१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रसम्वद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको नेतृत्वमा आकांक्षीहरुबीच सहमति हुन सकेको छैन । यसले नेतृत्व आकांक्षी नै नभएका व्यक्तिमा जाने देखिएको छ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पम्फा भुसाल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा लगायतलाई बोलाएर संगठनको नेतृत्व सहमतिमै महेश्वर दाहाललाई दिन निर्देशन दिएका छन् ।
माओवादी नेता समेत रहेका दाहालले पनि आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । बादलसँगै पार्टी एकीकरणमा मिसिएका उनी क्रान्तिकारी पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुन् ।
नेतृत्वमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, गोविन्द रोका ‘सचिन’लगायतले दावी गर्दै आएका छन् । अध्यक्ष पदमा आकांक्षीहरु धेरै भएपछि सहमति जुट्न सकेको छैन ।
आकांक्षीहरुलाई बोलाएर छलफल गरेका माओवादी अध्यक्ष प्रचण्डले आजै बन्दसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बन्दसत्रको हलले चुनाव गरेर नयाँ नेतृत्व चयनको माग गरेकाले प्रचण्डले यसबारे सम्झउने बताइएको छ ।
बिहीबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले गएराति बिधान र आर्थिक प्रतिवेदन पारित गरेको थियो । महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
प्रतिक्रिया 4