२ माघ, युएई । वैदेशिक रोजगारीमा संलग्न नेपालीलाई हाइड्रोमा लगानीका लागि आग्रह गरिएको समाचार यसअघि अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचारमा धेरै पाठकका प्रतिक्रिया आए, जसमध्ये धेरै नेपाली दाजुभाइले लगानीको सुरक्षा कसरी होला भन्ने प्रश्न उठाए ।
सरकारले हाइड्रोपावरमा लगानीको प्रस्ताव ल्याउनु राम्रो हो भन्ने धेरै प्रतिक्रिया आए । तथापि विदेशमा दुःख गरेर कमाएको रकम दुरुपयोग हुने पो हो कि भन्ने चिन्ता र आशंका पनि कतिपयमा देखियो ।
रेमिट हाइड्रोमा आह्वान गरिएको लगानीबारे विदेशमा रहेका नेपालीहरुले के-कस्तो सोचिरहेका छन् भन्नेबारे हामीले युएई र कतारमा रहेका नेपालीहरुलाई सोधेका छौं । उनीहरुमध्ये अधिकांशले अहिलेसम्म विदेशमा कमाएको पैसा घरखर्च एवं जग्गा किनबेचमै सकिएको भन्दै उपयुक्त लगानीको अवसर खोजिरहेको प्रतिक्रिया दिएका छन् ।
विदेशमा दुःख गरेर आर्जित रकम राष्ट्र निर्माणमा खर्च गर्न तयार रहेको प्रतिक्रिया प्रवासमा रहेका नेपालीहरुले दिएका छन् । हाइड्रोमा लगानीबारे आएका केही प्रतिक्रिया यस्ता छन्:
दोर्दीखोलामा लगानी गरें, अरुमा पनि गर्न सक्छु
क्रान्ति सिंह, अर्घाखाँची, (हाल कतार)
व्यक्तिगत, सामाजिक वा राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न त्यसको सम्भावना पहिचान महत्वपूर्ण हुन्छ । सम्भावनालाई क्षणिक परिपूर्तिका लागि परिचालन गरिएको खण्डमा त्यस्ता परियोजना कहिल्यै सफल हुँदैनन् र जनमानसमा सकारात्मक बुझामा ह्रास हुन जान्छ ।
नेपालमा उर्जा शक्ति निकाल्नु भनेको मुनाफा कमाउनुभन्दा पनि राष्ट्रिय आवश्यकता हो । आयआर्जनसँगै यसप्रकारको राष्ट्रिय आवश्यकताका योेजनाहरुमा लगानी गर्नु नै राष्ट्र विकासको सुरुवात हो । एक सामान्य नागरिकले आफ्नो राष्ट्रको विकासमा समावेश हुन पाउनु एउटा अवसर पनि हो ।
लामो समयदेखि नेपालको अवस्था स्थिर नभएका कारण प्रस्तावित योजनाहरुले गति लिएका छैनन् । तैपनि विगत केही वर्षयता कृषि, पर्यटन र उर्जा शक्तिमा प्रवासबाट पनि लगानी भएको देखिन्छ । म लगायत धेरै गैरआवासीय नेपालीहरुले उर्जाशक्तिमा लगानी गर्न पाएका अवसरहरु मैले प्रत्यक्ष देखेको छु ।
उदाहरणका लागि निर्माणाधीन लमजुङ्ग जिल्लाको दोर्दीखोला जलविद्युत परियोजना गैआवासीय नेपालीहरुको लगानीमा सञ्चालन हुन लागिरहेको छ । यसमा कुल लगानीको ८ प्रतिशत रोजगारीको शिलशिलामा कतारमा रहेका मलागायत अन्य गैरआवासीय नेपालीहरुको लगानी छ ।
राष्ट्रले प्रोत्साहन गरेको र सानो लगानीमा पनि सञ्चालन गर्न सकिने भएको हुँदा कृषि क्षेत्रलाई धेरै लगानीकर्ताहरुले प्राथमिकतामा राखेको पनि प्रशस्त उदारहण दिन सकिन्छ ।
