+
+

पत्रकारलाई खरानी बनाउने प्रेस काउन्सिल सदस्यको धम्की

सञ्चार मन्त्री शेरधन राई र अन्य एमाले नेतालाई पनि नछाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते १४:३०
Dipak-Pathak
प्रधानमन्त्री केपी ओलीसँग दीपक पाठक

२१ वैशाख, काठमाडौं । प्रेस काउन्सिलका नवनियुक्त सदस्य दीपक पाठकले केही पत्रकारहरुलाई खरानी बनाइदिने धम्की दिएका छन् । अब आफूले चाँडै पत्रिका निकाल्ने र केही व्यक्तिहरुलाई पत्तासाफ गरिदिने पाठकले बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेललाई टेलिफोन गरेर पाठकले खरानी बनाइदिने धम्की दिएका हुन् । ‘तँ कहाँ बस्छस्, त्यो पनि थाहा छ’ भन्दै काउन्सिल सदस्य पाठकले पौडेललाई ‘देखाइदिने’ बताएका हुन् ।

केपी ओलीको विशेष आग्रहमा शनिबार प्रेस काउन्सिलको सदस्यमा नियुक्ति पाएका पाठकले फोन गरेर पत्रकार पौडेललाई खरानी पार्ने धम्की दिँदा प्रेस चौतारीका कोषाध्यक्ष विश्वमणि सुवेदी पनि पौडेलका साथमै थिए ।

पाठक पौडेललाई फोन गरेर ‘खरानी बनाउने’ केही मानिसहरुको नाम सुनाए । आफूलाई काउन्सिलमा नियुक्ति गर्न नदिने प्रेस चौचारीका अध्यक्ष राजेन्द्र अर्याल, गोकुल बास्कोटा, विष्णु रिजाल, मात्रिका पौडेल रहेको भन्दै सबैलाई आफ्नो तागत देखाइदिने पाठकले फोनमा बताए ।

अबको एक महिनाभित्र दैनिक पत्रिका र अनलाइन चलाउने भन्दै पाठकले त्यसमा आफ्नो विरोध गर्नेजतिको समाचार छाप्ने धम्की पौडेललाई दिएका छन् ।

पाठकले पौडेलसँगको फोनमा आफैं नियक्ति दिने सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई पनि देखाइदिने धम्की दिएको चौतारीका कोषाध्यक्ष सुवेदीले बताए । त्यस्तै सञ्चार सचिव दिनेश थपलियाको पनि उनले नाम लिए । एमाले नेता प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र शंकर पोखरेलले पनि आफ्नो विरोध गरेको भन्दै उनीहरुलाई समेत ठेगान लगाउने पाठकले पौडेललाई बताए ।

पाठकले खरानी बनाउँछु भन्दै घरको लोकेसनसमेत माग्न थालेपछि पत्रकार पौडेलले वीचैमा फोन काटेका थिए ।

‘यो अत्यन्तै निन्दनीय कार्य हो,’ चौतारीका कोषाध्यक्ष सुवेदीले अनलाइनखबरसँग भने, ‘प्रेस काउन्सिलको सदस्यजस्तो गरिमामय पदमा नियुक्ति पाएको व्यक्तिले पत्रकारलाई फोन गरेर तेराविरुद्ध पत्रिका निकाल्छु भन्नु अशोभनीय एवं निन्दनीय हर्कत हो ।

पाठकको धम्कीबारे चासो राख्दा अनलाइनखबरका पूर्व उपसम्पादक समेत रहेका पौडेलले भने- ‘पाठकलाई एउटा प्रक्रियाबाट सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको हो, तर पत्रकार आचारसंहिताको पालना गराउनुपर्ने निकायमा नियुक्ति पाएको व्यक्तिले नै यसरी पत्रिका निकालेर उल्टो फोटो छाप्नु भन्दै ब्ल्याकमेलिङको भाषा बोल्नु गम्भीर सोचनीय विषय हो ।’

पौडेलले भने, ‘आफूलाई नियुक्ति दिलाउने मन्त्री र सचिवलाई नै उनले तथानाम गाली गर्दै म बस्ने ठाउँसमेत सोध्नु भनेको मेरो भौतिक सुरक्षामाथि नै प्रश्न उठाउनु हो ।’

पाठकले विगतमा पनि आफूलाई मन नपरेको व्यक्तिबारे जथाभावी लेखेर छाप्ने गरेका थिए । त्यसो गरेवापत प्रेस काउन्सिलले कारवाही गर्दा उनले काउन्सिलमै तोडफोड समेत गरेका थिए ।

Dipak Pathak, Todfod
मार्गदर्शन मासिक पत्रिका निकालेका पाठकलाई सोधिएको स्पष्टिकरण

अहिले प्रधानमन्त्री ओलीको ठाडो दबावमा काउन्सिलको सदस्य बनेपछि पाठक सूचना तथा सञ्चारमन्त्री र एमाले नेताहरुलाई समेत धम्क्याउने अभियानमा लागेका हुन् ।

यसैवीच पाठक प्रेस काउन्सिलको सदस्य बनेपछि उनीबाट विगतमा ठगिनेहरुले सञ्चार मन्त्रालयमा उजुरी दिने क्रम बढेको छ ।

यो पनि पढ्नुहोस्

इतिहासले गर्‍यो मजाक ! प्रेस काउन्सिलमा नटवरलाल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?