९ पुस, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले तीनजना पदाधिकारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । रातोपुलस्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कमलप्रसाद चुडाल, महासचिव कुमारप्रसाद भण्डारी र कोषाध्यक्ष युवराज चापागाईंलाई पार्टीबाट निष्कासित गरेको हो ।

उनीहरुले पार्टी अनुशासन र आचरणविपरित गतिविधि गरेकाले कारवाही गरिएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष वद्रिप्रसाद न्यौपानेले जानकारी दिए ।
‘पार्टी निर्णय र निर्देशन विपरित आन्दोलनमा सहभागी नभइ गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिँदै आएका केही केन्द्रीय पदाधिकारीहरू पार्टीको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ’, न्यौपानेले विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुरे भावरले यही पुस २५ गते सर्लाहीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय भेलामा जारी संघर्षको समिक्षा र आगामी रणनीति तय गर्नेबारे छलफल हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न र चुरे भावर क्षेत्र समेटेर ‘चुरे भावर प्रदेश’ कायम गराउनका लागि दबाव दिन बिगत एक महिनाभन्दा बढी समयदेखि सो पार्टीले आन्दोलन गर्दै आएको छ ।
चुरे भावरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरको रामजानकी मन्दिरमा मधेसी मोर्चाले गरेको अपमानको विरोध गर्दै दोषिलाई कारवाही गर्न सरकारसँग माग समेत गरेको छ ।
प्रतिक्रिया 4