रेमिट हाइड्रो लिमिटेडको प्रस्तावित उर्जा लगानी एकदमै आकर्षक परियोजना छ । यदि यसको उद्देश्य अनुसारको उर्जाशक्ति उत्पादन भएमा लगभग देशलाई लोडसेडिङ्गमुक्त बनाउनमा ठूलो सहयोग पुग्ने देखिन्छ । यसलाई उद्देश्य र राष्ट्रियरुपमा उपलव्धिमूलक बनाउनका लागि अनि यसको आकर्षण र विश्वसनीयतालाई अझ फराकिलो बनाउनका लागि यसको बिस्तृत खाका आउनु जरुरी छ ।
यस कम्पनी सञ्चालनका लागि विगत ६ महिनादेखि इजाजतको पर्खाइमा रहेको भए पनि परियोजना सुचारु कार्यान्वयन र सम्पन्ताको सम्पूर्ण खाका अनि समय सीमा पनि सार्वजनिक भएमा उल्लेख्य रुपमा लगानीकर्ताहरु लगानीका लागि आकषिर्त हुने देखिन्छ ।
कतारमा कार्यरत मलगायत अन्य नेपालीहरुले पनि प्रष्ट अवधारणा पाएमा लगानी गर्न सक्ने कुरामा कुनै दुई मत छैन ।
लगानी गर्ने राम्रो अवसरको खोजीमा छु
प्रकाश अर्याल/भरतपुर, चितवन, हाल कतार
रेमिट हाइड्रो नाम आफैमा सान्दर्भिक र समय सापेक्षिक छ । एकातिर राजनैतिक अस्थितरताका कारण जलस्रोतको धनी राष्ट्र नेपालमा लोडसेडिङ्गको समस्या समाधान गर्न नसकेको अवस्था छ । अर्कातिर हामी प्रवासमा दुःखसुख गरेर आर्जन गरेको रेमिट्यान्सको केही हिस्सा आफ्नै देशमा लगानी गर्ने सुअवसर र उपयुक्त लगानी गर्न सकिने ठाउँको खोजीमा छौं ।
कुनै पनि कुराको शुरुवात गर्दा चुनौती र व्यवधानहरु त आइहाल्छन् । तर, देशको विकासका लागि ती चुनौती सामना गर्दै अगाडि बढ्नुपर्छ । देश विकासका लागि प्रवासबाट लगानी खोजिनु एउटा बिकल्पको रुपमा लिनु उत्तम हो ।
प्रवासमा थोरै रकम लगानी गर्न चाहाने प्रयाप्त लगानीकर्ताहरु छन् । तर, अवसर खोजिरहेका उनीहरुलाई बाटो देखाउने कोही छैन । यी कुराहरुलाई आत्मसाथ गर्दै हाईड्रोपावरमा लगानी गर्नु भनेको सामाजिक काममा हातेमालो गर्नु बराबर हुनेछ ।
विगत ५ वर्षदेखि मेरो प्रवासी जीवनमा अहिलेसम्म आफ्नै घरव्यवहार र दैनिकी जीवनयापन मात्र चलेको छ । लगानी गर्ने राम्रो अवसर र स्थानको खोजीमा छु । यदि यो कम्पनीले पारदर्शिताका साथ काम थालनी गर्यो भने लगानी नगर्ने भन्ने नै हुँदैन ।
कतारमा मजस्तै ४ लाखभन्दा बढी नेपालीहरुले यहाँ कमाएको रकम फजुल खर्चमा नै सकिरहेका छन् । किनभने सानो कमाइबाट लगानी गर्न गाह्रो हुन्छ ।
अब रेमिट हाइड्रोले यदि सरकारबाट इजाजत लिएर उचित कार्यसम्पादन गर्दै लगानीको स्पष्ट अवधारणा हामी माझ पस्कनुपर्छ । समाचार पढ्दाको खुसीसँगै यसको अवधारणा र समाचारमा भनेजस्तै लगानीको खाका र आजिवन प्रतिफललाई तल्लो स्तरसम्म बुझाउने कोशिस कम्पनीले गर्ने आशा छ । यसमा मजस्तै लाखौं प्रवासीहरुको लगानी भित्रनेमा कुनै दुई मत छैन ।
हामीले दोर्दीखोलामा लगानी गरेका छौं
कुमार कार्की, उर्लाबारी मोरङ्ग, (हाल कतार)
