+
+

सुवास नेम्वाङले लिम्बु नेतालाई भने- ९ जिल्ला माग्नेलाई १४ जिल्ला दिएँ, नाम आफैं लेख्नोस्’

१२ मंसीर, चुलाचुली (इलाम) । इलामको निर्वाचन क्षेत्र नं. २ मा पर्ने चुलाचुली-१ कमलभन्ने ठाउँमा विहीबार संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन र संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङबीच जम्काभेट भयो । र, रोचक जुहारी चल्यो ।

पहिलो संविधानसभामा सोही क्षेत्रबाट हारेका लिम्बुवानी नेता लिङ्देन र दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेर संविधानसभा अध्यक्ष बनेका नेम्बाङबीच चार वर्षपछि आफ्नै क्षेत्रमा यसरी भेट भएको रहेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते १८:१९

Subas-Nembang-Kumar-Linden

गोपाल दाहाल

१२ मंसीर, चुलाचुली (इलाम) । इलामको निर्वाचन क्षेत्र नं. २ मा पर्ने चुलाचुली-१ कमलभन्ने ठाउँमा विहीबार संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन र संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङबीच जम्काभेट भयो । र, रोचक जुहारी चल्यो ।

पहिलो संविधानसभामा सोही क्षेत्रबाट हारेका लिम्बुवानी नेता लिङ्देन र दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेर संविधानसभा अध्यक्ष बनेका नेम्बाङबीच चार वर्षपछि आफ्नै क्षेत्रमा यसरी भेट भएको रहेछ ।

भेट्ने वित्तिकै स्थानीयको घरमा बसेर गफ सुरु भयो । नेम्वाङले काठमाडौं आउँदा ‘मेरो झुपडीमा पाल्नुस्, भलाकुसारी गरौंला’ भन्नेवित्तिकै लिङ्देनले मुसुक्क हाँसेर ‘हस्’ भन्दै मुन्टो हल्लाए ।

फाल्गुनन्द नोमाङ्गेन सेवा संघले स्थापना गरेको ‘फाल्गुनन्द लाफयङ बहुभाषिक विद्यालय’को उद्घाटन कार्यक्रम केहीबेर ढीलो हुँदा गफगाफ गरेर बसेका नेताद्वय धार्मिक गुरु देवबहादुर तुम्बापो (लाफयङ) आउन लागेको खबर पाएपछि उनको स्वागतमा केही बेर सँगै बाटो छेउमा उभिए र फूल चढाए ।

Kumar-Linden

भक्तजन अघिअघि बाटोमा सेतो कपडा ओछ्याउँदै हिँड्थे, धार्मिक गुरु त्यही कपडामा टेक्दै मञ्चतिर लाग्थे । गुरुकै लयमा छेउमा नेम्वाङ र पछिपछि लिङ्देन मञ्चमा पुगे ।

सुरुमा लिङ्देनले जुत्ता फुकालेर गुरुलाई ढोग्दै आशिर्वाद लिए । नेम्वाङ भने कुर्सीमै बसिरहे । गुरुले नै नेम्वाङको छेउमा पुगेर फूल र आशिर्वाद दिए ।

अघिल्तिर १०८ बत्ती बालेर धार्मिक पूजापाठ गर्दै सुरु भएको कार्यक्रममा कुमार लिङ्दनेको बोल्ने पालो आयो । आफू पहिलो संविधानसभामा उठ्दा गुरु पनि आफ्नो सभामा सहभागी हुनुभएको भन्दै बोल्न सुरु गरेका लिङ्देनले दुई चार वर्षपछि भेट भएका सुवास नेम्वाङले आफुलाई घरमा निम्तो दिएको प्रशंग निकाले ।

त्यसपछि नेम्वाङलाई लक्षित गर्दै भने ‘दुई-दुई पल्ट संविधान लेख्दा पनि हजुरको कलमले लिम्बुवान शब्द लेख्न सकेन ।’

भाषण सुनेर मुसुमुसु हाँसिरहेका नेम्वाङतर्फ हेर्दै लिङ्देनले फेरि त्यही शब्द दोहोर्‍याउँदै भने ‘हजुरहरुको कलमले लेख्न नसकेको लिम्बुवान अब हामी रगतले लेख्छौं । लिम्बुवानमा आँधीबेहरी उठ्न लाग्यो हजुर !’

