+
+

के हो आइएस ? कसले जन्मायो ?

यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई हाराबारा खेलाउने पेरिस आक्रमणको जिम्मेवार आइएसका प्रमुख नेता तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले केही वर्ष पहिले हिरासतमा लिएर पनि सामान्य मान्छे सम्झेर रिहा गरिदिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १०:५७

IA-Arms

  • अाइएस लडाकूले युद्धमा अत्याधुनिक हतियारसहित सवारीसाधन प्रयोग गर्ने गरेका छन् ।

अरुण बराल

यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई हाराबारा खेलाउने पेरिस आक्रमणको जिम्मेवार आइएसका प्रमुख नेता तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले केही वर्ष पहिले हिरासतमा लिएर पनि सामान्य मान्छे सम्झेर रिहा गरिदिएको थियो ।

अमेरिकास्थित ‘इन्सिटच्युसन फर दी स्टडी अफ वार’ (आइएसडब्ल्यु) का तर्फबाट हर्लिन ग्याम्भिरले गत जुलाइमा ‘आइएसआइको विश्व रणनीति: एक युद्धखेल’ नामक प्रतिवेदन तयार पारिन् । हर्लिनको सो प्रतिवेदन आइएसडब्ल्युको ‘मध्यपूर्वी सुरक्षा रिपोर्ट-२८’ मा प्रकाशित छ । हर्लिन अमेरिकी आतंकवाद प्रतिरक्षा विज्ञ हुन्, जसले संसारभरि भइरहेको आइएसको गतिविधिबारे अध्ययन-अनुसन्धान गरिरहेकी छिन् ।

आफ्नो अनुसन्धान प्रतिवेदनमा हर्लिनले आइएसको प्रभाव विश्वव्यापीरुपमा भइरहेकाले अमेरिकाले उसविरुद्धको लडाइँको रुप बदल्नुपर्ने सुझाव दिएकी थिइन् ।

इराक र सिरियामा अाइएसको प्रभाव क्षेत्र
इराक र सिरियामा अाइएसको प्रभाव क्षेत्र

सिरिया र इराकमा अमेरिकाको ध्यान तानेर आइएसले विश्वका अन्य देशमा प्रभाव बढाइरहेको उनको विश्लेषण थियो । हर्लिनले यस्तो निश्कर्ष निकालेको चार महिना नबित्दै आइएसले पेरिसमा आक्रमण गरेको छ । सिरिया र इराकमा भइरहेको आइएसविरुद्धको कारवाहीको जवाफमा उसले फ्रान्सलाई तारो बनाएको अनुमान गरिएको छ ।

एक जमानामा विन लादेनको अलकायदा जसरी अमेरिकाको निशानामा थियो, अहिले त्यसको ठाउँमा त्योभन्दा भयंकर स्वरुप धारण गरेर आइएस जन्मिएको छ । सन् २०१४ बाटमात्रै मूलतः विस्तारित बनेको आइएसले दुई वर्षयता नै विश्वका ७० देशको ध्यान तानिसकेको छ ।

फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक चासो बढेको छ ।

बिन लादेन गए, बगदादी आए

अाइएस प्रमुख बगदादी
अाइएस प्रमुख बगदादी

एक समय अलकायदाका नेता ओसामा बिन लादेनको नाममा धेरैको चासो थियो । टि्वन टावर ध्वस्त बनाउने लादेनको इहलीला अमेरिकाले समाप्त पारिसकेको छ । अफगानिस्तानमा रहेको तालिवानी शासन पनि ढलिसकेको छ । (यद्यपि त्यहाँ तालिवानीको गतिविधि यथावत छ ।) तथापि अहिले विश्वको रंगमञ्चमा ओसामा बिन लादेन वा अफानिस्तानको तालिवान भन्दा पनि भयंकर त्रासदी बोकेर आएको छ, अबु बकर-अल बगदादीले नेतृत्व गरेको इस्लामिक स्टेट (आइएस) ।

आइएसका समर्थकले आफ्ना नेता बगदादीलाई खलिफा इब्राहिमका नामले चिन्ने गर्छन् । इस्लामिक स्टेटको प्रमुख नेता बनेको चार वर्ष बित्दा पनि उनको वास्तविक अनुहार सार्वजनिक हुन सकेको छैन । सन् २०११ सम्म उनका लिखित भाषणहरु सार्वजनिक हुने गरेकोमा २०१३ मा उनको अडियो सन्देश सार्वजनिक भएको थियो । आइएसका समर्थकहरुले बगदादीलाई पैगम्बर महम्मदका बंशज मान्छन् ।

