२६ पुस, यूएई । अढाइ महिनाअघि संयुक्त अरब इमिरेट्स (यूएई) आएका ललितपुरका सरोज घिमिरे अझै बेरोजगार छन् । आफूले रोजेअनुसारको काम पाइने आशामा यूएई आएका उनको दैनिकी विभिन्न कम्पनीमा बायोडाटा छाड्दै बित्ने गरेको छ ।
चार वर्षसम्म यतैको एउटा कम्पनीमा काम गरेको अनुभव भएका घिमिरे उक्त कम्पनी छाडी भिजिट भिसामा अढाइ महिनाअघि पुनः यहाँ आएका हुन् ।
धुलाबारी झापाका रोशन शर्मा पनि विगत २ महिनादेखि नयाँ कामको खोजीमा छन् । छँदाखाँदाको मासिक ७० देखि ८० हजारको काम छाडेर कम्पनीबाट रिलिज लिएका शर्मालाई सोही तलब बराबरको अर्को जागिर पाउन धौधौ परेको छ । ‘क्षमता भएरमात्र हुन्न रहेछ, बिचौलिया नेपालीलाई कमिसन नदिई राम्रो काम नपाइने आफ्नो अनुभव शर्माले सुनाए, ‘इन्टरभ्यूमा भाग लिन पनि नेपालीलाई नै कमिसन खुवाउनुपर्छ ।’
भारतकै राम्रै विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका मुकेश आफ्नो क्षमताअनुरुपको काम नपाएका कारण आगामी सोमबार भारत फर्कंदैछन् । तीन महिने भिजिट भिसामा यहाँ आएका मुकेशले करिब ९० कम्पनीमा अनलाइनबाट कामका लागि अप्लाई गरे पनि चारवटा कम्पनीले मात्रै इन्टरभ्यूमा बोलाएको बताए ।
नेपालको अध्यागमनले अवैध तरिकाले यूरोप र अमेरिका पठाउने दलालहरुले यूएईलाई ट्रान्जिट प्वाइन्ट बनाएको भन्दै भिजिट भिसामा यूएई जानेहरुलाई धमाधम रोक्न थालेको छ
गल्फको अनुभव नभएको भन्दै आफूले काम नपाएको बताउने मुकेशले थोरै तलबमा काम गर्न नचाहेका कारण पनि भारत फर्कन लागेको बताए ।
माथिका तीनवटा प्रतिनिधि उदाहरण हुन् । भिजिट भिसामा यहाँ आई काम खोजेर राम्रै कमाएका धेरै नेपालीहरु यहाँ छन् । तर, पछिल्लो समयमा उपयुक्त कामको अभावमा धेरै नेपालीहरु तनावमा छन् ।
ललितपुरका घिमिरे उपयुक्त काम नपाएपछि दुई पटकसम्म इरान जाँदै फेरि यूएई आउँदै गरेका छन् । गत मंगलबारमात्र यहाँको एक महिने भिजिट भिसा निकालेका घिमिरे योपटक जस्तै काम भेटे पनि नछाड्ने सोचाइ बनाइरहेका छन् ।
एक महिने भिसा अवधि सकिएपछि यहाँबाट अनिवार्य बाहिरिनुपर्ने भएका कारण इरानको किस सहर जानु धेरैको बाध्यता थियो । इरान र यूएई ओहोर-दोहोर, भिसा खर्च, बसोबास, खाना, ट्याक्सी खर्च, टेलिफोन गरी चार लाखभन्दा बढी खर्च भएको घिमिरेले सुनाए । उनले भने, ‘बरु, नेपालबाटै मेनपाबरमार्फत् आउनुपर्ने रहेछ ।’
झापाका शर्माको पीडा घिमिरेको भन्दा कम छैन । युएईमै मार्केटिङको राम्रो अनुभव भएका शर्माले सोही क्षेत्रमा काम पाउन निकै ‘पापड पेल्नुपरेको’ अनुभव सुनाए । नेपालीहरुले नै काम खोजिदिएवापत एक महिनाको तलब बराबरको रकम कमिसन लिने गरेको उनले बताए । उनले कम्पनीमा अन्तर्वार्तामा भाग लिनका लागि पनि नेपाली बिचौलियालाई कमिसन दिएको आफ्नो अनुभव सुनाए ।
शर्मा पनि पहिलोपटकको एक महिने भिसामा उपयुक्त काम नपाएपछि दोस्रोपटक पुनः एक महिने भिसामा गत हप्ता मात्रै यहाँ आएका हुन् । योपटक कमिसन तिरेर काम फिक्स गरेको बताउने शर्माले कामको चक्करमा करिब ४ लाखभन्दा बढी नेपाली रुपैयाँ स्वाहा भएको बताए ।
अंग्रेजी भाषाको राम्रो ज्ञान भएको र सम्बन्धित क्षेत्रको अनुभव भएका धेरै नेपालीले भिजिट भिसामै आए पनि राम्रै काम पाएको एक सिवाकोटी एचआर ग्लोबल कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर मोहन सिवाकोटी बताउँछन् ।
