१९ वैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ विशेष समिति गठनका लागि सहमति जुटाउन प्रमुख तीन दलका शिर्ष नेतासँग सामूहिक छलफल गरेकी छन् ।
सभामुख घर्तीले सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर संसदीय सुनुवाइ विशेष समितिका विषयमा छलफल गरेकी हुन् ।
तीन दलका नेताहरुको मत बाझिएका कारण समिति गठनको विषयमा कुरा नमिल्दा नियमावली बनाउन ढिलो भएको र त्यसको असर प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा राजदूतको नियुक्तिमा परेको सभामुख घर्तीले बताइन् ।
सभामुखसँगको भेटवार्तापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बसेर संसदीय सुनुवाइ समितिका बारेमा जवाफ दिने बताए ।
नियमावलीको विषयमा निर्णय गर्नका लागि नियमावली मस्यौदा समितिको बैठक सोमबार बोलाइएको छ । तिनै दलका नेताले त्यो बैठक पहिले नै आफुहरु एउटा निष्कर्षमा पुगिसक्ने बताएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
सभामुख घर्तीले नियमावली बनाउन ढिलो भएको विषयमा यसअघि तिनै दलका शिर्ष नेताहरुसँग अलग अलग रुपमा भेटवार्ता गरेकी थिइन् । संसद्ले नियमावलीको मस्यौदा बनाउन एक महिनाको समय दिएर समिति गठन गरेको सात महिना पुग्न लागेको छ ।
प्रतिक्रिया 4