+
+

ओली ‘भिजन’ भित्रको अन्तर्य

भोकाएको मान्छेलाई खानाको सुन्दर तस्वीर देखाएजस्तो

डा. उत्तमबाबु श्रेष्ठ डा. उत्तमबाबु श्रेष्ठ
२०७३ जेठ २० गते १०:४७

आजभन्दा ५५ बर्षअघि सन् १९६१ मे २५ का दिन अमेरिकी कांग्रेस र सिनेटको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति जोन अफ केनेडीले एउटा महत्वपूर्ण घोषणा गरे – ‘यो दशक सकिनुअगावै हामी चन्द्रमामा पुगेर पृथ्वीमा सकुशल फर्किने छौं ।’अहिले पनि केनडीको उक्त सम्बोधनलाई ठूलो महत्वांकाक्षा राख्नुपर्दछ भन्नेहरुदेखि भिजनरी नेतृत्वको उदाहरण दिनेहरुले आफ्नो सन्दर्भमा जोड्न हत्पत्ति छुटाउँदैनन् ।

लेखक उत्तमबाबु श्रेष्ठ
लेखक उत्तमबाबु श्रेष्ठ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशिद्व वाक्य छ, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । देवकोटा एक नेपाली कवि थिए, उनले कविता मात्रै लेखे । तर, केनेडी अमेरिकी राजनीतिज्ञ थिए, उनले आफूले भनेको पुराएरै छोडे । ६० को दशक सकिनै लाग्दा, सन् १९६९ जुलाई २० मा अमेरिकी नील आर्मस्टङ्ग चन्द्रमा टेकेर पृथ्वीमा सकुशल फर्किए ।

त्यो घटनाले शीतयुद्धको समयमा अन्तरिक्ष दौडमा सोभियत संघ भन्दा पछि परिरहेको अमेरिकाले सोभियत संघमाथि जीत हासिल गर्यो । यद्यपि केनडीले आफैंले भने उनको त्यो सपना कार्यान्वयन भएको हेर्न पाएनन् । उनको हत्या त्योभन्दा ६ वर्ष अघि नै भयो ।

कुनै कुराको आवश्यकताले नेतृत्व तहमा जिम्मेवारीबोध गराएमा नेतृत्वले पर्यात आन्तरिक तयारी गरी आवश्यक रणनिति, उचित योजना र संभावित सफल/असफल परिणामको आंकलन सहितको नविन कार्यक्रम ल्याउँछ, जसलाई सायद भिजन भनिन्छ ।

भिजनले लक्ष्य प्राप्तिमा दिशानिर्देश गर्दछ । कुशल नेतृत्वले आफ्नो भिजन सार्वजनिक गर्दा स्रोता चयन, बोलीको लाक्षणिकता र गाम्भीर्यता सबै ख्याल गरेका हुन्छन् । उनीहरु आफ्नो भिजनलाई जनमतले अनुमोदन गर्ने अपेक्षा राख्छन्, विरोधीका कुरा सुन्छन् र त्यसप्रति समर्थन जुटाउन सफल हुन्छन् । आफ्नो प्रतिवद्धताप्रतिको निरन्तरता र समय सीमाको गाम्र्भीय भिजन कार्यान्वयनको अर्को सर्त हो । अमेरिकी राष्ट्रपति केनेडीको उक्त भाषणमा यी सबै कुराहरु थिए ।

केनेडीले चन्द्र आरोहणको भिजन सार्वजनिक गर्न अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई रोजे, जसले अमेरिकाको भाग्य कोर्ने सामथ्र्य राख्दथ्यो । उक्त कालजयी भाषण गर्नुभन्दा अघि उनले पर्याप्त गृहकार्य गरेका थिए । उनले राष्ट्रपति हुनुभन्दा पहिल्यै व्यक्तिगत पहलमा एमआइटीका प्राध्यापकको अध्यक्षतामा अन्तरिक्ष कार्यक्रमको छुटै अध्ययन गर्ने कार्यदल बनाएका थिए ।

