+
+

प्रिय ग्यास, मुटुभरिको माया तिमीलाई !

तिमीलाई धित मरून्जेल सुँघ्न कहिले पाउँछु ?

दिल निसानि मगर दिल निसानि मगर
२०७३ वैशाख ६ गते १२:३५

परेवाहरु बन्दुक बोकेर उडेछन् भने पनि

चराहरुले गुलेली खेलाउँदै चिरबिर गरे पनि

म तिमीलाई धैर्य र शान्तिपूर्वक प्रेम गरिरहेनछु ।

प्रिय ग्यास,

मुटुभरिको माया तिमीलाई ।

तिम्रो र मेरो सम्बन्ध सीमानाको दृष्टिले जतिसुकै बाधक भए पनि मलाई आशा थियो एकदिन तिमी लजालु नयन बोकेर मेरो अङ्गालोमा बाँधिन आइपुग्नेछौ । र, तिमी आधा छौ कि भरि छौ भनेर मैले सुम्सुम्याउने छु । मोटाएकी छौ कि दुब्लाएकी छौ, त्यो जाँच्न जुरुक्क उचालेर तिम्रो बारुली कम्मरको तौल नाप्नेछु । र, तिम्रो मुखमा जोडिएको शील तोडेर पाइपमा जडान गर्नेछु ।

दिल निसानि मगर
दिल निसानि मगर

तर, तिमी मेरो नजिक फर्केर आइनौ मेरी ग्यास । सुन्दैछु, दलालहरुले तिमीलाई अध्याँरो कोठामा बन्धक बनाएर राखेका छन् । तिमी पहिले जस्तो सरल, सहज छैनौ, तिम्रो भाउ बढेर गगनलाई चुम्बन गर्दैछ ।

तिमीलाई के थाहा हगि, म तिम्रो अभावमा महिनौ दिनदेखि यो सडकमा पागलजस्तै भौंतारिरहेको छु भनेर ? हो मेरी ग्यास, तिमीलाई खोज्न यो शहरको कुना-कुनामा म हरेक दिन डौडिरहेको हुन्छु ।

मेरी ग्यास, तिमीलाई सम्झी ल्याउँदा मनमा यस्तो फिलिङ्ग आउँछ कि तिमीलाई काखमा राखेर राजेश पायल राईको सुमधूर गीत गाउँ । ‘बैगुनी रैछौ मायालु मीठो बोली बोल्ने’ भन्दै तिम्रो अति प्रज्वलशील गालामा जोडसँग स्नेही एक थप्पड हिर्काइदिउँ । बिन्ती मेरी ग्यास चाँडो आउ न है, एकबारको जुनीमा म तिमीसँग जल्न चाहान्छु, दनदनी बल्न चाहान्छु ।

आउ, जलाउ मलाई । साथमा राखेर जलाउ । म कतिदिनदेखि भोको छु, तिमीलाई महसुस गराउनु छ मैले । सुन न, तिमीविना मेरो कालो कफी उम्लिन छाडेको छ ।

तिम्रो सम्झनाले दाल र भात नरुच्दा पेटमा दाम्लो बाँधेर हिँडू कि जस्तो लाग्छ । ढुङ्ग्रोले आगो फुक्दा-फुक्दा अब त सपनामा पनि फूँ-फूँ गर्न थालेछु मेरी ग्यास । के तिमीलाई मेरो फोक्सोको माया लाग्दैन र ?

अँगेनाको डिलमा बसेर खाना पकाउँदा भएका जाङ्गेहरु फिलिङ्गोले टिपेर लगाउनै नमिल्ने गरी प्वाल परेका छन् । पर्न त तिम्रो अभावमा मुटुको समेत प्वाल परेजस्तो लाग्छ मलाई । तिम्रो कान पिटिक्क निमोठेको त्यो पुरानो आदत ।

आजकल तिम्रा ती मुलायम कानहरूको खोजीमा ओदानका खुट्टातिर अनायसै औंलाहरू जान्छन् । आगोको लप्काले होला कान्छी औँला पनि बुढी औला जस्तो ‘अजिव’ देखिन्छ । भन म कुन ब्यूटिपार्लर जाउँ ?