एयरपोर्टमा कडाइ र सेटिङ
नेपालको अध्यागमनले अवैध तरिकाले यूरोप र अमेरिका पठाउने दलालहरुले यूएईलाई ट्रान्जिट प्वाइन्ट बनाएको भन्दै भिजिट भिसामा यूएई जानेहरुलाई धमाधम रोक्न थालेको छ ।
अब भिसाको स्टाटस परिवर्तन गर्न यसरी बाहिरिनु नपर्ने नियम लागु भएको छ । यसका लागि करिब ६ सय दिराम खर्च लाग्नेछ । यो व्यवस्थाले धेरै नेपालीहरुले राहत पाउने देखिन्छ
अझ अख्तियारको टोली एयरपोर्टमै बस्न थालेपछि वर्षौदेखि यूएईमा घरेलु कामदारका रुपमा आउने महिला कामदारहरु पनि विभिन्न बहानामा रोकिएका छन् ।
यसले अवैध काम गर्नेहरुले वैकल्पिक बाटो अपनाएका छन् भने सर्वसाधारण नेपालीहरुले सास्ती पाएका छन् ।
यूएई आउन चाहने नेपालीहरुलाई नेपालको अध्यागमनले कडाइ गरेपछि क्षमतावान नेपाली युवाहरुलाई समस्या परेको एनआरएनका एक प्रतिनिधिले बताए ।
स्वतन्त्रतापूर्वक घुम्न पाउने मानिसको मौलिक हकलाई नेपाल सरकारले कुण्ठित गरेको भन्दै एनआरएन यूएईले सहजीकरण गर्न केही साताअघि नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएको थियो ।
यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले एनआरएनका सुझावहरु सम्बन्धित निकायमा पुर्याए पनि भिजिट भिसामा यूएई आउने नेपालीहरुलाई नेपालकै एयरपोर्टमा रोक्ने क्रम उस्तै रहेको भुक्तभोगीहरु बताउँछन् ।
तर, एक कन्सल्टेन्सीका निर्देशकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीेले त सेटिङमार्फत् मान्छेहरु ल्याइरहेका छौं ।’
दलालले दिएको दुःख
भिजिट भिसामा दुबई जाँदा एजेन्टहरुले धेरै कमाउन सकिन्छ भनी ठूला सपनाहरु देखाएका कारण धेरै नेपालीहरुले यहाँ दुःख पाएको सिवाकोटी स्वीकार्छन् ।
आफूले पनि भिजिट भिसामा यूएई आएका धेरै नेपालीहरुलाई काममा लगाइदिएको अनुभव सुनाउँदै सिवाकोटी भन्छन्, ‘भिजिट भिसामा आउने धेरै नेपालीहरुले काम पाए पनि नेपालबाटै इम्प्लोइमेन्टमै आउँदा कम खर्चिलो हुन्छ ।’
भिजिट भिसाधारीले बाहिरिनु नपर्ने
भिजिट भिसामा यूएई आई आफै काम खोजेर यतै जमेका धेरै नेपालीहरु यहाँ भेटिन्छन् । आफ्नो योग्यता र क्षमता अनुसारको काम पाएर धेरै नेपालीहरुले आफ्नो आर्थिक तथा सामाजिक हैसियत बढाएका छन् ।
सामान्यता एक वा तीन महिनाको भिसामा यूएई आएर कुनै कम्पनीमा काम खोजिसकेपछि भिसा स्टाटस परिवर्तन गरी इम्प्लोइमेन्ट भिसा लगाउन यूएई छाड्ने परम्परा थियो । यसका लागि अधिकांश नेपाली लगायत अन्य देशका नागरिकहरु इरानको किस सहर जाने गर्थे । किस जान, इम्प्लोइमेन्ट भिसाको प्रतीक्षा गर्न हप्तौं इरानमै बस्न र पुन यूएई भित्रिन धेरै खचिलो थियो ।
तर, अब भिसाको स्टाटस परिवर्तन गर्न यसरी बाहिरिनु नपर्ने नियम लागु भएको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । यसका लागि करिब ६ सय दिराम खर्च लाग्नेछ । यो व्यवस्थाले धेरै नेपालीहरुले राहत पाउने देखिन्छ ।
प्रतिबन्धमा केही राहत
यूएईको कुनै कम्पनीमा काम गरेर राजीनामा गरी आफ्नो देश गएको कोही कामदार पुनः यूएई आउनका लागि गरिएको ६ महिने प्रतिबन्धमा केही परिवर्तन भएको छ ।
अब कुनै पनि कामदारले ६ महिनासम्म काम गरी राजीनामा दिएर आफ्नो देश गएमा कुनै प्रकारको प्रतिबन्ध लाग्ने छैन । ६ महिनाभन्दा कम अवधिमा राजीनामा गर्नेलाई भने पुनः यूएई प्रवेशमा ६ महिना प्रतिबन्ध लाग्नेछ ।
प्रतिक्रिया 4