अनलाइखबरमा प्रकाशित रेमिट हाइड्रोसम्वन्धी समाचारले आकषिर्त नगर्ने कमै थिए होलान् । मेरोसमेत यसले ध्यान खिचेको थियो । विदेशमा बसेका हजारौं नेपालीहरुले कमाएको सीप र पुँजी अनुत्पादक क्षेत्रमा लगानी भइरहेको अहिलेको अवस्थामा यो परियोजना लाभदायक हुन सक्छ ।
विदेशमा बसेर पुँजी र सीप कमाएका युवाहरुलाई भविश्यमा के गरौं भन्ने चिन्ता एकातिर छँदाछँदै यस्ता योजनाहरुले पक्कै पनि सहयोग पुर्याउनेछ । यसले देशलाई उर्जामा आत्मनिर्भर बनाउनका लागि त सहयोग गर्छ नै हाल अनुत्पादक क्षेत्रमा हुँदै आएको लगानीलाई समेत निरुत्साहित गरी भविश्यलाई सुरक्षित बनाउनेछ । यसबारे विदेशमा कार्यरत सम्पूर्ण नेपालीहरुले सोच्न आवश्यक छ ।
तथापि यो योजना सफल बनाउन त्यति सजिलो भने छैन । विदेशमा रहेका नेपालीहरुलाई आकर्षण गर्न र सूचनाको पहुँचमा पुर्याउन पनि निकै कसरत गर्नुपर्छ । हाइड्रोमा लगानी गर्नका लागि अत्यन्तै कम आय भएका देखि उच्च आय भएकाहरुलाई आकषिर्त गर्न र लगानी भित्र्याउनका लागि गहकिलो पहलकदमीको आवश्यकता छ ।
लगानीको सुरक्षा सबैभन्दा महत्वपूर्ण पक्ष हो । विदेशमा रहेका नेपालीहरुसँग समन्वय गर्दै आएको गैरआवासीय नेपाली संघ, विदेशमा नै रहेका विभिन्न रेमिट्यान्स कम्पनीका शाखाहरुसँग साझेदारी गर्न सरकारी तबरवाट नै कोशिस गरे नेपालको जलविद्युत परियोजनामा लगानी गर्ने नेपालीको संख्या पक्कै वृद्धि गर्न सकिनेछ । त्यसका अलावा विदेश गएर फर्केका वा विदेशमा नै रहेर नेपालमा विभिन्न इन्भेष्टमेण्ट कम्पनी सञ्चालन गरिरहेकाहरुसँगको सहकार्य अझ गहकिलो हुनेछ र यसले व्यापारिक सुढृढीकरणलाई प्रोत्साहित गर्नेछ ।
नेपालको जलविद्युतमा लगानी गर्नु सुरक्षाका हिसाबले सकारात्मक छ । पुँजीको सही सदुपयोग हुने क्षेत्र नै जलविद्युत हो । मैले व्यक्तिगत रुपमा सल्लाह दिनुपर्दा विदेशका बसेका नेपालीहरुले उपयुक्त जलविद्युत परियोजना चयन गरी लगानी गर्दा यसको प्रतिफल ५ वा ७ वर्ष पछि आउन शुरु गर्छ ।
मैले व्यक्तिगतरुपमा नै जलविद्युत लगानी तथा विकास कम्पनीले गत कात्तिकमा जारी गरेको शेयरमा समेत केही लगानी गर्ने मौका पाएको छु । मलगायत केही साथीहरुले संयुक्तरुपमा स्थापना गरेको टे्रड भिजन इन्भेष्टभेण्ट प्रालिले समेत एनआरएन इभेष्टमेण्ट प्रालिमार्फत लमजुङको दोर्दी खोला हाईड्रोमा लगानी गरेका छौं ।
उपयुक्त व्यापारिक अवस्था सिर्जना भएमा रेमिट हाइड्रोसँग समेत साझेदारीमा लगानी गर्न र पुँजी संकलन गर्न टे्रड भिजन इन्भेष्टभेण्ट प्रालि तत्पर रहनेछ ।
कतारका नागरिकसमेत नेपालमा लगानी गर्न उत्सुक छन्
प्रो. मोहम्मद रमजान अलि मियाँ /ललितपुर (हाल कतार)
यस विषयमा मैले धेरै पहिला पनि अनलाइनहरु मार्फत समाचार पढ्ने मौका पाएको थिएँ । तर, समाचारले खासै महत्व नपाएको मेरो बुझाइ छ । मेरो सम्पर्कमा रहेका केही साथीहरुलाई मैले यसबारे बुझ्न खोज्दा उहाँहरुले आफुलाई यसबारे कुनै जानकारी नभएको बताउनुभयो ।