लिङ्देनपछि संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङको बोल्ने पालो आयो । उनले पनि लिङ्देनसँग भेट भएको मौकामा निम्ता दिएको र उतै आएपछि राजनीतिक गफ गर्ने भन्दै भाषण थाले ।

अघि लिङ्देनले भनेको सम्झिँदै नेम्वाङले जवाफ दिए ‘कुमारजीहरुको माग पनि मलाई थाहा छ, उहाँहरुले ९ जिल्ला माग्दै आउनुभएको थियो, हामीले १४ जिल्लाको १ नम्बर प्रदेश बनायौं । नाम लेख्ने जिम्मा तपाईहरुलाई नै छाडिदिएका छौं । अब मागेको भन्दा धेरै पाउनुभएको छ, त्यसका लागि धन्यवाद पाउँ ।’

नेम्वाङले त्यसोभन्दा कार्यक्रममा उपस्थित स्रोताले जोडले ताली बजाए । मञ्चमा लिङ्देनचाहिँ मुसुमुसु हाँसिरहेका थिए ।
नेम्वाङले अहिलेको संविधान संसारकै अद्वीतीय भएको दाबी गर्दै संविधान निर्माणका क्रममा सहमत र असमत हुने मधेसी, जनजाति, दलित लगायतका सभासदहरुको संख्या बताइदिए ।

भारत र अमेरिकाको भन्दा पनि नेपालको संविधान राम्रो भएको दाबी गर्दै नेम्वाङले भने-‘संविधानका लागि भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मात्र सहभागी थिए, हाम्रोमा ८५ प्रतिशतको सहभागिता भयो । अलिअलि विवाद त अमेरिकामा र भारतमा पनि छन् । पूराका पूरा चित्त बुझ्ने कतै पनि हुँदैन । मैले भनेका कुरा पनि सयमा सय छैनन् ।’

अहिलेको संविधान विश्वकै संविधानको तुलनामा धेरै मौलिक अधिकार भएको संविधानका रुपमा आएको र अझै पनि संशोधनबाट बाँकी कुरा सच्याउन सकिने भनिरहँदा पनि आन्दोलन र विरोध गर्नेहरु देखेर चकित परेको उनले बताए ।

‘नाकाबन्दी नगर्नोस्’

विहीबारै इटहरीमा मधेसी मोर्चाको कार्यक्रममा भाषण गरेका लिङ्देनसँग नेम्वाङले मधेसी आन्दोलनकारी र लिम्बुवान आन्दोलनकारीलाई सन्देश लगिदिन आग्रह गर्दै भने ‘आन्दोलन गर्दा शान्तिपूर्ण गर्नुस्, पारिका र वारिका कतैका जनताले पनि मन नपराएको नाकाबन्दी बन्द गर्नुस् ।’

कार्यक्रमस्थलमा पुगेका दर्शकहरुले दुई नेताको जुहारी रमाइलो मानेर सुने । दुवै नेताले भाषणका क्रममा धार्मिक गुरुलाई पटक -पटक सम्झे र उहाँलाई साक्षी राख्दै आफुले बोलेको बताए ।

लिम्बुवान नेता लिङ्देनले त १५ दिन देवबहादुर गुरुसँग क्लास लिएर किताब लेख्नेसमेत भाषणमै बताए ।

कुनै बेला सुवास नेम्वाङलाई लिम्बुवान विरोधी लिम्बुका कित्तामा राखेर उनको कार्यक्रम वहिष्कार गर्ने घोषणा गरेका लिङ्देनले चुलाचुलीमा भने उनलाई अग्रज दाइ भनेर सम्बोधन गरे ।

त्यसो त दोस्रो संविधानसभा बहिष्कार गरेका लिङदेनले संविधानसभाको महत्व बेग्लै रहेको भन्दै प्रशंसासमेत गर्न भ्याए ।

लिम्बू विश्वविद्यालयको प्रारुप

सुनसरीको धरानमा युएन कलेज सञ्चालन गर्दै आएका डम्बर तुम्वापो लगायतको सक्रियतामा स्थानीयबाटै सहयोग संकलन गरेर इलामको चुलाचुलीमा बहुभाषिक विद्यालय स्थापना गरिएको हो । विद्यालयको पूर्वसभामुख नेम्वाङले उद्घाटन गरे भने धार्मिक गुरुले पूजापाठ गरे ।

यो विद्यालयलाई भविश्यमा बहुभाषिक विश्वविद्यालय बनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष डम्बर तुम्वापोले बताए ।

गुरुको विवाद

सरकारले १६ औं राष्ट्रिय विभुति घोषणा गरेका समाज सुधारक फाल्गुन्दलाई धार्मिक गुरु मान्ने लिम्बु समुदायवीच फाल्गुनन्दपछि कसलाई गुरु मान्ने भन्ने विवाद छ ।

एक समूहले आत्मानन्द लिङ्देनलाई धार्मिक गुरु मान्ने गरेको छ भने अर्को समूहले फाल्गुनन्दपछि देवबहादुर तुम्वापोलाई तेस्रो पुस्ताका धार्मिक गुरु मान्ने गरेको छ ।

मासुमंस र जाँडरक्सी नचल्ने दुवै धार्मिक समूहलाई सत्यहाङ्मा भनिन्छ । मुन्धुम मान्ने र बलीमा विश्वास गर्ने लिम्बुहरुको अन्य सम्प्रदायलाई बलिहाङ्मा भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?