९ असार, काठमाडौं । डाक्टरहरुको नक्कली सर्टिफिकेट विवादमा नेपाल चिकित्सक संघले कुनै अडान नलिने भएको छ । संघका अध्यक्ष अन्जनीकुमार झाले यसबारे अदालतले गर्ने फैसलाकै प्रतिक्षा गर्ने बताए ।
‘केही डाक्टरहरुको आइएस्सीको सर्टिफिकेट नक्कली भन्ने कुरा आइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘सामान्यतयाः नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार डाक्टर पढ्नको लागि एसएल्सी र आइएस्सी पढेकै हुनुपर्छ ।’ अहिलेको घटनामा कतिपय डाक्टरहरुले बायोलोजी नै लिएर पढेको त कतिले, एग्रिकल्चर, नर्सिङ्ग पढेर पनि बाहिर एमविविएस गर्न गएको पाइएको उनले बताए ।
झाले अगाडि भने, ‘प्रचलित नियमअनुसार डाक्टर बन्नका लागि आइएस्सी पढेकै हुनुपर्छ र आइएस्सीमा ५० प्रतिशत अंक ल्याएकै हुनुपर्छ । त्यसपछि मात्र उसले एमबिबिएस गर्न पाउँछ ।’
कतिपय डाक्टरहरुले कम अंकका कारण नक्कली सर्टिफिकेट बनाएर नम्बर थपेको तथा कतिले सर्टिफिकेट नै नक्कली किनेको पत्ता लागेपछि अनुसन्धान हुनु स्वभाविक नै भएको उनको भनाइ छ ।
‘कुनै पनि व्यक्तिले आवेदनका लागि पेश गरेको सर्टिफिकेट निश्चित ठाउकै हुनुपर्छ भनेर तोकिएको हुदैन । यो व्यक्तिगत विषय हो । कसैलाई मासु भात खान मन लाग्ला, कसैलाई दालमात्र हालेर भात खान मन लाग्ला । तैले यही नै किन खाइस् भनेर कसैलाई सोध्ने कुरा हुँदैन,’ झाले भने । अहिलेको प्रकरणलाई जातीय तथा वर्गीयताको आधारमा टेकेर लाञ्छना लगाउन नमिल्ने पनि उनको भनाइ छ ।
झाले नक्कली प्रमाणपत्रको चेकजाच पहिले नै शिक्षा मन्त्रालयले नगरेकोमा प्रश्न उठाए ।
‘अहिले केन्दि्रय अनुसन्धान व्युरोले नै यसको छानबीन गरिरहेको छ । उनीहरुको छानबीनमा हामीले बोल्न मिल्दैन । बोल्नु पनि हुदैन । बरु अदालतले यसबारे जे फैसला गर्छ त्यो नै हामीलाई सर्वमान्य हुनेछ,’ झाले भने ।
प्रतिक्रिया 4