मैले नेपालमा घरजग्गा किनबेचमै आफ्नो लगानी खर्चिरहेको छु, जुन विकल्पमा रहेको छ । जब समाचारमा हाइड्रोपावरसम्बन्धी खबर सुनिन्छ, तब मलाई अति आकषिर्त गरेको हुन्छ । बोलपत्र आह्वानको प्रतिक्षामा रहेको हुन्छु । ममात्र नभई म काम गर्ने देश कतारको सरकार र कतारी नागरिकहरु नेपालको हाईड्रो पावरमा लगानी गर्न उत्सुक रहेको पनि मैले बुझेको छु ।
यहाँका निकायहरुसँगको मेरो सम्बन्धले कतारको सरकारी निकाय र नागरिकले हाम्रो देशमा लगानी गर्न सक्छन् भन्ने मैले बुझेको हो । सरकार अथवा कुनै विश्वासिलो निकायले हाम्रो लगानीको सुरक्षाको प्रत्याभूति दिएमा मन फुकाएर यस प्रोजेक्टमा लगानी गर्न म लगायत धेरैजना तयार छौं ।
मैले नेपालमा अन्य मेघा प्रोजेक्टहरुमा लगानी लगाउने अवसर नपाएकै कारण घरजग्गा खरिद-बिक्रीमा आफ्नो लगानी बाध्यात्मक अवस्थामा लगाएको हुँ ।
रेमिट हाइड्रो अहिलेको आवश्यकता हो भन्ने मेरो बुझाइ रहेको छ । यसबाट कमसेकम हामी प्रवासीहरुले फजुल खर्च गरिरहेको आर्थिक शक्तिको उच्च सदुपयोग हुने थियो । यसबाट देश र नेपाली जनता एकै समयमा लाभान्वित हुने थिए । फेरि हामीले गरेर देखाएपछि विदेशीहरु पनि नेपालमा लगानी गर्न आर्कषित नहुने कुरै छैन । तसर्थ यसको व्यापक कार्ययोजना र प्रचार-प्रसार हुनुपर्यो । र, न्यून आयस्रोत भएदेखि उच्च आम्दानी गर्ने प्रवासी नेपालीहरु माझ यो अवसरले स्थान पाओस् ।
सरकारबाट इजाजत लिएपछि प्रवासीमाझ आओस्
नन्द ढुङ्गाना, काभ्रे (हाल कतार)
सर्वप्रथम रेमिट हाइड्रोको खबरले मलाई खुसी तुल्यायो । किनकि म त्यस्ता धेरै अवसरमा आवद्ध नरहे पनि केही मेरा साथीहरुको लगानीबाट धेरै प्रभावित बनेको र म पनि लगानी गर्न आतुर रहेको अवस्था हो ।
म प्रवासमा आएको ९ बर्ष बित्दासम्म आफ्नो आम्दानीलाई जग्गामा बाहेक अन्य आम्दानी हुने कुनै कार्यमा लगानी गरेको छैन । तर, पनि मैले हाइड्रोपावरसम्बन्धी धेरै नजिकबाट बुझेको छु । यो ठूलो कार्ययोजना हो । हामी यसमा सानो लगानीबाट सहभागी हुन सक्छौं र हुन्छांै ।
हामी जहिले पनि नेताहरुलाई दोष लगाउँछौं र देशमै कयाैं अवसर हुँदाहुँदै पनि सजिलोका लागि प्रवासमा पलायन हुन्छौं । यसका बाबजुद सजिलो त के, जस्तै कठीन अवस्था सिर्जना हुँदा पनि भोग्न बाध्य हुन्छौं । यो प्रवासको पीडा हो ।
अर्को कुरा, बिदेशिएपश्चात् हामीले कमाएको रकमले घरजग्गा जोड्नेमा विशेष ध्यान दिन्छाैं । तर, उक्त रकमलाई गुना गरेर अतिरिक्त आम्दानी हुनेतर्फ हामी उन्मूख हुन्नौं । जसले गर्दा हाम्रो लगानी उत्पादनमुखी कार्यमा नभएर निश्चित योजनामा मात्र सीमित हुन्छ । जुन हामीले उपभोग गर्छौं, तर त्यसबाट उत्पादन भने न्यून हुन्छ ।