आइएसका मुख्य नेता बगदादीले इराकको बगदादस्थित इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा पीएचडी गरेका छन् । उनी सुरुमा मस्जिदमा धार्मिक शिक्षा दिन्थे । उनले ओसामा बिन लादेनले भन्दा बढी शिक्षा आर्जन गरेको हुनाले आइएसका समर्थकहरु उनलाई लादेनलाई भन्दा बढ्ता मान्छन् ।

जब अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्‍यो, त्यसपछि बकर अल-बगदादीले आफ्ना केही सहयोगीहरुलाई लिएर जैस अहल अल सुन्नाह वा-अल जमात (जेजेएएसजे) गठन गरे । उनको समूह त्यसबेला बगदादमा सक्रिय थियो ।

त्यसो त अमेरिकी सेनाले बगदादीलाई २००४ को फेबु्रअरीदेखि डिसेम्बरसम्म हिरासतमा समेत लिएको थियो । तर, उनलाई छाडिदियो । किनभने अमेरिकाले उसलाई यतिसाह्रो खतरनाक व्यक्ति होलान् भन्ने सोच्दै सोचेन ।

यिनै बगदादीले सन् २००६ को प्रारम्भमा जेजेएसजेको नाम परिवर्तन गरेर मजलिस शुरा अल-मुजाहिद्दीन राखे । त्यसपछि उनको संगठनले अलकायदासँग बफादार रहने कसम खायो र अलकायदामा मिसियो । त्यसपछि फेरि यो संगठनको नाम परिवर्तन भयो र आइएसआइएस राखियो, जसको सर्वोच्च सल्लाहकार परिषदमा बगदादी चुनिए । यो गुटका प्रमुख नेता अबु अमर अल-बगदादीको अपि्रल २०१० मा मृत्यु भयो । त्यसपछि अबु बकर अल-बगदादी यसको प्रमुख नेता बने, जसले अहिले सिरिया र इराकको भूभागमा आफ्नो प्रभुत्व जमाइरहेका छन् र विश्व समुदायलाई आतंकित पारिरहेका छन् ।

बगदादी कहाँ बस्छन् भन्ने अस्पष्ट छ । अनुमान गरिएको छ कि उनी सिरिया र इराकमा घुमिरहन्छन् । सुरक्षाको दृष्टिले उनी कहाँ बस्छन् भन्ने खुलाइँदैन ।

के हो आइएस ?

सन् २०१४ देखि इराक र सिरिया हुँदै विश्वका विभिन्न देशमा गतिविधि बढाएको आइएसआइएसको पूरा नाम स्लामिक स्टेट इन इराक एण्ड अल शाम (सिरिया) हो, जसलाई छोटकरीमा आइएस वा आइएसआई भनिन्छ ।

यो चरमपन्थी संगठनले इराक र सिरियामा आफ्नो कब्जामा लिएको भूभागलाई ‘खिलाफत’ (इस्लामिक राज्य) घोषणा गरेको छ । यसका खलिफा (मुखिया) बगदादी हुन् । चरमपन्थीहरुले घोषणा गरेका छन् कि आइएसआइएसलाई अब आइएस वा ‘इस्लामिक स्टेट’मात्रै भनिनेछ ।

आइएसको उद्देश्य मुसलमानहरुको अलग्गै इलामिक राज्य घोषणा गर्नु हो । उनीहरुले पश्चिमा लोकतन्त्रलाई खारेजीको घोषणा गर्दै अरबलाई पश्चिमी प्रभावबाट मुक्त गर्ने दाबी गर्दै हिंसात्मक लडाइँ छेडेका छन् । यसका लागि संयुक्त राष्ट्र संघले बनाएको सीमारेखा नमान्ने उनीहरुले घोषणा गरेका छन् । इराक र सिरियामा यसैको प्रयोग गर्दै आइएसले दुई देशको भूभागलाई एकै ठाउँमा मिलाएर इस्लामिक राज्यको घोषणा गरेको छ ।

इराकको राजधानी बगदादपछिको ठूलो शहर मसूल यतिबेला आइएसको नियन्त्रणमा छ । उसले निकट भविश्यमै सिंगो इराकलाई आफ्नो कब्जामा लिने दाबी गरेको छ ।

युरोपमा अाइएसको प्रभाव
युरोपमा अाइएसको प्रभाव

इस्लामिक स्टेटको गतिविधि यतिबेला ५० भन्दा बढी देशमा फैलिएको छ । आइएसविरुद्धको कारवाहीमा कुनै न कुनै रुपले ७० देश सहभागी छन् । आइएसविरुद्ध विश्वका धेरै देशहरुले सैन्य एवं गैरसैन्य सहभागिता जनाएर लडिरहेका छन् ।

