+
+

प्रचण्डले बाबुरामलाई फर्काऔं भन्नुभएको छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते १०:३९

डा. बाबुराम भट्टराई पक्षधर भनेर चिनिने एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले महासचिव कृष्णबहादुर महरालाई सभामुख बनाएको भए राम्रो हुने बताएका छन् । अब पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने जिम्मा टोपबहादुर रायमाझीलाई दिनु उपयुक्त हुने पौडेलले प्रतिक्रिया दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

डा. बाबुराम भट्टराईलाई फेरि पार्टीमा फर्काउन अध्यक्ष प्रचण्डले आफूलाई भनेको पौडेलले जानकारी दिए । अनलाइनखबरसँगको कुराकानीका क्रममा नेता पौडेलले भने-‘अध्यक्षले अस्ति मलाई भन्नुभयो, बाबुरामजीलाई पार्टीमा फर्काऔं ।’

बाबुराम भट्टराईले पार्टी छाडेपछि आफ्नो पक्षका कार्यकर्ताहरुलाई समेट्ने उद्देश्यले जिल्ला दौडाहामा पोखरा पुगेका पौडेलले अनलाइनखरसँग भने- ‘७५ वटै जिल्लाका भट्टराईनिकट कार्यकर्ताले हामीलाई बिचल्लीमा पार्नुभो भनेका छन्, केहीले चाहिँ हामीलाई पनि छाडेर गइदिए हुन्थ्यो भन्ने सोचेका छन्, तर हामी अब पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्छौं, पार्टीलाई रुपान्तरण गर्ने प्रयास गर्छौं ।

एमाओवादीमा डा. भट्टराई पक्षका भनेर चिनिने पौडेलले आगामी कात्तिक १५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा फरक मतको दस्तावेज बनाउने तयारी गरेका छन् । यसका लागि आफ्नो विचार समूहका कार्यकर्ताको भावना बुझ्न उनी देशव्यापी दौडामा लागेका छन् ।

डा. भट्टराईले छाडेपछि उनको विचार समूह एमाओवादीमा के गर्दैछ भन्नेबारे अनलाइनखबरले पौडेलसँग गरेको संक्षिप्त कुराकानी :

महासचिव कृष्णबहादुर महरालाई सभामुख बनाउने कुरा थियो, तर ओनसरी घर्तीलाई बनाइयो, किन ?

महराजी सभामुख हुनुपथ्र्यो । हुन त ओनसरीजी पनि आदिवासी जनजाति समुदायबाट संघर्ष गरेर यो ठाउँसम्म आउनुभएको हो। उहाँ सभामुख बनेकोमा म खुशी भएको छु र उहाँलाई सम्मान एवं शुभकामना व्यक्त गर्न चाहन्छु । तर, सभामुखजस्तो पदमा रहेको व्यक्तिले अन्तरराष्ट्रिय समुदायसँग पनि त्यही प्रकारको भूमिका खेल्नुपर्ने भएकाले महराजी भएको भए राम्रो हुन्थ्यो । यद्यपि अब ओनसरीजीले पनि यो भूमिका सफलतापूर्वक निभाउनु हुने मैले विश्वास लिएको छु ।

मन्त्री छान्ने कुरामा चाहिँ तपाई महराको साटो टोपबहादुर रायमाझीको पक्षमा हुनुहुन्छ भन्ने सुनिन्छ नि, किन ?

हो, मैले सरकारमा जाने हो भने टोपबहादुरजीको नेतृत्वमा पठाऔं भनेको हो । अहिले टोपबहादुरजी संसदीय दलको उपनेता हुनुहुन्छ, संसदीय दलको नेता अध्यक्ष प्रचण्ड सरकारमा जाने कुरा भएन, त्यसैले उपनेतालाई पठाउनुपर्छ भन्ने हो । कि उहाँलाई उपनेता बनाउनै हुँदैनथ्यो, होइन भने विधि र प्रक्रियालाई त मिच्न पाइँदैन ।

टोपबहादुर रायमाझी त बाबुराम भट्टराईको मान्छे, तर उहाँ यतिबेला ओली सरकारको मन्त्री पदका लागि मरिहत्ते गरिरहनुभएको छ, के डा. भट्टराई र रायमाझीवीच वैचारिक दुरी बढेको हो ?

यसमा म व्यक्तिगत टिप्पणी गर्न चाहन्न । टोपबहादुरजीसँग मैले ३० औं वर्षदेखि सहकार्य गर्दै आएको छु । बाबुरामजी र टोपबहादुरजीको अन्तरसम्बन्धको विषयमा उहाँहरुले नै बताउने कुरा हो ।

डा. बाबुराम भट्टराईले पार्टी छाडिसकेपछि अब तपाईहरुले चाँहि कहिले छाड्ने ?

