२० पुस, काठमाडौं । सुशासन कायम गराउने जिम्मेवारीमा रहेका सरकारी कार्यालयका प्रमुखहरुले मौका पर्दा कतिसम्म आर्थिक घोटाला गर्न तयार हुन्छन् भन्ने कुरालाई नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहताले सावित गरिदिएका छन् ।
मेहताले संस्थानको महाप्रवन्धकको रुपमा रहँदा संस्थानको जग्गा भाडामा लगाउँदा मात्रै करिब १ करोड आर्थिक घोटाला गरेको खुलासा भएको हो । मेहताले सार्वजनिक सम्पत्ति व्यक्तिको स्वार्थमा मिलाइदिए वापत आर्थिक लाभ प्राप्त गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले संस्थानका नाममा रहेको विभिन्न ठाउँका जग्गा मेहताले गैरकानुनी रुपमा भाडामा लगाएको निष्कर्ष निकाल्दै उनलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको छ ।
प्रतिवेदनको अन्तिम खण्डमा भनिएको छ, ‘महाप्रवन्धकको गल्ती र कमजोरी सच्याउन त सकिँदैन, तर भविश्यमा यस्तो गल्ती दोहोर्याउन नदिन उनीमाथि कानुनबमोजिम हदैसम्मको कारवाही गर्नु मानसिव हुन आउँछ ।’
प्रतिवेदनमा थप भनिएको छ, ‘माथि औंल्याइएको कैफियतले अनियमितता भएको प्रष्ट हुन्छ, त्यसको विस्तृत छानविन गर्न ‘ओभरसाइट एजेन्सी’लाई दिई कारबाही गर्न सिफारिस गरिन्छ ।’
उनीमाथि परेका विभिन्न ६ वटा उजुरीमाथि भएको छानविनमा हरेक घटनामा मेहताले गम्भीर त्रुटी गरेको भेटिएको हो ।
संस्थानको जग्गा व्यक्तिको चंगुलमा
महाप्रवन्धक मेहताले ०६७ जेठ १६ गते नेशनल ट्रेडिङको रामशाहपथस्थित २५ रोपनी खाली जग्गा ३३ बर्षका लागि ५१ करोड ३० लाखमा भाडामा लगाएका थिए । तत्कालिन सम्झौता अनुसार भाडामा लगाएको उक्त जमीनमा कच्ची संरचना बनाउन पाउने उल्लेख थियो । तर, भाडा लगाउँदा प्रक्रिया मिचिएको भन्दै लेखा समितिले सोही बर्ष जेठ २३ गते नियम मिचिएको भन्दै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो ।
तर, मेहताले जग्गा भाडामा लिएको कम्पनी इन्फ्रिनिटी इन्फ्रास्ट्रक्चर प्रा.लिलाई ०७२ मा सोही जग्गाबाट ७ करोड बैंक ज्ञारेण्टीका लागि स्वीकृत दिए । त्यस्तै उनले सरकारले कानुनी प्रक्रिया मिचिएको भनेर रोक्का गरेको ठेक्कामा थप निर्णय नगर्दै ०७० पुसमा टिप्पणी उठाएर स्वीकृत गरी जग्गा प्रयोग गर्न दिए ।
यस्तै मेहताले सुरुमा उक्त जग्गामा कच्ची भवन बनाउन भाडा स्वीकृति दिएका थिए । तर, पछि थप कमिशन लिएर कच्ची भवन बनाउने सम्झौता रद्द गरी पक्की भवन बनाउने सम्झौता गरेको आरोप उनीमाथि लागेको छ ।
जग्गा भाडामा उपलब्ध गराइदिएवापत उनले उक्त व्यक्तिसँग लाखौँ आर्थिक लाभ लिएको छानविनले देखाएको हो
जग्गा भाडामा लगाउन कीर्ते ?
यस्तै महाप्रवन्धक सत्यनारायण मेहताले नेशनल ट्रेडिङ पोखराको खाली जग्गा भाडामा लगाउँदा समेत गलत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उनले लाखौँ रुपैँया कमिशन लिएर गैरकानुनी रुपमा उक्त जग्गा १० बर्षका लागि भाडामा लगाएको पाइएको हो ।
उनले नेशनल ट्रेडिङ पोखराको उक्त जग्गा भाडामा लगाउँदा सार्वजनिक सूचना जारी नगरेको र सञ्चालक समितिबाट समेत निर्णय नगराई मिलोमतोमा जग्गा भाडामा लगाएको प्रतिवेदनमा उल्लेख छ । उनले गोरखापत्रमा सूचना प्रकाशित गरी टेण्डर प्रक्रियाबाट भाडामा लगाएको भनी किर्ते कागज बनाएको पाइएको छ ।
सतर्कता केन्द्रले छानविन गर्दा उनले कुनै पनि प्रक्रिया नअपनाई जग्गा भाडामा लगाएको पाइएको हो । तर, उनले गोरखापत्रमा सार्वजनिक सूचना निकालेको, सबैको रोहबरमा टेण्डर खोलेको र संचालक समितिबाट निर्णय गराएर भाडामा लगाएको बताएका थिए । तर, छानविनमा उनले कुनै पनि प्रक्रिया पूरा नगरी गैरकानुनी रुपमा जग्गा भाडामा लगाएको समितिले छानविन गर्दा पाइएको हो । यसरी जग्गा भाडामा उपलब्ध गराइदिएवापत उनले उक्त व्यक्तिसँग लाखौँ आर्थिक लाभ लिएको छानविनले देखाएको हो ।
पाइला-पाइलामा कमिशन ?