तिम्रो र मेरो प्रेम फस्टाएको देखी नसहने मान्छे राजेन्द्र महतो हुन् । हामी खुसी भएर बाँचेको खबर सुन्दा उनलाई असह्य पीडा हुन्छ, जलन हुन्छ । तर, मलाई आज एउटा छिनोफानो गरिदेउ मेरी ग्यास, राजेन्द्र महतो तिम्रा जेठाबा हुन् कि माइला बा ?

राजेन्द्र महतो तिम्रा ससुरा बा हुन् कि बुढा मावली तर्फका हजुरबा ? के यो पहाडे ठिटाले तिमीलाई प्यार गर्दा राजेन्द्र महतोलाई गाई खाए समानको पाप लाग्छ ?

नाकाबन्दी भयो । तिम्रा हात खुट्टा बाँधेर सीमानामा सजायँ गरियो । थाहा छ, तिमी आउन चाह्यौ मलाई सम्झेर । तर, दुष्टहरुले आउन दिएनन् । मैले तिम्रो झल्को मेटाउन फोटोमा हेरिरहें । पुरानो सलिण्डरबाट अलिकति तिम्रो गन्ध निस्कदा नाक ठाडो पारेर जोतिन पुगें, आफ्नो प्रियको फोहोर मैला पनि मगमग बसाउँदोरहेछ । म चाहान्छु कि, अब चाँडै निरन्तरताको क्रम भङ्गता होस् ।

तिमी त ठुलाबडाको घरमा मात्र वास बस्न थालेकी रहिछौ आजकल । तिम्रो दर्शन पाउनका लागि ठूलो मुल्य चुकाउनुपर्ने भएछ । तिमीलाई पाउने आशमा म घण्टौं सम्म टोक्कन समातेर ठिङ्ग उभिएँ । तर, तिमीलाई समात्न सकिँन

भन न प्रिय म तिमीलाई धित मरून्जेल सुँघ्न कहिले पाउँछु ?

मेरी प्रिय ग्यास,

अब केही फरक सन्देस सुनाउँछु तिमीलाई, पूरै पत्र पढिदेउ न ल ।

तिम्रो जवानीमा एक सिलिण्डर जोश भर्न गृह मन्त्रालयमा रहेका एसएसपी साबलाई फोन गरे नि मेरा एकजना मान्यवरले । मलाई लाग्यो, अब त लाटी गोरे ठुलै मानिस भएछ, मैले चित खाँए ।

तिमी त ठुलाबडाको घरमा मात्र वास बस्न थालेकी रहिछौ आजकल । तिम्रो दर्शन पाउनका लागि ठूलो मुल्य चुकाउनुपर्ने भएछ । तिमीलाई पाउने आशमा म घण्टौं सम्म टोक्कन समातेर ठिङ्ग उभिएँ । तर, तिमीलाई समात्न सकिँन । अरुले समातेको देख्दा मलाई डाहा भयो, शरीरमा चिटचिट पसीना आएरै छाड्यो ।

बीस मिनेट नबित्दै प्रहरीको भ्यान आयो । एउटा निन्याउरो अनुहार उचालेको सिपाहीले काँधमा तिमीलाई बोकेर ठमठम भर्याङ्ग उक्लियो । उनको कर्तव्य पालनाको शिलसिला देखेर म आजित भैसकेको थिएँ । जतनका साथ उनले लगाएको लुगामा मैले यो देशको परिभाषा भेटाएको थिएँ । तिमीलाई हेर्न वरिपरिका मानिसहरू झुम्मिए, फोटो खिचे । तिमीलाई एकचोटि झुलुक्क हेर्न नपाउँदै मेरो दृष्टिबाट तिमी बिलिन हुन पग्यौ । म बेस्सरि भक्कानिएँ नि त्यो दिन ।

मेरी ग्यास, अहिले त तिमी उपहार वा कोशेलीजस्ती भयौ नि हगि ? यो सरकारको लगौंटी बोकेका सुकुलगुण्डाहरुले लाम्चो अनुहार, अग्लो कद र पातलो जिउडाल भएका सयौँ युवती हरुलाई सहजै ग्यास वितरण गरे ।

जेष्ठ नागरिक, रोगी, अशक्त, अपाङ्ग, गरिब, दुखीहरुका लागि तिमी किन निष्ठुरी बन्यौ ? तिमीलाई पावर र प्रतिष्ठाका रुपमा प्रयोग गरेका ती युवतीहरुको नितम्बलाई म ह्दयदेखि नै घृणा गर्छु ।