आइएसविरोधी लडाइँमा सैनिक सहभागिता जनाउने देशमा अमेरिका छ भने सैन्य सामाग्रीमार्फत सहभागी देशहरुमा डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, पोल्याण्ड, अल्बानिया, अष्ट्रेलिया, इटलीलगायत छन् । क्यानडाले सैनिक सल्लाहकार उपलब्ध गराएको छ ।

मानवीय सहायतामार्फत् आइएसविरुद्ध अभियानलाई सहयोग गर्ने देशहरुमा नर्वे, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, टर्की, स्पेन, जापान, दक्षिण कोरिया, न्युजिल्याण्ड, हंगेरीलगायतका देशहरु छन् । सिरिया र इराकका सरकारहरु आइएससँग प्रत्यक्ष लडाइँ लडिरहेका छन् ।

एशियाका चीन र भारत आइएसको विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतले आएइएसको धम्कीको सामना गर्न थालेका छन् । हालै बेलायतबाट प्रकाशत एक रिपोर्टमा आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ ।

अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।

आइएसको नेतृत्व

आइएसको नेतृत्वमा खासगरी दुई प्रकारका मानिसहरु छन् । पहिलो, मुजाहिद्दीन, जसले २००३ मा इराकमा अमेरिकासँग लडेका थिए । मुजाहिद्दीनले अफगानिस्तानको पर्वतीय क्षेत्रमा आफ्नो प्रारम्भिक तालिम लिएका थिए । इराकमा सद्दाम हुसैनले अमेरिकासँग भूमिगत लडाइँ लड्दा हजारौं टन हतियार मुजाहिद्दीनले संग्रह गरेका थिए ।

उनीहरुले इराकको तेलखानी रहेका क्षेत्रहरुलाई आफ्नो आयस्रोत बनाउने उद्देश्यले कब्जामा लिने रणनीति बनाएका छन् । उनीहरु इराकलाई अमेरिकी नियन्त्रणबाट आफ्नो कब्जामा पार्न चाहन्छन् । उनीहरुको इराक कब्जाको रणनीति अहिले इस्लामिक स्टेटमा परिणत भएको छ र आफ्नो नियन्त्रणमा रहेको सुन्नी प्रभावित मोसूल लगायतको क्षेत्रमा इस्लामिक राज्य घोषणा गरिएको छ ।

अाइएसको नेतृत्व संरचना
अाइएसको नेतृत्व संरचना

दोस्रो, आइएसको नेतृत्वमा ती व्यक्तिहरु छन्, जो सद्दामका पालामा बाथ पार्टीमा थिए । सद्दामका सैन्य अधिकारीहरु ठूला हतियार चलाउने र युद्धकला जानेका मासिसहरु हुन्, जो यतिबेला आइएसमा छन् ।

एघार वर्ष लामो संघर्ष (खास गरी २००८-२०११ को अवधिमा) इस्लामिक स्टेट इराकले सद्दामका पालाका धेरैजना आर्मी अफिसर्सहरुलाई आफ्नो प्रभावमा ल्यायो । २०१० देखि उसले इराकमा गुरिल्ला युद्धको विकास गर्‍यो । २०१३ मा नियमित सेनाको विकास गर्‍यो । त्यसपछि इराक र सिरियाको एकीकृत आइएसआइएस बन्यो ।

इराक र सिरियावीचको सीमारेखा भत्काएको उनीहरुले घोषणा गरे । इराकका बगदादी आइएसको प्रमुख बने भने सिरियामा लडिरहेका अबु मुस्लिम अल-तुर्कमानी डेपुटी नेता बने । तुर्कमानी सद्दाम हुसैनको पालाका इराकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल एवं विशेष फोर्सका कमाण्डर हुन् । साथै सिरियामा आइएसको नेतृत्व गरिरहेका डेपुटी कमाण्डर अल-अनबरीसमेत इराकी सेनाका पूर्वसैन्य अधिकारी हुन् ।

आइएसको केन्द्रीय अंगमा ७ जनाको क्याबिनेट छ । ६ सदस्यीय गर्भनर बडी छ भने तीनजना युद्ध कमाण्डर छन् । सरकार सञ्चालन, सेना र मिडियाको छुट्टै विभाग छ ।