यस्तै महाप्रवन्धक मेहताले रामशाह पथस्थित ड्राइभिङ इन्स्टिच्युटका लागि जग्गा भाडामा लगाउँदासमेत अनियमितता गरेको पाइएको हो । उनले उक्त जग्गा ड्राइभिङ इन्स्टिच्युटका लागि दिए पनि पछि पुनः पार्टी प्यालेससमेत सञ्चालनका लागि अनुमति दिएका हुन् । सुरुमा ड्राइभिङ इन्स्टिच्युटका लागि सम्झौता भए पनि थप आर्थिक लाभपछि उनले गोप्य तरिकाले सम्झौता सच्याएर पार्टी प्यालेस समेत सञ्चालन गर्न दिएको पाइएको हो ।
प्रतिवेदनमा यसबारे भनिएको छ, ‘टेण्डर फारममा उल्लेख भएबमोजिमको कार्य ड्राइभिङ इन्स्टिच्युट सञ्चालन नगरी पार्टी प्यालेस सञ्चालन गरेको देखियो । र, यसमा संस्थानले त्यो कार्य रोक्नलाई पत्र काटे पनि त्यस सम्वन्धमा कुनै ठोस निर्णय गरेको देखिँदैन । र, पछि त्यही कार्य स्वीकृत भएको देखिन्छ । यसरी गोप्य रुपमा पार्टी प्यालेस सञ्चालन गर्न दिनुको आशय के हो ?’
यसैगरी मेहताले नेशनल ट्रेडिङस्थित टेकुको खाली जग्गासमेत गैरकानुनी रुपमा पाँच वर्षका लागि पार्टी प्यालेस सञ्चालन गर्न भाडामा लगाएका छन् । उनले आफु मातहतको कर्मचारीलाई जानकारी नै नदिई उक्त ५ रोपनी संस्थानको जग्गा गोप्यरुपमा सम्झौता गरेर दिएको छानविन समितिको निष्कर्षले देखाएको छ । यसरी भाडामा लगाउँदा टिप्पणी उठाउनेदेखि निर्णय प्रक्रियामा समेत उनको संलग्नता रहेको छानविनले देखाएको छ ।
छानविन समितिले महाप्रवन्धक मेहतालाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सिफारिस गरेको छ
विमानस्थलभित्र समेत बाँकी राखेनन्
अन्तर्राष्ट्रिय विमानस्थलभित्र ड्युटी फ्री पसल सञ्चालन गर्दा समेत मेहता अनियमिततामा संलग्न भएको प्रतिवेदनले देखाएको छ । उनले उक्त पसल सञ्चालनका लागि बोलपत्र आहृवानपछि सरोकारवालाको रोहवरमा मात्र वोलपत्र खोल्नु पर्नेमा त्यस्तो नपाइएको हो ।
यस्तै ठेक्का पार्ने अभि स्टोरसँग आर्थिक लेनदेनका आधारमा सम्झौता गरेको पाइएको प्रतिवेदनको ठहर छ । यस्तै उनले सञ्चालक समितिबाट ठेक्का स्वीकृत नगराएर आफु एक्लैले ठेक्का स्वीकृत गरेका छन् ।
छानविन समिति भन्छ, हदैसम्मको कारबाही होस्
छानविन समितिले महाप्रवन्धक मेहतालाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सिफारिस गरेको छ । उनको लापरवाही र कानुन उल्लंघनले देशले ठूलो आर्थिक अनियमितता व्यहोरेको छानविन समितिको ठहर छ । यस्तै उनले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का नलगाएर कानुनभन्दा माथि बसेर निर्णय लिएको छानविन समितिको ठहर छ । छानविन समितिले सत्यनारायण मेहतामाथि थप छानविन गरेर कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कारवाही गर्न अख्तियारमा सिफारिस
सतर्कता केन्द्रले नेशनल ट्रेडिङका महाप्रवन्धक मेहता आर्थिक अनियमिततामा संलग्न भएको भेटिएकाले उनीमाथि थप छानबिन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
उनले सार्वजनिक पदमा रहेर संस्था र राज्यको सम्पत्तिको दुरुपयोग गरेर आर्थिक लाभ हासिल गरेको भन्दै हदैसम्मको कारवाहीको सिफारिस गरेको हो ।
त्यो सरासर झूठ प्रतिवेदन होः मेहता
महाप्रवन्धक मेहताले भने छानविन समितिको निष्कर्ष गलत भएको आरोप लगाएका छन् । उनले आफूले हरेक निर्णय प्रक्रिया पुर्याएर गरेको भन्दै प्रतिवेदनमा सत्यता नभएको बताएका हुन् ।
सतर्कता केन्द्रको प्रतिवेदनबारे अनविज्ञता जनाउँदै उनले अनलाइखबरसँग भने, ‘यदि त्यस्तो हो भने त्यो सरासर झुट प्रतिवेदन हो ।’
प्रतिक्रिया 4