+
+

‘बाबुरामले केपी ओलीको शैली अपनाउनुभयो’

हाम्रो पार्टीको अध्यक्षले र पार्टीको निर्णय पनि बैचारिक राजनीतिक छलफल गर्न सकिन्छ तर, आरोप प्रत्यारोप नगर्ने हो । फेरि हामीले उहाँलाई फर्कन अपील पनि गरिरहेका छौं । तर, पछिल्ला दिनमा उहाँ जसरी आउनुभएको छ, त्यसले असहज स्थिति सिर्जना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ११:०३

Sital

हरिबोल गजुरेल, एमाओवादी नेता

बाबुराम भट्टराईले पार्टी छाडेर गएपछि एकअर्कालाई गालीगलौज नगर्ने भद्र सहमति भएको थियो भनिन्छ, अहिले उल्लंघन भएको हो ?

– हाम्रो पार्टीको अध्यक्षले र पार्टीको निर्णय पनि बैचारिक राजनीतिक छलफल गर्न सकिन्छ तर, आरोप प्रत्यारोप नगर्ने हो । फेरि हामीले उहाँलाई फर्कन अपील पनि गरिरहेका छौं । तर, पछिल्ला दिनमा उहाँ जसरी आउनुभएको छ, त्यसले असहज स्थिति सिर्जना गरेको छ ।

पार्टीको बैठकमै छलफल भयो भन्ने आएको छ नि ?

– पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले बाबुरामजीले कुराहरु यस्तो यस्तो गरिरहनु भएको छ, साथीहरु केही बोल्नुहुन्न, मैले आफ्नो विषयमा कति प्रतिवाद गर्ने, आफ्नो विषयमा आफैंले बोल्दा राम्रो पनि हुन्न, साथीहरुको कुरा के हो भन्नुभएको थियो ।

अहिले पनि हामीले व्यक्तिगत गालीगलौज नगरौं भनेका छौं । तर, बाबुरामजीले बाहिर बोलिरहनुभएको छ र सहमतिको उल्लंघन गर्नुभएको छ । यसमा अध्यक्षले अलिकति थोरै खन्निताजस्तै व्यक्त गर्न गर्नुभएको छ ।

भनेको, अब विगतमा पार्टी फुट्दाजस्तै अब एकअर्कालाई ताछ्ने, खुइल्याउने हो ?

– वैद्यको सन्दर्भमा पनि हामीले त्यस्तो गरेनौं । उहाँले गद्दार भन्नु भो, धोका दियो भन्नुभो । हामीले त उहाँको राजनीतिक आलोचना मात्र गरेका छौं । व्यक्तिगत गालीगलौज गर्दै हिँड्ने त्यो परम्परा ठीक होइन । त्यो परम्परालाई किरणजीको सन्दर्भमा नै हामीले तोड्यौं । उहाँले सक्नुभएन ।

अहिले हाम्रो कुरा त्योभन्दा पनि माथि उठौं भन्ने थियो । पार्टीमै फर्किने पनि उहाँलाई अपील गरेका हुनाले राजनीतिकरुपमा कुन प्रवृत्ति हो भनेरसमेत भनेका छैनौं । पछि त बोल्नुपर्छ । तर, व्यक्तिगत गालीगलौज नगरौं भन्ने हो ।

उसोभए गालीगलौज नगरौं भन्दा भन्दै बाबुरामजीको कुराले प्रचण्डको चित्त दुखेको हो ?

– पहिलो कुरा, जुन उहाँले भ्रष्टाचार र अख्तियारको कुरा गर्नुभएको छ । यद्यपि ट्वीटमा होइन है भन्नुभएछ । तर, कुरा आइरहेको छ । माओवादीलाई लाससँग तुलना गर्नुभएको छ, त्यसको जवाफ कसरी दिने ? माओवादी लास हो भनेपछि उहाँ के हो भनेर बोल्नुपरेन । यो शब्द राजनीतिक हो र ?

