६ साउन, काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले व्यावसायिक महत्वपूर्ण व्यक्ति (सीआईपी) सम्मान पाउने सम्भावित व्यक्ति तथा संस्थाहरुको सूचि सार्वजनिक गरेको छ ।
विभिन्न १७ विधामा ३८ संस्था तथा व्यक्तिलाई सीआईपी सम्मानको प्रस्ताव गरिएको छ । केन्द्रले उनीहरुको कारोबार रकमसहित साउन १ गते नामावली सार्वजनिक गरेको हो । प्रकाशित सूचिमा कसैले दाबी विरोध गर्न चाहेमा साउन १५ गतेसम्म प्रमाणसहित निवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार १५ दिनभित्र दाबी विरोध नपरेमा प्रस्तावित व्यक्ति तथा संस्थालाई सिआईपी सम्मानका लागि सिफारिस गरिने छ । सीआईपी राष्ट्रपतिबाट प्रदान गरिने व्यावसायिक क्षेत्रमा मुलुककै सबैभन्दा ठूलो प्रतिष्ठित सम्मान हो ।
नेपालकै सबैभन्दा ठूलो करदाताको रुपमा एनसेललाई सीआईपी सम्मानको प्रस्ताव गरिएको छ । एनसेललाई आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबैभन्दा बढि ‘आयकर दाखिला गर्ने उद्यमी व्यावसायी’को विधाअन्र्तगत सीआईपी सम्मानको प्रस्ताव गरिएको हो ।
आर्थिक वर्ष २०७१/७२ मा एनसेलले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो । एनसेलले विविध शुल्क, रोयल्टी र करअन्र्तगत वैशाख २२ गतेसम्ममा झण्डै १ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ सरकारी ढुकुटीमा योगदान गरेको छ ।
यसैगरी सर्वाधिक विदेशी मुद्रा भित्राएवापत पाँचतारे हायात होटललाई सम्मानको प्रस्ताव गरिएको छ । सबैभन्दा बढी विदेशी पर्यटक भित्राउनेमा यति ट्राभल्स दरबारमार्ग, बढी रोजगारी दिनेमा अरिहन्त मल्टिफाइवर्स सुनसरी, बढी निर्यात गर्ने महिला उद्योगीमा फेसन क्राफ्ट सामाखुसीलाई यो सम्मानको प्रस्ताव गरिएको छ ।
यसैगरी, चीनतर्फ निर्यातमा युनाइटेड ट्यानरिज सुनसरी र न्यू इसा इन्टरप्राइजेज काठमाडौं, हस्तकलामा एभरेस्ट फेसन काठमाडौं र कृषिजन्यमा झापाको निर्मल स्टोरलाई सीआईपी सम्मानको प्रस्ताव गरिएको छ ।
दी सांग्रिला कार्पेट एन्ड हयान्डीक्राफ्ट इन्डस्ट्री, पल्स फेसन सोलुसन प्रालि, नेचर निट प्रालि, त्रिवेणी दाल तथा तेल उद्योग, एसियन लेदर इन्डस्ट्रिज पनि सीआईपी सम्मानका लागि प्रस्तावमा परेका छन् ।
डाबर नेपाल प्रालि र आरती स्ट्रिप्सलाई भारतमा सबैभन्दा बढी निर्यात गर्ने सूचीमा सीआईपी सम्मानको सिफारिसमा परेका छन् ।
वस्तुगत संगठनतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल गलैँचा निर्यातकर्ता संघ, केन्द्रीय गलैँचा उद्योग संघ, तयारी पोशाक उद्योग संघ, नेपाल पश्मिना संघ, नेपाल हस्तकला महासंघ, नेपाल महिला उद्यमी महासंघलाई सीआईपी सम्मानका लागि सिफारिस गरिएको छ ।
के हो सीआईपी सम्मान ?
यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरुलाई सम्मान र कदर प्रदान गर्ने गरिएको छ ।
सीआईपी सम्मान प्राप्त गर्ने व्यक्तिले भीआईपीसरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट तथा र भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउँछन् ।
कालो सुचीमा परेको, कर्जा सुचना केन्द्रको कालो सुचीमा परेको, फौजदारी अभियोगमा दोषी प्रमाणित भएको, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न भएको, सरकारलाई बुझाउन पर्ने कर वक्यौता रहेको व्यक्ति तथा संस्था सीआईपी सम्मानका लागि योग्य ठहरिँदैनन् ।
सीआईपी सम्मानका लागि प्रस्तावित व्यक्ति तथा संस्थाहरू
प्रतिक्रिया 4