+
+

सहमति नबनेसम्म ओलीको विकल्प खोजिन्नः मन्त्री सापकोटा

'भूकम्प पीडितलाई ९० प्रतिशत छुटमा काठ वितरण सुरु'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २७ गते १३:५३

Agni-Sapkota

२७ जेठ, काठमाडौं । वनमन्त्री अग्नि सापकोटाले राष्ट्रिय सहमति नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नखोजिने बताएका छन् । सहमतीय सरकार बन्ने वातावरण नभएसम्म नेतृत्व कसले लिने भनेर बहस गर्नु उपयुक्त नहुने उनले बताए ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री सापकोटाले भने, ‘कांग्रेस, एमाले र माओवादीबीच सहमतिको सरकार बनाउने विषयमा पहल भैरहेको छ, अहिले नै सरकार कसको नेतृत्वमा बन्छ भन्नु उपयुक्त हुँदैन ।’

मन्त्री सापकोटाले संविधान कार्यान्वय र संविधान पछिको मुलुकको कार्यव्यवस्थालाई रुपान्तरण गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राखे । उनले भने, ‘प्रमुख राजनीतिक दलहरुवीच एकता भए संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ, त्यसैले हामीले राष्ट्रिय सहमतिको कुरा गरेका हौं ।’

माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री सापकोटाले आफ्नो पार्टी बहुमतीय सरकार बनाउने खेलमा नरहेको दाबी गरे ।

सत्तारुढ दल नेकपा एमालेसँग ९ बुँदे सहमति भएको हुँदा सहमति पालना गर्ने कुरामा एमाले गम्भिर हुनुपर्ने उनले बताए । मन्त्री सापकोटाले दुई शीर्ष नेता प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भद्र सहमति भए-नभएको भन्ने कुरामा आफू अनविज्ञ रहेको स्पष्ट पारे । ‘भद्र सहमति भनेको अलिखित विषय हो, त्यसैले उहाँहरुको भनाईबाट मात्रै हामीलाई थाहा हुने कुरा हो, यसमा मेरो भन्नु केही छैन,’ उनले थपे ।

९० प्रतिशत छुटमा काठ

मन्त्री सोपकोटाले भूकम्प पीडितलाई घर बनाउन सरकारले ९० प्रतिशत छुटमा असारभित्र काठ वितरण प्रक्रिया सुरु गर्ने जानकारी पनि दिए । भूकम्प पीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागिपरेको उनले बताए ।

उनले भने, ‘वर्षा सुरु भयो, तर भूकम्प पीडित जनताहरु खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरुलाई छानोमा सार्नेगरी सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो, अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकार जनताले मागेजति काठ दिन तयार छ ।’

मन्त्री सापकोटाले पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणको कार्यलाई तिव्रता दिने बताए । उनले भने, ‘पहिलो चरणमा हामी १४ जिल्लामा उक्त कामलाई बढाउँछौं ।’

भूकम्प पीडितलाई काठ वितरणमा अनियमितता नहोस् भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको संयोजकत्वमा वन पैदावार आपूर्ति समितिसमेत गठन भैसकेको मन्त्री सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?