+
+

यसरी बढ्दैछ भारतसँग चामलमा परनिर्भरता, एक वर्षमा २५ अर्बको आयात !

१४ असोज, काठमाडौं । कुनै समयमा मुलुकको ब्यापार सन्तुलनको ठूलो स्रोतका रुपमा धान निर्यात थियो । तराईमा धान निर्यातका लागि गोला र मण्डीहरु स्थापना गरिएका थिए । पञ्चायतकालसम्म नेपालबाट करोडौं रुपैयाँ बराबरको चामल भारतमा निर्यात हुन्थ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते ११:०५

नविन अर्याल

१४ असोज, काठमाडौं । कुनै समयमा मुलुकको ब्यापार सन्तुलनको ठूलो स्रोतका रुपमा धान निर्यात थियो । तराईमा धान निर्यातका लागि गोला र मण्डीहरु स्थापना गरिएका थिए । पञ्चायतकालसम्म नेपालबाट करोडौं रुपैयाँ बराबरको चामल भारतमा निर्यात हुन्थ्यो ।

तराईका विभिन्न भागमा ठूलाठूला नहरहरु खनिएका थिए । जहाँबाट ठूला डुंगाहरुमा जलमार्गबाट धानको निर्यात हुन्थ्यो । सन् १९७० को दशकसम्म नेपाल धान चामलको निर्यातमा विश्वकै चौथो मुलुक रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) का बरिष्ठ अधिकृत कृष्णराज बजगाईं बताउँछन् ।

Import from India

तर, अहिले अवस्था फेरिएको छ । जुन देशमा नेपालले धान चामल निर्यात गथ्र्यो, त्यही देशबाट ठूलो परिमाणमा चामल आयात हुन थालेको छ । गत आर्थिक वर्षमा भारतबाट २४ अर्ब ८० करोड रुपैयाँको धान-चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा साढे ७ अर्ब रुपैयाँले बढी हो ।

राणा तथा पञ्चायतकालमा भारतमा धान चामल निर्यात गरेर व्यापार सन्तुलन हुने गरेकोमा अहिले धान चामल बढी आयात भएका कारण ब्यापार घाटा चुलीमा पुगेको देखिन्छ । राणाकालमा त चामल निर्यातकै कारण नेपालको भारतसँगको ब्यापार नाफामा थियो ।

कृषि प्रधान मुलुकमा एकवर्षमै झण्डै २५ करोड रुपैयाँको चामल भित्रिनुलाई अस्वभाविक रुपमा लिनुपर्छ । भारतसँग खुल्ला सीमाना भएको हुँदा ठूलो परिमाणमा धान चामल भन्सार छलेर पनि नेपाल भित्रिने गर्छ ।

टीइपीसीको तथ्यांक अनुसार गत वर्ष मासिक २ अर्ब ८ करोड रुपैयाँका दरले नेपालमा चामल भित्रिएको छ । आर्थिक वर्ष २०६६/०६७ मा एक अर्ब ८० करोड रुपैयाँ बराबरको चामल भित्रिएको थियो । ६ वर्षको अन्तरालमा झण्डै १३ गुणाले चामलको आयात बढेको देखिन्छ ।

राणाकालमा चामल निर्यात

टीइपीसीका बरिष्ठ अधिकृत बजगाईंका अनुसार राणा कालमा नेपालबाट फलेको र नफलेको गरी दुई प्रकारको चामल भारत निर्यात हुने गथ्र्यो । सन् १९१३/१४ मा नेपालबाट १ करोड ५९ लाख ३६ हजार रुपैयाँको चामल भारतमा निर्यात भएको देखिन्छ । जसमध्ये फलेको चामल ६८ लाख ९७ हजार रुपैयाँ र नफलेको चामल ९० लाख ३९ हजार रुपैयाँको थियो ।

यसैगरी, सन् १९२०/०२१ मा १ करोड ९२ लाख १४ हजार रुपैयाँ बराबरको चामल भारत निर्यात भएको बजगाईंले बताए । उनका अनुसार त्यतिबेला फलेको चामल ८२ लाख ६१ हजार रुपैयाँ र नफलेको चामल १ करोड ९ लाख ५३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

राणाकालको त्यो रकम अहिलेको २४ अर्ब रुपैयाँ भन्दा निकै ठूलो भएको बजगाईं बताउँछन् । त्यतिबेला नेपालमा भारतबाट धान चामल आयात हुँदैनथ्यो । तर, अहिले नेपाल चामलमा यति परनिर्भर भएको छ कि, भारतबाट चामल आएन भने धेरैको भान्सा रोकिन्छ ।

यसरी बढ्यो आयात

पछिल्लो समय नेपालीमा परनिर्भरता बढेको देखिन्छ । आम्दानीमा भएको वृद्धिसँगै काम गरेर खाने जाँगर नेपालीमा हराएको छ । बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालीहरु आयातीत खाने कुरामा निर्भर हुँदै गइरहेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