शीतयुद्धकालीन प्रतिद्वन्द्धी सोभियत राष्ट्रपति निकिता खुस्चेभलाई फोन गरेर आफूलाई अन्तरिक्ष कार्यक्रममा सघाउन उनले प्रस्ताव पनि गरे । आफूले चन्द्रमामा मान्छे पुर्‍याउने घोषणालाई एक बर्षपछि राइस विश्वविद्यालयको भाषणमा हजारौं श्रोताका वीच फेरि दोहोर्‍यााए, जसका कारण त्यसलाई अनुमोदन गर्न सकियोस् ।

राइस विश्वविद्यालयमा उनले गरेको भावपूर्व भाषणमा अमेरिकाले विगतमा पेनिसिलिन, टेलिभिजन, आणविक उर्जा जस्ता विज्ञानको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेकोले चन्द्र आरोहण सफल हुने आधार प्रस्तुत गरेका थिए ।

त्यसपछि चन्द्र आरोहणको तयारीका लागि अमेरिकी अन्तरिक्ष संस्था नासालाई आवश्यक ५.४ विलियन डलर बजेट विनियोजन गरे । संरचनागत सुधार र संस्थागत परिवर्तन गरेर नासाको कायापटल नै गरिदिए । व्यक्तिगत कम्प्युटर जन्मिइनसकेको त्यो बेलाको एपोलो यानको गणितीय क्षमता अहिलेको हाते फोन त के क्याल्कुलेटर भन्दा पनि कम थियो ।

यद्यपि त्यसले ३८५ हजार किलोमिटर टाढाको अन्तरिक्ष यात्रीलाई दिशानिर्देश गर्दै पृथ्वीबाट चन्द्रमा पुर्‍याएर फेरि पृथ्वीमा सकुशल फिर्ता ल्याउन सफल भयो । नेतृत्व आफ्नो भिजन कार्यान्वयनमा गम्भीर भए भने थुप्रै प्राविधिक चुनौतिका बावजुद त्यो वास्तविकतामा परिणत हुन सक्छ भनेर केनेडी र उनका उत्तराधिकारीहरुले संसारसामु देखाइदिए ।

KP Oliओलीको बोली

आफ्नो अर्गानिक ठ्ट्यौली पारामै सही, नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले ठूलाठूला सपनाको चाङ लगाइदिएका छन् । ओलीका यस्ता बोलीहरुले खस्न नपाउँदै तरंग पैदा गर्दछन् । उनका ठट्यौली पाराको भाषणले धेरै श्रोताको शरीरको हास्य रस ग्रन्थीहरु रसाउन थाल्छ । उनको बोलीसँगै कार्टुनिष्टहरुले आफ्नो सिर्जनशीलतामा निखार ल्याउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्तावीच उनको बोलीलाई लिएर दैनिकजसो महाभारत हुने गर्दछ ।

स्वधोषित विज्ञहरु यसरी हुन/बन्न सक्छ भनेर ओलीको बोलीमाथि रफु भर्न थाल्छन् । उनका अन्धसमर्थकहरु ओलीलाई विकासप्रेमी र राष्ट्रप्रेमी प्रधानमन्त्री भन्दै त्यसमा लोली मिलाउँछन् । त्यसमध्ये केहीले ओलीको बोलीलाई जानी नजानी केनेडीको भाषणसँग जोडेर उनलाई महान भिजनरीको पगरी गुथाइदिन थालेकोले यो लेख जेएफकेको प्रसंगबाट शुरु गरिएको हो ।

सामान्यतया नयाँ कुरा गर्दा धेरै मान्छेहरुले स्वभाविक रुपमा आशंका व्यक्त गर्दछन् । केनेडीले ँमुनसट’ भाषण गरेपछि अमेरिकाका सबै समाचारपत्रले त्यसलाई मुख्य समाचार बनाएर छापेका थिए । र, त्यसलाई हावामा उडाउनेहरुको संख्या धेरै थियो । भलै त्यो काठमाडौंको सडकको खाल्डोमा जमेको पानीमा कागजको डुंगा बनाएर ओलीको पानी जहाजलाई उडाउने हदको भने थिएन ।