हामीले पार्टी छाड्ने तयारी गरिरहेका छैनौं । यही पार्टीभित्र अन्तरसंघर्ष गरेर यसलाई जनताको लायक पार्टीमा रुपान्तरण गर्ने हाम्रो तयारी छ । बाबुरामजीले छाडे पनि हामी यहीँभित्र बसेर अन्तरसंघर्ष चलाउँछौं । अध्यक्ष कामरेडले कात्तिक १५ गते केन्द्रीय समितिको बैठक बस्ने भन्नुभएको छ, त्यहाँ हामी आफ्ना कुराहरु व्यवस्थित (लिखित) रुपमा राख्छौं ।

अन्तरसंघर्ष त गर्ने भन्नुभयो, तर एमाओवादीभित्र त कुर्सीका लागि पो अन्तरसंघर्ष हुँदोरहेछ, अस्ति प्रचण्ड निवासमा मन्त्री पाउनुपर्छ भनेर नेताहरुवीच मारामार भएको सुनियो, यही हो अन्तरसंघर्ष ? केका लागि अन्तरसंघर्ष गर्नुहुन्छ तपाईहरु अब ?

स्थायी समितिको बैठकमा जेजस्तो गतिविधि देखियो, त्यसबाट म दुःखी भएँ । १७ हजार सहीदको बलिदानीबाट हुर्किएको हाम्रो पार्टीमा मन्त्री हुाका लागि सिनियर नेताहरुमा समेत हानाथाप हुँदा मलाई अत्यन्तै दुखको अनुभूति भएको छ । यस्तो पाराले हामी अगाडि बढ्ने त कुरै छैन, कांग्रेस र एमाले भन्दा पनि झनै गएगुज्रेको अवस्थामा पुग्नेछौं ।

केही साथीहरुले पार्टीलाई आफ्नो बपौतीजस्तो गर्नुभयो । नयाँलाई जिम्मेवारी दिऔं भन्दा दोहोर्‍याएर, तेहर्‍याएर आफैंले मन्त्री बन्न पाउनुपर्छ भन्नुभयो । सरकारमा गएर गर्नुपर्ने कामका विषयमा बहसै भएको छैन ।

अनि यस्तै पार्टीमा बसेर, अन्तरसंघर्ष गरेर यो पार्टीलाई सुधार्न सकिन्छ भन्ने लाग्छ तपाईलाई ?

धेरै विश्वास त छैन, तर एकपटक लागि परौं भन्ने लागेको छ । पार्टी अहिले धेरै पर पुगिसकेको छ, तै पनि हामीले धेरै दुख गरेर यहाँसम्म ल्याएको पार्टी भएको हुनाले सकेसम्म यसलाई रुपान्तर गर्ने हाम्रो प्रयत्न हुनेछ । त्यसैका लागि कार्यकर्ताको भावना बुझ्न म विभिन्न जिल्लामा निस्केको छु । कार्यकर्ताहरुको सुझाव जे आउँछ, हामी त्यही कुरा आगामी केन्द्रीय कमिटीको बैठकमा लैजान्छौं ।

तपाईहरुले पनि पार्टी छाडेर बाबुरामतिरै लागिदिए हुन्थ्यो भन्नेहरु छन् पार्टीभित्र ?

हामीलाई पार्टी नेतृत्वले त्यसो भन्नुभएको छैन । अस्ति अध्यक्षले बाबुरामजीलाई पनि फर्काउनुपर्‍यो भन्नुभएको छ । बाबुरामजीले गल्ती गर्नुभयो भन्ने पार्टीले निर्णय गरेको छ । तर, उहाँलाई फर्काउनुपर्छ, उहाँ पार्टीका लागि चाहिने मान्छे हो भन्ने छ । तर, केही उत्ताउलाहरुले चाँहि हामीले समेत पार्टी छाडेर गइदिए हुन्थ्यो भन्ने ठानिरहेका छन् । कतिपयको यस्तै उत्ताउलो सोचाइले गर्दा बाबुरामजीलाई यस्तो निर्णयमा पुर्‍याएको हो जस्तो लाग्छ ।

तपाईहरु अझै पनि आफूलाई बाबुराम विचार समूहको ठान्दै हुनुहुन्छ ? पार्टी छाडेर हिँडेका डा. भट्टराईसँग उठबस गरिरहेको सुनिन्छ, यसो गर्दा पार्टी अनुशासनको कारवाही किन नगर्ने तपाईहरुलाई ?

