३० जेठ,काठमाडौं । दोलखाको जुँगु हत्याकाण्डले नयाँ मोड लिएर डिएसपी हेडक्वार्टर तानिएकै भोलिपल्ट पीडित परिवारले काठमाडौंमा आएर न्याय मागेका छन् ।
चुनावी झडपका क्रममा माओवादीबाट मारिएका कुलबहादुर तामाङका परिवारले मंगलबार पत्रकार सम्मेलन गरि अदालतले पनि पहुँच नहुनेलाई अन्याय गरेको बताए ।
कुलबहादुरकी पत्नी साङमाया तामाङले मान्छेको मृत्युलाई राजनीतिक पहुँचका आधारमा दबाउने प्रयास भइरहेको भन्दै जुँगु हत्याकाण्डका अभियुक्तलाई कारवाहीको माग गरिन् ।
सरकारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खडका र बिशाल खडकासहित ४० जना अभियुक्तलाई पक्राउ नगरेको र जिल्ला अदालत दोलखाका न्यायाधीशले आक्रमणमा संलग्न रहेको साविति बयान दिँदासमेत साधारण तारेखमा छाडेपछि न्यायको खोजीमा काठमाडौं आइपुगेको उनले बताइन् ।
कुलबहादुर पत्नी साङमाया आफ्ना नाबालक छोराछोरीसहित न्यायको खोजीमा सिंगो परिवारका साथ काठमाडौं आइपुगेकी हुन् ।
उनको साथमा कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगिता तामाङ, छोरा अशोक तामाङ, भाईहरु कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन । उनीहरुले परिवारको तर्फबाट न्यायका लागि अपिलसमेत गरेका छन ।
पीडित परिवारले न्यायको सवै ढोका ढकढक्याउने जनाई कतैबाट न्याय नपाएमा सामुहिक आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । ‘सरकार, अदालत सवैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्न बाध्य हुनेछौं’ उनले भनिन् ।
वैशाख २६ गते राती जुँगुको निलकण्ठेश्वर उच्च माबिको चउरमा कुलवहादुरको हत्या भएको थियो । उनका पिता गोरे तामाङ एमालेबाट वडा सदस्यका उम्मेदवार थिए । कुलवहादुर एक महिनाअघिमात्र माओवादीबाट एमाले प्रवेश गरेका थिए ।
जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्डि्रज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालतले साधारण तारेखमा छोडेको छ ।
पीडित परिवारले जिल्ला अदालतको आदेशबिरुद्ध सवै प्रकारको कानूनी उपचार खोज्ने भन्दै न्यायाधीश विरुद्ध न्यायपरिषदमा उजुरी गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4