ओलीका दैनिकजस्तो आउने यस्ता बोलीहरुलाई, जसलाई केहीले भिजन पनि भन्ने गरेका छन्, उनले विकासको चाहना राखेको मान्न सकिएला । तर, यस्ता विकासे सपनाहरु नबाँड्ने नेता नेपालमा सायदै होलान्

त्यसो त ओलीले केनेडीले जस्तो विल्कुल नयाँ कुरा गरेका पनि होइनन् । ओलीका कुरा हामीलाई असामान्य लागे पनि अहिलेको संसारमा पुराना भइसकेका सामान्य कुराहरु हुन् । मुखचुच्चे रेल, नेपाली झण्डावाला पानीजहाज, चुला-चुलामा ग्यासका पाइप, हावावाट बिजुली, चीनमा बिजुली निर्यात, काठमाडौं-पोखरा दुई घन्टे यात्रा आदि इत्यादि । हाम्रो देशमा नभए पनि यी कुराहरु हामीले सुन्दै, देख्दै र भोग्दै आइरहेका छौं । फरक के भने ओलीले आफ्नो शैलीगत ठ्टयौली विशेषण -मुखचुच्चे, झण्डावाला, चुलाचुलामा) जोडेर त्यसलाई भँजाउन सफल भए ।

ओलीका दैनिकजस्तो आउने यस्ता बोलीहरुलाई, जसलाई केहीले भिजन पनि भन्ने गरेका छन्, उनले विकासको चाहना राखेको मान्न सकिएला । तर, यस्ता विकासे सपनाहरु नबाँड्ने नेता नेपालमा सायदै होलान् । तर पनि यो देशमा प्रत्येक बर्ष स्कूले नानीहरुले समयमा किताब पाउँदैनन्, मध्य असारमा विकासे काम शुरु हुन्छ । सडक दुर्घटनामा परेर हजारौंले अकालमा बर्षेनी ज्यान गुमाउँछन् । जसको सोझो अर्थ हो, ठूला सपनाको कार्यान्वयन त के, हामीकहाँ सामान्य व्यवस्थापकीय सुधार गरेर समाधान हुने काम पनि अहिलेसम्म हुन सकेको छैन ।

भिजनरी भनिएका ओलीको राजमा पनि त्यो क्रम जारी छ । थप के भने उनको सरकारका पालामा कालोबजारीले सरकारलाई माथ गर्ने हैसियतमा आफ्नो समानान्तर उपस्थिति देखाए र सिण्डीकेटवालाहरुको दादागिरीले नयाँ उचाइ हासिल गर्‍यो ।

भूलिएको प्राथमिकता

बोली जति ठूलो भएता पनि ओली सरकार सञ्चालनका लागि चाहिने सामान्य सुशासनसमेत कायम राख्न असफल भएको छ । यसले गर्दा ओलीको बोलीमा विश्वास गर्ने आधार जनताले पाएका छैनन् । जनता भन्दैछन्, रेल ल्याउने भन्थे, बस समेत पाइएन । काठमाडौं-पोखरा दुई घण्टाको बनाउँछौ भन्थे, थानकोटमा घन्टौंको जामलाई रोक्न सकेनौं । चुलाचुलामा पाइप होइन, भरे खाना पकाउने ग्यास सिलिण्डर देऊ । चुच्चे रेलको छोड, काठमाडौंका ट्याक्सी र बस व्यवस्थापन गर आदि इत्यादि ।

जनताका माग र ओलीका कुराहरुलाई केलाउने हो भने निष्कर्ष निकाल्न सकिन्छ, ठूला कुरा गर्ने चक्करमा ओलीले आफ्नो प्राथमिकतालाई चटक्कै भुलेका छन् ।

हाम्रो अहिलेको तात्कालीन आवश्यकता पानीजहाज ऋणमा किन्ने हो कि दशकौंदेखि अड्किएको मेलम्चीको पानी होे ? बर्षौंदेखि बन्न नसकेका जलविद्युत आयोजना सुचारु गरेर लोडसेटिङ हट्छ कि, सम्भाव्यता अध्ययन नै नभएको हावाको बिजुलीको गफले ?