माओवादीको बैचारिक र राजनीतिकरुपमा आलोचना गर्न सक्नुहुन्छ, यो प्रवृत्ति छ भन्न सक्नुहुन्छ । तर, भत्किएको घर, स्टिकर टाँसेको घर, लास हो भनेर भन्न के जरुरी छ ? माओवादी कसरी भत्किएको घर हो ? विचारमा हो कि ? राजनीतिमा हो कि, सांगठनमा हो कि ? त्यो नभनेर उहाँले जसरी ओलीजीको उखान टुक्काको शैली अपनाउनु भो, त्यो गैरराजनीतिक हो ।

उहाँले त एमाओवादी निश्चित उद्देश्यका लागि गठन भएको हो । त्यो लक्ष्य पूरा भएपछि माओवादीको औचित्य सकियो भन्नुभएकै छ नि ?

– माओवादी त समाजवाद साम्यवादसम्म पुग्न गठन भएको हो । पुँजीवादी जनवादी क्रान्ति गर्न मात्र गठन भएको हो र ? पुँजीवादी क्रान्तिको एउटा कार्यभार पूरा भयो । समाजवादी क्रान्तिको कार्यभार त बाँकी छ ।

उहाँको पूरा भयो होला । पुँजीवादसम्म मात्र जाने उहाँको इच्छा भएकाले राजतन्त्र अन्त्य भयो, गणतन्त्र आयो । माओवादीसँग मेरो साइनो सम्वन्ध यत्ति हो, मार्क्सवादसँग कुनै साइनो सम्बन्ध छैन भन्न सक्नुपर्‍यो नि । उहाँ इमान्दार हो भने उहाँले भन्नुपर्छ, कि म त बाध्य भएर यता आएको हो । कुनै त्यस्तो पार्टी थिएन, जसले राजतन्त्र हटाओस्, समान्तवाद उन्मूलन गरोस् । त्यसकारण म माओवादीमा आएको हो । त्यसैका लागि जनयुद्धमा पनि गएको हो । अब मेरो मिसन पूरा भयो । अगाडिको मिसन छैन । कसैको छ भने लैजानुस् भन्नुपर्‍यो । त्यो भने त हामी उहाँलाई धन्यवाद दिन्छौं ।

तर, अब एमाओवादीको काम छैन भन्न पाइँदैन र ?

– माओवादीलाई भत्किएको घर, स्टिकर टाँसेको घर भनेर किन भन्नु ? हामी उहाँलाई पनि भन्न सक्दैनौं र ? अहिले जनताले बाहिर जसरी विभिन्न शब्दहरु प्रयोग गरेका छन् । हामीले त्यसलाई टिपेर भन्न सक्दैनौं ? त्यसैले आरोप प्रत्यारोप गर्ने हो भने हामी पनि सक्छौं । तर, अहिले चाहिरहेका छैनौं ।

त्यसैले उहाँको यो निराशाको अभिव्यक्ति हो । म माओवादीबाट निस्किएपछि सबैतिर हाइहाइ हुन्छ । मधेसले अंगालो हालिहाल्छ, थारु, जनजातिले अंगालो हालिहाल्छन् भन्ने परेको थियो । त्यो भएन र निराश भएर गालीगलौजमा उत्रनुभएको छ ।

तर, उहाँ त मधेसमा घुमिरहनु भएकै छ । तपाईहरुकै नेताहरुले स्वागत गरेका छन् । बरु तपाईहरुको न सभासद, न नेता मधेसमा जान सके….

– उहाँको स्वागत मात्र भएको छैन, विरोध पनि भएको छ । भोलि हामी पनि जान्छौं ।

बाबुरामको एमाओवादी परित्यागबारे अहिलेसम्मको तपाईहरुको निष्कर्षचाँहि के हो ?

– हामीले बाबुरामजीले गल्ती गर्नु भो भनेका छौं । यो भनेको बैचारिक बैचारिक विचलन भयो भनिएको हो । कुन प्रकृतिको बैचारिक विचलन हो भन्ने पार्टीमा छलफल र बहस गरेर समान धारणा बनाउँछौं ।

उहाँको अबको बाटो नि ?

