने । न विजुली छ, न एक्कासौं शताब्दीको सन्चारको युगमा भरपर्दो सन्चार सेट नै । नेपाल-भारत सीमा सुरक्षामा खटिएको दाङका प्रहरी पोष्टका अवस्था हुन् यी ।
दाङ खण्डमा पर्ने ८३ किलोमिटरको दुरीमा ६ स्थानमा नेपाल प्रहरी बसेको छ । चार वटा स्थायी र दुईवटा अस्थायी प्रहरी पोष्ट सीमा नाकामा छन् । भैसाही, खांग्रा, कोइलाबास र मुसीनाका स्थायी प्रहरी चौकी हुन् भने डगमारा र सिरीया अस्थायी प्रहरी पोष्ट हुन् । तर त्यहाँ न बलियो भौतिक संरचना छ, न पर्याप्त जनशक्ति, न पर्याप्त हतियार, न सञ्चार सुविधा नै ।
सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको यो हालत देखेर भैसाही नाकाका एक व्यक्तिले भने ‘उनीहरु आफै असुरक्षित देखिन्छन् हाम्रो सुरक्षा कसरी गर्लान् ?’
सुरक्षामा चुनौति
कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै एक बर्ष पहिले सीमा प्रहरी चौकी भैसाही नाकाबाट बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्ति दिउँसै हतकडीसहित भागे । उनी अहिलेसम्म पनि फरार छन् । कारण थियो सुरक्षाका लागि प्रहरीको संख्या कम र घरको नाजुक अवस्था । हत्कडी लगाइदिएका व्यक्तिलाई एकातिर राखेर केही प्रहरीहरु काममा लागेकाबेला ति अभियुक्त फरार भएको प्रहरीले पत्तै पाएन ।
‘जनशक्ति कम तर भूगोल ठूलो छ त्यहि भएर सुरक्षामा हम्मेहम्मे पर्छ,’ भैसाहीनाकाका अमृत खड्काले भने, ‘अब यहाँ प्रहरीको संख्या थप्नु पर्छ ।’
दरबन्दी पनि छैन
स्रोत साधनको अभावसँग जुध्दै सीमा र नाकाबासीको सुरक्षामा तल्लीन छन् प्रहरीहरू । प्रहरीहरु मासिक १२ सयदेखि २ हजार रुपैयाँसम्म तिरेर भाडाका घरमा बस्दै आएका छन् ।
स्थायी र अस्थायी प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी पनि छैनन् । ५ देखि ९ जनासम्म प्रहरी दुई-चारवटा राईफल राखेर सुरक्षामा खटिन्छन् ।
जनशक्ति कम हुनु र भूगोल ठूलो हुँदा प्रहरीलाई गस्ती र नागरिक तथा सीमाको सुरक्षामा निकै अप्ठेरो हुने गरेको प्रहरीहरु बताउँछन् ।
फोन गर्न भारत जानुपर्ने बाध्यता

सीमाका भैसाही, खांग्रा र कोइलाबास बाहेक अरु प्रहरी चौकीमा सञ्चार सेट समेत छैन । नेपालका सीमकार्डले काम गर्दैन नाकामा । कुनै पनि सूचना वा घटना प्रवाहका लागि प्रहरीलाई भारतमा गएर फोन गर्नुपर्ने बाध्यता छ ।
विद्युत सेवा पनि छैन । भएका सञ्चार सेटहरु सोलारको मद्दतले चार्ज गरे पनि भरपर्दो र टिकाउ नभएको प्रहरीहरु बताउँछन् ।
उनीहरु हप्ताको एकपटक भारतमा लाग्ने हाटबजार गएर हप्ताभरी पुग्ने खाद्यान्न लिएर आउँछन् । ‘रासन, तरकारी लिन पनि भारत जानुपर्छ, फोन गर्न पनि भारत जानुपर्छ,’ खांग्रा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक माघिराम चौधरीले भने, ‘सबै कुरामा भारत मै भरपर्नु पर्ने बाध्यता छ ।’

स्रोत साधनको अभाव भए पनि नेपाल प्रहरी सीमा र नागरिकको सुरक्षामा प्रतिबद्ध रहेको दाङ प्रहरी बताउँछ । नाका क्षेत्रको स्थलगत निरिक्षण गरी सदरमुकाम घोराही फर्किएका दाङ प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘स्रोत साधन अभाव भएपनि जति छ त्यतिको अधिकतम प्रयोग गरी देशको सीमा र नागरिकको सुरक्षामा खटेका छौं ।’
उनले जनशक्ति र सुविधा थप्ने गृहकार्य भैरहेको जानकारी पनि दिए । कडायतले निरन्तर सीमा र सीमाबासीको सुरक्षामा खट्न र भारतीय पक्षसँग सम्बन्ध राम्रो बनाउन निर्देशनसमेत दिए ।
यो पनि पढ्नुस्
भारतले आफूखुसी नेपालसँगको सीमाना तोक्यो
प्रतिक्रिया 4