३० कात्तिक, काठमाडौं । दुई सातापछि फ्रान्सको राजधानी पेरिसमा कसरी हरित गृह ग्यास उत्सर्जन कम गरेर विश्व तापक्रम नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्को बहस हँुदैछ । यो बहसमा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओबामासहित ६० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुख उपस्थित हुनेछन् ।त्यसमा नेपालले पनि भाग लिँदैछ ।
विडम्बना, वन जोगाएर वातावरणमैत्री मुलुकका रूपमा विश्वमा परिचित नेपालले नागरिकलाई हरितगृह ग्यास बढी उत्सर्जन गर्ने दाउरा आइतबार बाँड्न थालेको छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि विकल्पका रूपमा सरकारले राजधानीमा दाउरा बाँड्न सुरु गरेको हो ।
विज्ञहरूका अनुसार दाउरा बाल्दा हरितगृह ग्यासअन्तर्गतको मुख्य तत्व कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड निस्किन्छ । यसले वायु प्रदुषणमा मुख्य भूमिका निर्वाह गर्दछ । त्यसैले हरितगृह ग्यास उत्सर्जन कम गरी विश्व तापक्रम नियन्त्रण गर्ने संयुक्त राष्ट्रसंघको महासन्धि अनुमोदन गरेको नेपालको यो कदम बाध्यात्मक भए पनि वातावरणमैत्री भने नभएको नागरिकमा खबर छ ।
हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गरेर विश्व तापमानको वृद्घिदरलाई दुई प्रतिशतमा कायम राख्न यो सम्मेलनले नयाँ विश्वव्यापी सम्झौता गर्ने लगभग टुंगो लागिसकेको छ । राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२१) वायु प्रदूषण घटाई तापक्रम नियन्त्रण गर्ने उद्देश्यको सबैभन्दा ठूलो मञ्च हो । महासन्धि अनुमोदन गरेको राष्ट्र भएकाले पनि नेपालको उपस्थिति अनिवार्य छ । यसका लागि प्रधानमन्त्रीलाई निमन्त्रणासमेत आइसकेको छ ।
‘एलपिजी ग्यास र दाउरा बाल्दा निस्कने समग्र प्रदूषणको हिसाब गर्दा दाउरा नै बढी प्रदूषक मानिन्छ,’ विश्व वन्यजन्तु कोषका उपनिर्देशन युगान मानन्धरले भने ।
उनका अनुसार ‘गोल्ड स्टान्डर्ड’ विधि प्रयोग गर्दा एक किलो दाउरा बाल्दा एक वर्षमा दुई किलो कार्बन डाइअक्साइड निस्कन्छ । सरकारले अहिले जम्मा १८ सय टन दाउरा बाँड्ने योजना बनाएको छ । युगानका अनुसार यो दाउरा एक वर्षमा बाल्दा २ हजार ९ सय ५५ टन कार्बन डाइअक्साइड निस्कन्छ । उनले प्रयोग गरेको प्रविधिमा एक वर्षमा भएको खपतको हिसाब गरिन्छ ।
प्रतिक्रिया 4