३० बैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिका प्रमुखका एमाले उम्मेद्वार नवराज ओझा र सोही गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्षका एमाले उम्मेद्वार टेकबहादुर गुरुङले माओवादी महिला उम्मेद्वार कुटिएको घटनामा आफूहरुको संलग्नता नरहेको बताएका छन् ।
ओझा र गुरुङले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी रुपा गाउँपालिका वडा नम्बर ५ की माओवादीकी महिला उम्मेद्वार पदमा क्षेत्री गुरुङमाथी भएको कुटपीटमा आफूहरुको कुनैपनि संलग्नता नरहेको बताएका हुन् ।
यसअघि पीडित महिला उम्मेद्वार गुरुङले आफूमाथी आफ्नै जेठाजु टेकबहादुर गुरुङ र एमाले गाउँपालिका प्रमुखका उम्मेद्वार ओझाको निर्देशनमा आफूमाथी श्रीमानले कुटपीट गर्दै मार्ने प्रयास गरेको बताएकी थिइन् ।
(यो समाचार पढ्नुहोस्- चुनावमा लोग्नेस्वास्नीको झगडाः श्रीमानले कुटे महिला उम्मेदवार)
पत्रकार सम्मेलनमा बोल्दै ओझाले पारिवारिक घटनालाई राजनीतिक रङ दिएर चुनावमा मतदाता प्रभावित पार्न खोजेको आरोप लगाए ।
त्यस्तै टेकबहादुर गुरुङले पनि राजनीतिक आक्रमण स्वरुप आफूमाथी आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरे । उनले पारिवारिक घटना जसकोमा पनि हुने भन्दै यसलाई राजनीतिसँग जोड्न नहुने बताए ।
उनले पद्माले भनेजस्तो उनको श्रीमान यामबहादुर र आफू सहोदार दाजुभाइ नभई हजुरबाहरु दाजुभाई भएको बताए । उनले भने, ‘नाताले भाइ पर्ने यामबहादुरले दाजुलाई सहयोग होस् भन्ने लागेर उम्मेद्वारी फिर्ता लिन भनेको भए उसले आफैले जानोस् नत्र मैले त्यस्तो भन्न पनि लगाएको छैन ।’
पीडित महिला उम्मेद्वार पद्माले भने आफूलाई उम्मेद्वारी फिर्ता लिन दबाव दिँदै कुटपीट भएको बताउँदै आएकी छन् । कुटपीटबाट पद्माको टाउको फुटेको छ भने दाहिने हात भाँच्चिनुका साथै घाँटीमा समेत दाग लागेको छ । उनको पोखराको फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4