हामी पार्टीको निर्णय पालना गर्न तयार छौं । तर, केपी ओली र कमल थापाहरुसँग अंकमाल गर्न हुने, डा. बाबुरामजीसँग छलफलै गर्न नहुने भन्नु सही हुँदैन । बाबुरामजी हाम्रै साथी हो, उहाँलाई पार्टीमा फर्काउने निर्णय भएका बेला उहाँसँग भेटघाट र छलफलै गर्नु हुँदैन भन्नु संकीर्णता हो ।

तपाई अहिले जिल्ला जिल्लामा पूर्व बाबुराम गुटका मान्छे भेट्दै हिँडिरहनुभएको छ, यो त सीधै गुटबन्दी भएन र ?

हाम्रो पार्टीभित्र अहिले जसले जसलाई मन लाग्यो, उसलाई भेट्दै हिँडिरहेको अवस्था छ । यस्तो बेलामा कसले गुटबन्दी गर्‍यो कसले गरेन भनेर अनुसाशनको कारवाहीको विषय बनाउन मिल्ने अवस्था छैन । हामीले देशभरिका कार्यकर्ताको भावना बुझ्ने उद्देश्यले ७५ वटै जिल्लामा भेटघाटलाई अघि बढाएका हौं । निराश भएका कार्यकर्तालाई हामी साथमा छौं भन्न हिँडेको हुँ । अब म उहाँहरुलाई काँध थापेर अघि बढ्न तयार छु । ७५ वटै जिल्लामा पार्टीबाट उपेक्षामा परेका कार्यकर्ताहरुको पक्षमा उभिन्छु र पार्टीभित्रको गलत क्रियाकलापको प्रतिवाद गर्छु । यसमा मलाई कसैको कारवाहीको धम्कीको डर छैन ।

प्रधानमन्त्रीको निर्वाचनका बेला तपाईहरुले ओली गठबन्धनको विरोधमा वक्तव्य जारी गरेर सुशील कोइरालाको पक्षमा भोट हालौं भनेको होइन ?

त्यो विल्कुल गलत हो । हामीले सुशील कोइरालाको पक्षमा मतदान गरौं भनेको भनेर जुन प्रचार गरिएको छ, त्यो गलत हो । हामीले पार्टीको निर्णय मान्छौं तर अहिले माओवादी पार्टीका एजेण्डाविरोधीहरुसँग जुन गठबन्धन गरियो, त्यसको विरोध गरेका हौं ।

पार्टीको निर्णय मान्ने भए ओलीलाई सघाउने निर्णयको विरोधमा वक्तव्य नै किन निकाल्नुपथ्र्यो ?

यो गठबन्धन कस्तो भयो भने हामी जसका निम्ति, जेका निम्ति लड्यौं, हाम्रा एजेण्डविरोधी तिनैसँग हामी मिल्न पुग्यौं । एजेण्डाविरोधीहरुसँग गरिएको यो गठबन्धन हाम्रो पार्टीका लागि शोभनीय हुन्छ जस्तो लाग्दैन ।

हाम्रो भनाइ के हो भने अझै एकदुई दिन बाँकी थियो, मधेसीसँग वार्ता गरौं, चाडबाडका बेलामा भइरहेको बन्द हडताललाई सहजीकरण गरौं, राष्ट्रिय स्वाधीनतालाई ध्यान दिँदै नाकाबन्दी हटाउने वातावरण बनाऔं र भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिऔं । यी विषयहरुमा छलफल गरेर आन्दोलनका सहयात्रीहरुलाई साथमा लिएर अगाडि बढौं भन्ने हाम्रो भनाइ हो ।

उसोभए तपाईहरुको समूहका सांसदले केपी ओलीलाई मन नलागी-नलागी मतदान गरेका हुन् त ?

हो चित्त नबुझी नबझी ओलीलाई समर्थन गर्ने पार्टी निर्णयलाई हामीले मानेका हौं । पार्टी नेतृत्वले गरेको निर्णयलाई हामीले मानेका हौं । तर, हामीलाई यो निर्णय सहज लागेको छैन । अब यो गठबन्धन कसरी अगाडि बढ्छ, त्यो हेर्दै जाने कुरा हो ।

ओली नेतृत्वको सरकारमा गएर अब तपाईहरु के गर्नुहुन्छ त ?

विगतमा हाम्रो पार्टीले न त प्रतिपक्षको भूमिका खेल्न सक्यो, न त र सरकारमाथि नै हस्तक्षेपकारी भूमिका निभाउन सक्यो । अहिलेको अवस्थामा पार्टीले जनताका दैनिक जनजीवीकाका पक्षमा आवाज उठाउनुपर्छ, पार्टीले उहाओस्, नत्रभने हामी उठाउँछौं । हामी अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?