सुन न प्रिय, मलाई कस्तो आपत परेको छ यहाँ । ‘तिमी आफूलाई खुब ठूलो लेखक ठान्छौ, म जस्तो मानिस दुनियाँमा कोही पनि छैन भनेर भुईमा आँखा नहेरी हिँड्छौ ।

तर, जाबो एउटा ग्यास खोज्न सक्दैनौ’ भनेर तिम्री सौताले दिनरात गाली गरेपछि म आफ्नो एकबारको जुनीदेखि हरेश खाइसकेको छु । पहिलो पटक मेरो हैसियतको तुलना तिमीसँग हुँदैछ । मलाई त आफ्नै गाला चिथोरेर घाउ बनाउन मन लागेको छ प्रिय ।

हरेक साँझ तिमीलाई बोकेर आउने मालवाहक सवारीलाई दोबाटोमा ढुकेर बसेको हुन्छु म ।

प्रिय ग्यास,

कहिले तिमीलाई उत्तरको नाका हुदैँ आउँछे भन्छन्, कहिले दक्षिणबाटै । भन मायालु, तिमीलाई सबैभन्दा सजिलो बाटो कुन हो मलाई भेट्न आउने ? बिहारीले फ्याँकेको ढुंङ्गा मुढा लागेर तिमी कैयौं पटक घाइते भएकी छौ । सडकको किनारमा पल्टिएकी छौ । पीडा सहन नसकेर आफूलाई खुद जलाएकी छौ ।

मलाई महशुस नभएको होइन, तिम्रो पीडा तर मेरो पनि आफ्नै समस्या छ । तिमीलाई प्रदेशबाट झिकाउन परेको छ ।

मेरी ग्यास, म बाँचेको देश मेरो जस्तो छैन । मानिसहरू भन्छन् तिमी मेरै धर्तिमुनि भासिएर बसेकी छौ, तर तिमीलाई उत्खनन गर्ने उर्जा छैन । एलिटहरुले चिन्दैनन् प्रिय, म भुईमान्छेको देशलाई ।

एलिटहरूका लागि राष्ट्रिय संकट भनेको त राष्ट्रिय चाडपर्वझै खुसीको उत्सव हुँदोरहेछ । यस्तो लाग्छ कि एलिटहरुका लागि त्यो भुइँचालो घटस्थापनाको दिन थियो, नाकाबन्दी बिजयादशमी थियो

देश निर्माणका लागि केही गर्न सक्ने स्थानमा पुगेका मानिसहरूले देशको भविश्यका बारेमा होइन, आफ्ना छोराछोरी, नाति, नतिना र भान्जा, भान्जीको भविष्यका लागि सोच्दछन् । साँच्ची म र महरु सार्है पीडित भएका छौ ।

म किन बाँचिरहेको छु भन्ने प्रश्न मेरा निम्ति निकै गम्भीर छन् मेरि प्रिय ।

जब म क्षतिजको सुदुर गाँउ नियाल्छु नि, तव मानिसहरूको शरीर वृक्षारोपण गर्न बाँकी चिलाउने डाँडाजस्तो नाङ्गो पाउँछू । यो देशको  नक्सामा भुइँमान्छेको भोको पेट कोरिन सकेको छैन, राष्ट्रिय धुनमा गरिबको भाका भेटिँदैन ।

बाहिर जतिसुकै समानता र स्वतन्त्रताको कुरा गरे पनि साँचो अर्थमा एलिटहरुको हातमा रहेछ देश भन्ने कुरा बुझें मैले मेरी ग्यास । एलिटहरूका लागि राष्ट्रिय संकट भनेको त राष्ट्रिय चाडपर्वझै खुसीको उत्सव हुँदोरहेछ । यस्तो लाग्छ कि एलिटहरुका लागि त्यो भुइँचालो घटस्थापनाको दिन थियो, नाकाबन्दी बिजयादशमी थियो ।

तिमी सदाका लागि एलिटहरुको नाकाबन्दीमा पर्यौ मेरी ग्यास ।

आशा छ, एक सुनौलो बिहानीमा तिमी बिस्तारै अँध्यारो कोठाबाट बाहिर निकालिनेछौ अनि तिमी र म प्रेमको माला जपेर छमछमी नाच्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?