– उहाँ जसरी अघि बढ्नुभएको छ, कम्युनिष्ट विचारतिर जाने मानिसहरु त्यतातिर आकषिर्त हुँदैनन् । त्यो पक्का हो ।

भनेको बाबुरामले कम्युनिष्ट छाड्ने संकेत हो ?

– उहाँले नयाँ शक्ति भनेर बहसमा ल्याउनुभएको थियो, मार्क्सवाद र नवउदारवादको फ्यूजन भन्नुभएको छ । त्यसले त्यही संकेत गर्छ । उहाँले अहिले त द्वन्द्वात्मक भौतिकवाद, माक्र्सवाद मान्छु भनिरहनुभएको छ । त्यो त भोलि थाहा हुन्छ । तर, बनाउन खोजेको गैरमार्क्सवादी पार्टी हो ।

बाहिर विभिन्न पार्टीको ल्याएर बनाउँछु भन्नुभएको छ । त्यो त मार्क्सवादी बैचारिक आधारमा त बन्दैन । अशोक राईहरु एमालेबाट जानुभो र कांग्रेस, एमाले सबैतिरका जाडेर संघीय समाजवादी पार्टी भन्नु भो ।

यसको मतलब अब बाबुराम अर्को अशोक राई बन्छन् भन्न खोज्नुभएको हो ?

– त्यस्तै त होला नि । सबै पार्टीका राम्रा मान्छेहरुलाई ल्याएर बनाउँछु भनेपछि त्यस्तै देखियो । अशोक राईले किन त्यस्तो गर्नुपर्‍यो भन्दा सबै पार्टीलाई समेट्न । अब बाबुरामले किन कम्युनिष्ट पार्टी बनाउनुहुन्न भन्दा सबै आउँदैनन् । त्यसैले गैरमार्क्सवादी पार्टी नै हो ।

उहाँले सिधै किन भन्नुभएको छैन भने हिजो कम्युनिष्ट भनेर हिँडेकाहरु पनि जोडिएका छन् । मार्क्सवाद छाडेँ भन्नुभयो भने तिनीहरु साथमा रहँदैनन् । त्यसैले उहाँले वीचको बाटो अपनाउनुहुन्छ । कम्युनिष्ट साथीहरुलाई समेट्न मार्क्सवादको कुरा गर्नु हुन्छ, बाहिर भएकाहरुलाई समेट्न मार्क्सवादबाट अलग भएर पनि प्रस्तुत हुनुहुन्छ ।

कत्तिको देख्नुहुन्छ बाबुरामको नयाँ शक्तिको सम्भावना ?

– अब कसैले चलाइदियो भने, कोही कृष्ण निस्कियो भने होला । जस्तो महाभारत युद्धमा लड्न त अर्जुनले लडे । पाण्डवहरुले लडे । तर, कृष्णको भूमिका निर्णायक रहृयो । त्यस्तै कोही भयो भने अर्को कुरा, नत्र … ।

एमाओवादीमा रहँदा गुटमा हेर्नुभयो भने शान्ति प्रक्रियामा आएपछि त बाबुरामजीको भूमिका ठूलो हुनुपर्ने हो नि । युद्धकालमा प्रचण्डको योगदान ठूलो हुनु स्वभाविक हो । तर, शान्तिकालमा उहाँको हुनुपर्ने हो । भनेको, गुटलाई त चलाउन सक्नुहुन्न भने पार्टी कसरी चलाउनु हुन्छ ?

पार्टी सञ्चालन गर्ने क्षमता बाबुराममा छैन भन्न खोज्नुभएको हो ?

– संगठनात्मक रुपमा उहाँको छैन । संगठन भनेको ग्रासरुटबाट बनाउनुपर्छ । हामीले प्रचण्डले तल सेलबाट काम गर्दै एरिया, होलटाइमर हुँदै दुःख कष्ट गर्दै जेलनेल हण्डर ठक्कर खाएर एउटा प्रक्रिया पूरा गरेका छौं । उहाँले त त्यो गर्नु भएन । माथिमाथिबाट नेता बन्नुभो । उहाँको स्वभावगत कुरा, अनुभव सबै हेर्दा गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?