दुभाग्र्यवश ओलीले भूलेका छन् – जनतालाई काठमाडौं-पोखराको दुरी दुईघण्टाको बनाउने गफले भन्दा काठमाडौं छिर्ने नाकामा दैनिक हुने घण्टौंको जामलाई कम गरेमा धेरै राहत हुन्छ । कामको कुरा छोडौं, कुरासमेत कुन गर्ने/नगर्ने भन्ने कुराको प्राथमिकता निर्धारणमा अलमल्ल परेका छन् प्रधानमन्त्री ओली ।

गलत स्रोता र ठाँउको चयन

ओलीले आफ्नो ‘भिजन’सार्वजनिक गर्ने ठाँउ पनि उपयुक्त छैनन् । उनका ठुला कुराहरु प्रायः शिलान्यास, उद्घाटन मन्तव्य जस्ता सामान्य औपचारिक कार्यकममा सार्वजनिक भइरहेका हुन्छन्, जहाँ स्रोताहरुको व्यक्तिगत दक्षता, पेशा र आवश्यकता फरक-फरक हुन्छन् । त्यस्ता श्रोताहरुले ओलीले भनेका कुराहरु अनुमोदन गर्ने क्षमता राख्दैनन् र त्यस्ता कार्यक्रमको ऐतिहासिक महत्व पनि हुँदैन ।

अोली चुलो चुलोमा पाइपबाट ग्यास पुराउँछु भनेर किस्सा सुनाउँछन् । त्यो भनेको भोकले चुर भएको मान्छेलाई खानाको सुन्दर तस्वीर देखाउनु जस्तै हो

उनी कालोबजारमा निर्धारित मूल्यभन्दा तीन गुणा बढी पैसा तिरेर ग्यास किन्ने उपभोक्तालाई चुलो चुलोमा पाइपबाट ग्यास पुराउँछु भनेर किस्सा सुनाउँछन् । त्यो भनेको भोकले चुर भएको मान्छेलाई खानाको सुन्दर तस्वीर देखाउनु जस्तै हो ।

त्यसकारण यदि ओली साँच्चै आफ्नो भिजनमा गम्भीर छन् भने दैनिक समस्याहरुबाट ग्रस्त जनताको उपहास हुने यस्ता भाषणहरु उनीहरुका अगाडि नगरेको राम्रो । त्यस्ता भिजनहरु सार्वजनिक गर्ने उपयुक्त ठाउँ जस्तै संसदको बैठक वा मन्त्रिपरिषदको बैठकहरु हुन सक्छन्, जसले कार्यान्वयनको अधिकार र अनुमोदनको हैसियत पनि राख्दछ । कुराको ऐतिहासिक गरिमा र महत्व पनि हुन्छ ।

प्रतिवद्धताको निरन्तरता

ओलीले भनेजस्तै मुखचुच्चे नहोला, तर नेपालमा रेलको कुरा उठ्न थालेको एक दशकभन्दा बढी भैसक्यो । ०६५ सालमै भौतिक योजना तथा निर्माण मन्त्रालय मातहतमा विद्युतीय रेल आयोजना स्थापना भएको थियो । सर्लाहीको रानीगञ्जमा पुगेर मेची-महाकाली रेलका लागि ट्रयाक निर्माण गर्ने कामको शिलन्यास तात्कालीन यातायात मन्त्री विमलेन्द्र निधीले १ असार ०७१ मै गरेका थिए । हालसम्म त्यो कामको एक प्रतिशत पनि प्रगति भएको छैन ।

