
२० साउन, सुर्खेत । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पाइलट लामा काठमाडाैं जोरपाटीका हुन्, भने को-पाइलट शाह दाङ तुलसीपुरका हुन् ।
पाइलटले कर्णालीमा हाम्फालेर ज्यान जोगाए
चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ । हाल दुबैको अवस्था सामान्य छ। घाइते दुबैजनालाई सिम्रिक एयरको हेलिकप्टरद्वारा जिल्ला अस्पताल हुम्ला लगिएको थियो । दुवैको हुम्लामा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
डिआइजी माधवप्रसाद नेपालका अनुसार सिमीकोटबाट उडेको १०/१५ मिनेटमै विमानमा खरावी आएको थियो । विमानलार्इ पुनः सिमीकोट फर्काउने काेसिस गरेपनि समय अपुग हुने भएपछि पाइलटले फोर्स ल्याण्डिङको बिकल्प रोजेका थिए ।
कर्णाली किनारमा फोर्स ल्याण्डिङ गराउने क्रममा पाइलट दुर्इजना नदीमा हाम्फालेका थिए । तत्काल उनीहरूलार्इ हेलिकप्टरबाट उद्दार गरिएको थियो ।
प्रतिक्रिया 4