केही रहस्यहरु

रिपोर्टहरुमा बताइए अनुसार आइएसका लडाकूहरु पत्रकारलाई राम्रो दृष्टिले हेर्दैनन् । पत्रकारले लडाकूको प्रभाव क्षेत्रमा घुम्ने र नकारात्मक रिपोर्ट लेख्ने अनि सुराकी गर्ने उनीहरुको बुझाइ छ । तर, पछिल्ला दिनहरुमा गोरो वर्णका पत्रकारहरुले क्रमशः आइएस प्रभावित क्षेत्रमा पहुँच पाउन थालेका छन् । केहीले आइएसका बारेमा सन्तुलित सूचना प्रवाह गरेको उनीहरुमा बुझाइ देखिन थालेको छ ।

आइएसको छुट्टै आधिकारिक बेवसाइट छैन । उनीहरु बढीजसो टि्वटर प्रयोग गर्छन् । केही समय पहिले आइएसको आइटी ग्रुपले पेन्टागनको वेबसाइटसमेत ह्याक गरिदिएको थियो । एके-४७ राइफल र अत्याधुनिक हतियार चलाउने आइएसका लडाकूहरु आइटीमा समेत अमेरिकाका लागि चुनौती बन्ने गरेका छन् ।

इराकको मोसुल शहर आइएसको राजधानी नै हो भन्दा पनि हुन्छ । त्यहाँको अस्पतालमा घाइते लडाकूहरुको उपचार हुन्छ । अन्य सर्वसाधारणको निशुल्क उपचार एवं अप्रेसन गरिन्छ । आइएसको कब्जामा रहेको भू-भागमा खाना पकाउने ग्यासबाहेक अस्पताल, शिक्षा र सार्वजनिक यातायातसमेत निशुल्क छ ।

IS Mosul

आइएसलेले आफ्नो ‘स्टेट’ मा गरीबलाई घर बनाउने रकमसमेत वितरण गर्ने गरेको विभिन्न रिपोर्टमा देखिन्छ । अमेरिकासँगको लडाइँमा ध्वस्त भएका मानिसका घरसमेत उनीहरुले मर्मत गर्ने गरेका छन् ।

आफ्नो कब्जामा रहेका तेलखानीहरुबाट प्राप्त रकम नै आइएसको आम्दानीको मूल स्रोत हो । यसबाट उनीहरुले प्रशस्त आम्दानी गर्ने गरेका छन् । त्यही तेलको पैसाले उनीहरु युद्ध लडिरहेका छन् । इराकका थप तेलखानी कब्जामा लिने उनीहरुको योजना छ । इराक त्यस्तो देश हो, जसले दैनिक बरिक १० लाख डलरको तेल बिक्री गर्छ ।

त्यसो त ‘आइएस’ एक प्रकारको ‘रुमानी’ जत्थाका रुपमा विकसित हुन थालेको छ । बेलायतबाट कतिपय युवकहरु र युवतीसमेत आइएसमा लाग्न थालेपछि युरोपियनहरुमा थप चिन्ता बढेको छ । आइएस विरुद्धका केही कारवाहीमा बेलायती नागरिक मारिनुले यसको पुष्टि गरेको छ ।

महिलाहरुप्रति तालिबानीजस्तो अनुदार छैन आइएस । मोसुलको सहरमा महिलाहरुले विज्ञान पढिरहेको दृश्यले आइएस तालिवानभन्दा उदार हो कि जस्तो देखिन्छ ।

तर, आफ्ना विरोधीहरुमाथि गरिने नृशंस हत्यामा आइएस तालिवान वा अलकायदा भन्दा फरक देखिँदैन । मानिसलाई जिउँदै गाड्नु वा तड्पाई-तड्पाई हत्या गर्नु उनीहरुका लागि सामान्यजस्तै हो । पश्चिमा मिडियाहरुलाई पत्याउने हो भने उनीहरुले कैयौं शरणार्थी महिलाहरुमाथि यौन दुव्र्यवहारसमेत गर्ने गरेका छन् ।

आइएस लडाकूहरुले प्रायः एके-४७ राइफल प्रयोग गर्छन् । साथै उनीहरु अत्याधुनिक एवं गह्रौं हतियारसमेत चलाउन पोख्त छन् । विशेष गरी छापामार एवं स्थल युद्धमा उनीहरु तगडा छन् । उनीहरु कालो लुगा लगाएर हिँड्छन् । अनुहार कालै कपडाले छोपिएको हुन्छ । झण्डा पनि कालै हुन्छ । कालो रंग आइएसको निशानी हो । लडाकूहरुले बिहानै उठेर अनिवार्यरुपमा इस्लाम धर्मअनुसार गरिने कर्मबाट आफ्नो दैनिकी सुरु गर्छन् ।

टर्की र सिरियाको सीमा क्षेत्र
टर्की र सिरियाको सीमा क्षेत्र

टर्कीलगायत सिरिया एवं इराकको सीमा क्षेत्रदेखि प्यालेष्टाइन अनि अफ्रिकाको नाइजेरियासम्म उनीहरुको गतिविधि छ । नाइजेरियाको बोको हरामलाई यसैको रुप मानिन्छ । युरोपमा आइएसको उपस्थिति पेरिसमा भएको हमलाले नै प्रष्ट पारेको छ ।

कसले जन्मायो ? कहाँ पुगेर टुंगिएला ?