रेलका लागि छुट्याएको बजेट रकम ५ प्रतिशत पनि खर्च हुन सकेको छैन । विकास भनेको आकस्मिक घटना होइन । त्यो निरन्तर प्रकृया हो । फोटोसप गरिएजस्तो नेपालमा तुरुन्तै मुखचुच्चे रेल गुड्दैन । शुरु भइसकेका यस्ता वा सम्भाव्यता अध्ययन सकिएका उपत्यकाको मेट्रो रेल आयोजनाको निरन्तरता दिने र त्यसलाई समय मै सकाउने प्रतिवद्धताले मात्र रेल गुडाउन सम्भव छ । त्यस्ता आयोजनाहरुलाई निरन्तरता दिने त्यसलाई चाँडै सकाउन पहल गर्नेभन्दा प्रधानमन्त्री ओली रेलमा नयाँ नयाँ विशेषण जोड्नमा व्यस्त छन् ।

समय सीमाप्रति वेवास्ता

समय सीमाप्रतिको गाम्भीर्य भिजन कार्यान्वयनको अर्को सर्त हो । प्रधानमन्त्री हुनुभन्दा अघिदेखि नै ओलीले अन्य दलका नेताहरुलाई घन्टौंसम्म कुराएका समाचारहरु आउँथे । प्रम बनेपछि त्यसको निरन्तरता जारी नै छ । उनले आफूले यो समयभित्र गर्छु भनेका कुराहरुको हेक्का राखेका हुँदैनन् ।

जस्तो-उनले सत्ता सम्हाल्नासाथ लोडसेडिङ एक वर्षभित्रै अन्य गर्ने घोषणा गरेका थिए । तर, त्यो एक वर्षमा नसकिने कुरा उनको नेतृत्वको सरकारले पेस गरेको बजेटमा स्वीकारिएको छ । यस्ता कुराले उनलाई खासै प्रभाव पारेको देखिँदैन उनी आत्मालोचना भन्दा मुखाले जवाफ दिन उद्दत्त देखिन्छन् ।

अन्त्यमा अहिलेको टेको (माओवादी र मण्डलेको समर्थन) पाइरहेमा पनि यो सरकारको अधिकतम आयु भनेको १५ महिना मात्रै हो । त्यसकारण उनी र उनको टिमलाई राम्ररी थाहा छ, यो १५ महिनामा हावाबाट निकाल्ने बिजुलीको सम्भाव्यता अध्ययन गर्न पनि सकिँदैन, चुच्चे रेल गुडाउने टेण्डर आह्वान गर्न पनि भ्याइँदैन । पानीजहाज किन्ने ऋण खोज्न पनि सकिँदैन ।

घरघरमा पाइप जोडिदिने कम्पनीको पहिचान गर्न पनि भ्याइँदैन । ओलीको भिजन र देशको वर्तमान आवश्यकतावीच कुनै तारतम्य नदेखिए तापनि उनको भिजनको कार्यान्वयनको आधार पेश गर्न र त्यसको मार्गचित्र दिन चुक्दा पनि ओलीले दैनिकजसो नयाँ नयाँ ‘भिजन’ सार्वजनिक गरिरहेका हुन्छन् । र, त्यो उनी र उनको टिमले रणनैतिक हिसाबले यो सरकार टिक्दासम्म जारी राख्नेछन् ।

जसको सोझो अर्थ हो, उनी नेपाली जनताको र सञ्चारमाध्यमको ध्यान अन्यत्र मोडेर आफ्नो सरकार सञ्चालनका क्रममा भएका तमाम कमजोरी ढाक्न खोजिरहेका छन् । र, आफ्नो सरकारको आयु लम्ब्याएर अर्को निर्वाचनमा अहिले दिएको ठूला गफलाई बहुमत ल्याउने साधन बनाउने रणनीतिमा छन् ।

ट्वीटरमाः uttambabu

लेखकको बारेमा
डा. उत्तमबाबु श्रेष्ठ

वातावरण विज्ञानमा अमेरिकाबाट विद्यावारिधि गरेका श्रेष्ठ समसामयिक विषयका साथै विषेश गरी विज्ञान-प्रविधि, नीति, वातावरण र मानवसम्बन्धको अध्ययन अनुसन्धानमा रुची राख्छन् । फोटोग्राफीका शौखिन श्रेष्ठमा फोटोहरुले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?