+
+

राजविराजमा पर्शुराम बस्नेतको टोलीमाथि मधेसी मोर्चाको आक्रमण प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १२:३९

Parsuram

११ पुस, राजविराज । मधेस जागरण तथा संवाद अभियान लिएर मधेस आन्दोलनको केन्द्रभाग सप्तरीको राजविराज पुगेका युवा संघका महासचिव किरण पौडेल र सचिव पर्शुराम बस्नेतमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

प्रहरी र युवा संघका कार्यकर्ताहरुको ठूलो उपस्थितिका कारण मधेसी मोर्चाका कार्यकर्ताको आक्रमण प्रयास भने विफल भएको छ । शुक्रबार सिरहाको भेला सकेर राजविराज पुगेका युवा संघ नेताहरुको बैठक बसेको घरमा समेत मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए ।

मोर्चाका कार्यकर्ताले सप्तरीमा एमाले जिल्ला कार्यालयको बोर्ड तोडफोड गरे पनि झडप भने हुन पाएन । मोर्चा कार्यकर्ताले मधेस विरोधी भन्दै एमाले र युवा संघ नेताहरुको नामै लिएर नाराबाजी गरेका थिए । उनीहरुले किरण पौडेल मूर्दावाद, पर्शुराम बस्नेत मूर्दावाद जस्ता नारा लगाएका थिए ।

‘हामी युवा संघको विस्तारित बैठकका लागि गएका हुनाले कम संख्यामा थियौं, उनीहरुसँग भिड्ने उद्देश्य हाम्रो होइन’ सचिव बस्नेतले भने ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य निरञ्जन झाको घरमा संघको विस्तारित बैठक बसेको थियो । जिल्ला अध्यक्ष पशुपति कर्णको अध्यक्षतामा बसेको बैठकले माघ २ गते राजविराजमा वृहत मधेस जागरण सभा आयोजना गर्ने निर्णय गरेको थियो ।

जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सत्यनारायण मण्डललगायत एमालेका मधेसी नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए ।

युवा संघले मधेस जागरण तथा संवाद कार्यक्रम अन्तर्गत तराई मधेसका जिल्लाहरुमा अभियान चलाइरहेको छ । यसक्रममा चूरे तथा राजमार्ग क्षेत्रमा केन्द्रित रहेका युवा संघका नेताहरु राजविराज पुगेपछि मोर्चाले अवरोध गर्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?