अबका दिनमा हामीले न्यून उत्पादन हुने योजना जस्तैः घरजग्गा जमिन तथा बैंकमा बचत गरेर होइन, उत्पादन हुने कार्यमा लगानी गर्न सकियो भने एक त देशमा रहेको लोडसेडिङको समस्या समाधान हुने र जनताबाट धन्यवादका पात्र बन्न सकिने छ । हामीले देशमा नै स्वरोजगार पाउनेछौं, हाम्रो आम्दानी बढ्नेछ । र, लगानी अनुसारको उत्पादन सोचेभन्दा चाँडै पाउनेछौं ।
यस्ता अवसर हुँदै गर्दा हामी किन लगानी गर्न आतुर हुन्नौं ? हामी अवसरको खोजी गर्छौं तर हाम्रा नजिक आएका अवसरलाई हामी गुमाउँछौं भने पक्कै पनि अझै धेरै समय हामीले प्रवासमा गुमाउनुपर्ने हुन्छ । म उक्त कार्यवाट प्रभावित मात्र नभएर लगानी गर्न आतुर रहेर अवसर पाएको खण्डमा अन्य साथीहरुलाई पनि लगानी गर्न हौसला बढाउने कार्य गर्ने नै छु । यस कार्यमा प्रवासमा रहेका नेपालीहरु बञ्चित रहनुहुँदैन, पाएको अवसरलाई सदुपयोग गर्नेतिर ध्यान दिनुपर्छ ।
कम्पनीले रेमिट हाइड्रो नामक सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको ५३.७ मेगावाटको थिङवा र ताप्लेजुङका ७१.८ मेगावाटको घुम्सा खोलामा १ सय २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जुन आयोजनामा विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने एउटा राम्रो अवसर हो । हामीले रेमिटबाट मासिकरुपमा थोरै रकमबाट लगानी गर्न सक्ने अवसरमा मेरो पनि चाहना छ । यसमा आजीवन आकर्षक प्रतिफल भनिएको छ, त्यसको स्पष्ट रुपमा हामीमाझ कम्पनीले अवधारणा पेश गर्न सक्नुपर्छ ।
सरकारबाट इजाजत लिइसकेपछि यसलाई व्यापकरुपमा प्रवासीमाझ ल्याउन सके प्रवासमा रहेका धेरै कामदार नेपालीहरुको लगानी भित्रनेछ । त्यसका लागि कार्ययोजना र आजीवन प्रतिफल कस्तो हुने हो भन्ने कुरालाई व्यवहारिकरुपमा प्रष्ट पार्न जरुरी देखिन्छ ।
लगानीको सुनिश्चितता नभई कसैले लगानी गर्दैन
विकास उप्रेती अध्यक्ष, झापाली समाज यूएई (हाल सारजाह)
रेमिट हाइड्रोको विषयमा अनलाइनखबरमा समाचार पढ्न पाएँ । देश विकास गर्न चाहने युवाहरुका लागि हाइड्रो रेमिट एक अवसरको रुपमा मैले बुझेको छु । स्वभावैले परदेशमा पुगेपछि देशको विकास होस् भन्ने चाहना हुन्छ ।
परदेशमा दुःख गरेको पैसालाई हाइड्रोपावरमा लगाउन पाउनु हामी सबैको उत्तम अवसर हो । तर, न्यून आय भएका प्रवासी नेपालीहरुलाई कसरी सेयर बितरण कार्यमा सहभागी गराइन्छ ? त्यो लगानीको सुनिश्चितताको ग्यारेन्टी सरकारले कसरी गर्छ ?
निर्धारित प्रोजेक्टहरु समयसीमामा सुरु हुने आधारहरु केके हुन् ? हाम्रो सेयर कुन प्रोजेक्टमा खर्चिने हो ? हरेक प्रवासी नेपालीले कति कित्ता सेयर खरिद गर्ने हो ? उक्त रकम कुन माध्यमले सम्बन्धित निकायमा पुर्याउने हो ?