यतिबेला अमेरिकाको मुख्य दुस्मन बनेको छ आइएस । इराक, अफगानिस्तान र सिरियामा अमेरिकी नेतृत्वको पश्चिमा फौजले आइएसको सामना गरिरहेको छ । सिरियामा आइएस विरुद्धको कारवाहीमा रसिया पनि धुरा पसिसकेको छ ।

तर, वर्ष दिनदेखि मेहनत गर्दा पनि इराकमा अमेरिकाले आइएसको कब्जाबाट मोसुललगायतका सहरलाई आफ्नो नियन्त्रणमा लिन सकेको छैन । शुक्रबार अमेरिकी सेनाको सहयोगमा सिंजर शहर कुर्दिस लडाकूले आइएसको हातबाट फुत्काएको बताइएको छ । तर, यसरी खोसाखोस गर्ने क्रम इराकमा चलिरहेकै छ ।

आखिर किन र कसरी जन्मियो आइएस ? र, यसको समाधान के हुन सक्छ ? यसबारे समय क्रममा विश्लेषण हुँदै जाला । तर, इराकमा सद्दामको शासनमाथि अमेरिकी आक्रमणबाट सुरु भएको यो दुःख समाधानविहीन संकट जसरी फैलिइरहेको छ । मुस्लिम समुदायलाई देख्नासाथ आतंकवादी ठान्ने पश्चिमी दृष्टिकोण आइएस जन्माउनमा कति जिम्मेवार होला ?

पेरिस अाक्रमणमा घाइतेको उद्दार गरिँदै
पेरिस अाक्रमणमा घाइतेको उद्धार गरिँदै

र, अरब राष्ट्रमा देखिएको संकटलाई टार्न राजनीतिक नभई फौजी समाधानमात्रै खोज्ने प्रयत्न गर्दा विश्व समुदायले अझै कति दुःख पाउनुपर्ने हो, यसतर्फ पनि बहस जरुरी देखिएको छ ।

आखिर के दबाइ छ अरबमा शान्ति स्थापनाको ? यस सम्बन्धमा बहस हुनुपर्ने दुईवटा गम्भीर प्रश्न छन्:

पहिलो – अब अरब समस्याको सैन्य समाधान सम्भव छ कि छैन ? यदि सम्भव छ भने इराकमा सद्दामको सत्ता ढालेको १२ वर्षसम्म किन शान्ति कायम हुन सकेन र त्यहीँबाट आइएस जन्मियो ? अनि अहिले सिरियामा किन राष्ट्रसंघमार्फत् विपक्षीसँग वार्ताद्वारा संवैधानिक निकास खोज्ने प्रयत्न गरिँदैछ ?

दोस्रो प्रश्न– लोकतान्त्रिक भनिएका शक्ति राष्ट्रहरुले यसरी दशकौंसम्म कतिञ्जेल युद्ध गरिरहने ? र, पेरिसमा जस्तै निर्दोष मानिसले कहिलेसम्म मृत्युको शिकार भइरहने ? अनि लाखौं सिरियालीले जसरी कतिञ्जेल निर्दोष मानिसहरुले शरणार्थीको नारकीय जीवन भोगिरहने ?

अन्त्यमा, यो पनि स्मरणीय छ कि विश्वमा कम्युनिष्टहरुको पतनसँगै पश्चिमा पुँजीवाद-साम्राज्यवादले वर्गसंघर्षलाई जातीय संघर्षमा रुपान्तरण गर्ने प्रयास गरेकै हो । कुर्दहरुलाई त्यही स्वार्थमा हतियार बाँडियो ।

सीमान्तीकृत जातिलाई स्यामुअल पी हन्टिङटनको पुस्तक बाइबलजसरी पढाइयो । अन्ततः अरबी सांस्कृतिक पहिचान भर्सेज पश्चिमी लोकतन्त्रवीचको युद्ध देखापर्‍यो । त्यसर्थ यो पनि प्रश्न उठ्न सक्छ कि आइएसको मानसपुत्र कतै पश्चिमी पुँजीवाद नै त होइन ? जसले अरबको तेलका लागि त्यहाँ हस्तक्षेपकारी नीति अवलम्बन गर्‍यो ।

IS Effect

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?