अहिले गाउँको खेतीयोग्य जमीन बाँझिन थालिसकेको छ । खेती भएको ठाउँमा पनि कम उब्जनी हुने गर्छ । काम गर्न सक्ने युवाहरु वैदेशिक रोजगारीमा जान थालेपछि गाउँघरका खेतवारी बाझिन थालेका हुन् । पहिला १५/२० मुरी फल्ने खेतमा मेहनत नगर्दा ४/५ मुरीमात्र फल्न थालेको गुल्मी मर्भुङका विष्णु अर्याल बताउँछन् ।

‘पहिला ठूलो परिवार हुन्थ्यो, प्रशस्त जनावर पालिन्थ्यो, खेतवारीमा हाल्न प्रशस्त मल हुन्थ्यो’ अर्यालले अनलाइनखबरसँग भने- ‘अहिले गाउँमा मानिस बस्नै छाडे, गाई भैंसी पाल्न छाडियो, मल नभएपछि कसरी उब्जनी हुन्छ ?’

टीइपीसीका बरिष्ठ अधिकृत बजगाईं कृषियोग्य भूमिको गैरकृषिजन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि अन्न उब्जनी घट्न थालेको बताउँछन् । पछिल्लो समय कृषियोग्य जमीनमा धमाधम घरहरु बन्ने क्रम जारी रहेको छ । घर, नबनेको जग्गा पनि दलालहरुले प्लटिङ गरेर राखिदिँदा किसानले उपभोग गर्न पाएका छैनन् ।

कृषकलाई आर्थिक, प्राविधिक र प्रोत्साहनात्मक कार्यको कमीले नेपाली उत्पादनहरु प्रतिस्पर्धी हुन नसकेको बजगाईं बताउँछन् । नेपालमा उब्जनी गर्नुभन्दा आयातीत चामल किनेर खान सस्तो हुने हुँदा पनि मानिसहरु अल्छी भएको अर्याल बताउँछन् ।

त्यसो त नेपालीमा ‘भाते’ संस्कृति विकास हुँदा पनि चामलको आयात बढेको एकथरिको भनाइ छ । ‘पहिला भात खानका लागि चाडपर्व कुर्नुपथ्र्यो, अरु समयमा आटो ढिँडो खानुपथ्र्यो’ बजगाईं भन्छन्- ‘अहिले गाउँघरमा समेत बिहान बेलुका दुबै टाइम भात खान थालियो, यसले पनि चामलको प्रयोग बढाएको हो ।’

कसरी आत्मनिर्भर बन्ने ?

चामल उत्पादन बढाउन सबैभन्दा पहिला खेतीयोग्य भूमिको गैरकृषिजन्य प्रयोजनमा प्रतिवन्ध लगाउनुपर्ने बजगाईंको सुझाव छ । त्यसको साथै कृषियोग्य जमीनमा सिँचाइको उचित प्रवन्ध मिलाउनुपर्नेहुन्छ । सरकारले पनि कृषिमा अनुदान दिएर कृषकलाई आकषिर्त गर्नुपर्ने उनले बताए ।

‘सरकारले कृषकलाई आर्थिक, प्राविधिक र प्रोत्साहनात्मक कार्यक्रमहरु सञ्चालन गरी उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ’ बजगाईंले भने- ‘यसो हुन सकेमा कृषिप्रति मानिसको आकर्षण बढ्छ ।’ त्यसो त पछिल्लो समय कृषकको आकर्षण नगदेवालीमा देखिन्छ । नगदेबालीमा मात्र नभई धानखेतीमा पनि कृषकलाई आकषिर्त गर्नुपर्ने देखिन्छ ।

‘सिद्धान्ततः भूपरिवेष्ठित मुलुक खाद्यान्न, उर्जा, हतियार, कोष र जनशक्ति आपूर्तिमा आत्मनिर्भर हुनुपर्छ, जसमा खाद्यान्नको भारत अंश सबैभन्दा बढिरहेको हुन्छ’ बजगाईंले भने- ‘तर विगत लामो समयदेखि यस विषयमा चरम लापरवाहीका कारण आज मुलुक चामलमा अति परनिर्भर भइरहेको छ ।’

यस वर्ष धान उत्पादन घट्ने

तराईमा जारी बन्द हडतालले यस वर्ष धानको उत्पादन घट्ने कृषि विकास मन्त्रालयले जनाएको छ । लामो समयदेखिको बन्दका कारण किसानले धानबालीमा समयमै प्रयाप्त रासायनिक मल हाल्न नपाएका कारण धानको उत्पादन घट्ने मन्त्रालयले अनुमान गरेको हो ।

धानका लागि युरिया, पोटास र डीएपी मल अनिवार्य हुन्छ । मन्त्रालयले यस वर्ष गएको वर्षमा भन्दा धेरै क्षेत्रफलमा धानखेती भएकाले उत्पादन सामान्य बढ्ने अनुमान गरेको थियो ।

तर, बन्दका कारण मल हाल्ने बेलामा किसानले मल किन्न नपाएपछि उत्पादन घट्ने निश्चित देखिएको हो । मुलुकभित्र धानको उत्पादन घट्यो भने आपूर्ति बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?