हामीले दाबी गरेको सेयर अस्वीकृत भएमा वा थोरै स्वीकृत भएमा उक्त रकम कसरी हामी वा हाम्रो परिवारसमक्ष फिर्ता हुनेछ ? परियोजनाको ठेक्का कसले लिन्छ ? उक्त परियोजनाबाट कहिलेसम्ममा विद्युत् उत्पादन सुरु हुनेछ ? आदि विषयमा अन्योल छ ।
यी सवालहरुको जवाफ नपाई कसैले लगानी गरिहाल्ला जस्तो लाग्दैन । तर, असल नियतले यो प्रोजेक्ट आएको हो भने र प्रोजेक्टको सुनिश्चितताको ग्यारेन्टी हुने हो भने धेरै प्रवासीहरुले रेमिट हाइड्रोका लागि सेयर किन्न तँछाडमँछाड गर्ने निश्चित छ ।
भ्रष्टाचारमा डुबेको कर्मचारीतन्त्रलाई कसरी विश्वास गर्ने ?
दिल निशानी मगर, लेखक, बाग्लुङ, हाल दुबई
हरेक उद्योगधन्दा, विकास निर्माण तथा सहज जीवनयापनका लागि बिजुली आधारभूत चिज हो । नेपालमा विद्युत उत्पादनको असीमित सम्भावना भए पनि लाखौं नेपालीहरु अँध्यारोमै जीउन बाध्य छन् । त्यसै खेर गएको पानीलाई सदुपयोग गरी बिद्युत् निकाल्न सकिने सामान्य कुरा व्यावहारमा लागू भएको छैन ।
यसैबीच रेमिट हाइड्रोको अवधारणा विकास भएको सुन्दैछु । हाइड्रोपावरको निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयर बाँड्ने कुरा आइरहेको छ । यो खुसीको कुरा हो । फजुल खर्चमा प्रयोग भइरहेको रेमिट्यान्स देशको निर्माणमा लगाउनु गर्वको कुरा पनि हो । तर, राजनीतिक अस्थिरता र भ्रष्टाचारले चुर्लम्म डुबेको हालको कर्मचारीतन्त्रलाई हामीले विश्वास गर्ने आधार के हो त ?
बन्द हड्तालले बनिरहेको हाइड्रोपावरहरुको निर्माण कार्य ठप्प भइरहेको परिप्रेक्ष्यमा सरकारले नै गर्न लागेको भनिएको रेमिट हाइड्रो सफल कसरी होला ?
सरकारको बुद्धि छ भने हाइड्रोपावरमा मात्र होइन, समग्र विकासका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आहृवान गर्न सक्छ । दोस्रो विश्वयुद्धपछि दक्षिण कोरियाले यही नीति अंगीकार गरेर देशको समग्र विकासमा बिदेशिएका आफ्ना नागरिकलाई सहभागी गराएको उदाहरणबाट नेपालले शिक्षा लिन सक्नुपर्छ ।
रेमिट हाइड्रोको विषयमा परदेशिएका नेपालीहरुलाई समेटने भन्दै एनजीओ र आईएनजीओको शैलीमा तारे होटलमा कार्यक्रम गरेर होइन, सरल भाषामा प्रचार-प्रसार गरेर बुझाउन सक्नुपर्छ । यो राम्रो अवधारणा भए पनि उचित प्रचार-प्रसारको अभावमा अन्योल छ । विदेशिएका नेपालीहरुले देशको विकासमा भौतिकरुपमा नभए पनि आर्थिक रुपमा सहयोग गर्ने एक अवसरका रुपमा पनि यसलाई लिन सकिन्छ ।
जलविद्युतमा लगानी राम्रो अवसर हो
मोहन बस्याल, पत्रकार (हाल युएई)
जलविद्युत राज्यका लागि लगानी गर्ने सूवर्ण अवसर हो । विगतमा नेपालमा विद्युत् उत्पादन तथा वितरणको काम नेपाल विद्युत् प्राधिकरणको मातहतमा मात्र हुँदै आएकोमा तत्कालीन उर्जामन्त्री गोकर्ण विष्टले ०६७ सालमा सरकारी स्वामित्वमै रहने गरी स्थापना गरेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले प्रवासमा बस्ने नेपालीले पठाउने रेमिटान्सलाई जलविद्युत् उत्पादनका काममा लगाउनका लागि अगाडि सारेको नयाँ आयोजनाका रुपमा रेमिट हाइड्रो आएको देखिन्छ ।
