+
+

ह्यान्डसम हुँदैमा हिरो भइन्छ त ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ७ गते १४:००


जब कुनै व्यक्तिले दिमागमा ‘हिरो’ भन्ने शब्दको बारेमा सोच्छ, उसको दिमागमा झट्ट के कुरा याद आउँछ होला ? मिलेको जीउडाल, चकलेटी अनुहार यस्तै-यस्तै । कसैले तस्बिर सामाजिक संजालमा राख्यो वा आकर्षक पहिरनमा देखियो भने धेरैले भन्छन्, ‘हिरो देखिएको छस्’ । नेपाली समाजमा ‘हिरो’को बारेमा यस्तै यस्तै कुराहरु सोचिन्छन् ।

‘हिरो’ भन्ने वित्तिकै अधिकांश मानिसहरु पर्दामा देखिने नायकको अनुहार संझन्छन् । हामी, आज यहाँ तिनै हिरोहरुको बारेमा कुरा गर्दैछौ, जो पर्दामा देखिएका हुन्छन् र दर्शकको नजरमा सेलिव्रेटी बन्छन् ।

नेपाली दर्शकको मानसपटलमा अहिले हिरो हुनेवित्तिकै ह्यान्डसम हुनुपर्छ भन्ने सोचाई बदलिदै छ । हिरोको सिक्स प्याक, चट्ट मिलेको अनुहार हुनुपर्छ भन्ने सोचाई पनि बदलिएको छ ।

अहिले, पर्दामा ठूलो पेट देखिने, ठिकै अनुहार भएका कलाकार पनि चम्किएका छन् । सायद, दर्शकको चलचित्र हेर्ने नजर बदलिएको आभाष यसबाट पनि गर्न सकिन्छ ।

नायक अनमोल केसीलाई अनुहार राम्रो भएकै कारण चलेका हुन् भन्ने पनि छन् । लगातार ४ वटा चलचित्र हिट दिएका अनमोलको अभिनय नभएको, चलकेटी अनुहारले नै बजारमा चम्किएको आरोप लगाइने गरिएको छ । तर, साच्चै के ह्यान्डसम हुँदैमा हिरो भइन्छ त ?

नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै हिरोहरु आए, जो ह्यान्डसम भएर पनि चलेनन् । थुप्रै यूवतीको नजरमा ‘ह्यान्डसम’ मानिएका धेरै पुरुष कलाकारका चलचित्र चलेनन् र उनीहरु यो क्षेत्रबाटै पलायन भए ।

मिलेको जीउडाँल, प्याक्सले सजिएका नायक सविन श्रेष्ठलाई चलचित्र क्षेत्रमा चल्न अझै गाह्रो भैरहेको छ । दर्शकले उनको प्याक्स नोटिस त गरेका छन्, तर उनको काम अझै नोटिस हुन पाएको छैन । सविन चलचित्र ‘हिरो रिटन्र्स’बाट आफ्नो प्याक्स र अभिनय दुबै दर्शकले हेर्न पाउने बताउँछन् ।

नायक सुमन सिंह पनि चलचित्र क्षेत्रमा असफल भए । उनलाई पनि चलचित्र क्षेत्रका ह्यान्डसम नायक भनिन्थ्यो । सुमनले एकसाथ दर्जनौ चलचित्रमा काम गरे, तर खासै सफल हुन सकेनन् । ह्यान्डसम भएर पनि सुमनको जादु लामो समयसम्म चलेन ।

नायक राजवल्लभ कोइरालालाई नै हेरौ । राजको मिलेको अनुहार र जीउडालको चर्चा कसले पो गर्दैनथ्यो र ? चलचित्र ‘पर्खी बसे’बाट नेपाली रजतपटमा डेब्यू गरेका राजवल्लभ अन्तत अमेरिका पुगे । उनी नेपाली चलचित्र क्षेत्रका लागि ‘लक्की’ सावित भएनन् । उनलाई पनि चलचित्रमा चल्न गाह्रो भयो । बाहिर कति ह्यान्डसम भनेर तारिफ बटुलेपनि, तीनै कलाकारको चलचित्र हेर्न दर्शक हलसम्म पुग्दैनन् । यस्ता, उदाहरण नेपाली चलचित्रमा थुप्रै भेट्न सकिन्छ । दयाहाङ राई पनि जिउडालका कारण चलेका होइनन्, राम्रो अभिनयका कारण चलेका हुन् ।

‘होस्टेल रिटन्र्स’मा सिक्स प्याक देखाएर चर्चामा आएका सुशिल श्रेष्ठ भन्दा सोहि चलचित्रमा मन छुने अभिनय गरेका नाजिर हुसेन, अहिले सबैभन्दा बढी व्यस्त छन् ।

हिरो ‘ह्यान्डसम’ हुँदैमा चलचित्र चल्दैन भन्ने उदाहरण नेपाली चलचित्रमा मात्र होइन, बलिउडमा पनि थुप्रै देख्न सकिन्छ । अनमोल केसी पछि नै आएका धेरै नयाँ अनुहारहरुको चर्चा त खुबै छ । तर, उनीहरुले न त चर्चा पाएका छन् न त गतिलो काम नै गरेका छन् । नेपाली चलचित्रको बजार प्रतिस्पर्धात्मक बन्दै गएको छ । अहिले, ह्यान्डसम हिरो भन्दा पनि अभिनय राम्रो गर्न सक्ने हिरोको जमाना छ ।

यसैले, अब एउटा कुरा पक्का के छ भने, ‘ह्यान्डसम हुँदैमा फिल्म चल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?