परिकल्पना अनुसार काम हुन सके यो योजना नेपाल र प्रवासमा बस्ने नेपाली सबैको हितकर हुनेछ । पूर्वी नेपालमा दुईवटा जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढाएको रेमिट हाईड्रोमा प्रवासी नेपालीको लगानी भित्रयाउन चाहेको छ ।
नेपालको विद्यमान कानुनअनुसार कुनै पनि जलविद्युत् आयोजना ३५ वर्ष सञ्चालन गरिसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । जलविद्युत आयोजना निर्माणका लागि पाँचदेखि दस वर्ष लाग्ने भएकाले जलविद्युत उत्पादनपछि २५ देखि ३० वर्षसम्म यसका लगानीकर्ताले प्रतिफल पाउन सक्छन् ।
विगतका अनुभव हेर्दा १४ देखि २९ प्रतिशतसम्म जलविद्युत् कम्पनीले आफ्ना सेयर सदस्यलाई बोनस बाँड्न सक्छन् भन्ने देखिएको छ । यो सामान्य रुपमा बैंकमा राखेर आउने ब्याज भन्दा कैयौं गुना लाभदायक कुरा हो ।
नेपालमा नियतवश तथा विभिन्न कारणले तोकिएको समयमा जलविद्युत आयोजनाका काम सम्पन्न नहुँदा लागत बढी लाग्ने गरेका उदाहरण भएकाले जलविद्युतमा लगानी गर्न डराउनुपर्ने अवस्था छ । तर, एचआईडीसीएलले जलविद्युतमा स्थानीयबासीको पनि लगानी समेटेर आफ्ना आयोजना बनाएकाले स्थानीयबासीको सहयोग र निगरानी भए छिटो काम अगाडि बढ्ने आशा गर्न सकिन्छ । सामान्यतया नेपाली कानुनअनुसार हरेक कम्पनीको एक कित्ता सेयरको प्रारम्भिक मूल्य सय रुपैयाँ पर्छ ।
लगानी भन्नेबित्तिकै ठूलो लगानी भन्ने बुझिने भएकाले यसबाट टाढा सर्ने गरेको पाइन्छ । सानैसानै रकम पनि लगानी गर्न सकिन्छ भन्ने कुरा बुझाउन जरुरी छ । विषेशगरी खाडी मुलुकमा छोटो अवधिका लागि काम गर्ने भएकाले यसबाट बचत गरिएको रकम जलविद्युतमा लगानी गर्न सके त्यसले भविश्यमा सजिलो पार्न सक्छ ।
यो लगानीमात्र होइन, मुलुक गम्भीर ऊर्जा संकटमा परेकाले त्यसबाट जोगाउन नागरिकका हैसियतले आफ्नो क्षमताअनुसार लगानी गर्नै पर्ने अवस्था पनि छ । प्रवासमा काम गर्ने एकजना भए पनि उसबाट आश्रति पाँचदेखि सात जनासम्मको परिवार घरमै रहेको हुन्छ । बिदामा जाँदा टीभी, कम्प्युटरलगायत विद्युतबाट चल्ने सामाग्री लिएर गए पनि लोडसेडिङका कारण ती सामाग्री घरमा थन्किएर बसिरहेका हुन्छन् । दैनिक जीवन सहजताका लागि मात्र होइन, मुलुकको औद्योगिक विकासका लागि पनि ऊर्जा नभई नहुने कुरा हो ।
मुलुकको सम्वृद्धिका लागि वर्तमान पुस्ताले ऊर्जामा आत्मनिर्भर बनाउन पहल नगरे हामीपछिका पुस्ताले अझ ठूलो समस्या बेहोर्नुपर्नेछ । आफू, आफ्ना परिवारको सुखका लागि प्रवासमा आउनुपर्ने बाध्यता छ भने भविश्यमा उनीहरुकै लागि भए पनि ऊर्जा उत्पादनका लागि जलविद्युतमा लगानी गर्न वर्तमान समयमा राज्यप्रतिको नागरिकको कर्तब्य हो ।
सुरुवातमा केही साना-साना आयोजना सफल बनाएर देखाउन सके त्यसपछि यस्तो लगानी ठूलो मात्रामा आउने भएकाले त्यस अनुसार अगाडि बढ्नु आवश्यक छ ।
(प्रस्तुती- युएईबाट रामप्रसाद ढुंगेल/ कतारबाट घनश्याम पराजुली)
प्रतिक्रिया 4