काठमाडौं । कवि सीमा आभासको कविताकृति ‘म स्त्री अर्थात् आइमाई’ ले खेमलाल प्रतिभा पुरस्कार पाउने भएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनका संस्थापक एवम् एनआरएन संरक्षक जीबा लामिछानेद्वारा स्वर्गीय पिता खेमलाल लामिछानेका नाममा स्थापित पुरस्कार सो कृतिका सर्जकलाई दिने घोषणा गरिएको हो ।
चितवन साहित्य परिषद्ले गठन गरेको पुरस्कार निर्णय उपसमितिको बैठकले सो पुरस्कारबारे निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार आउँदो असार २९ गते भानु जयन्तीको दिन अर्पण गरिने परिषद्ले जनाएको छ ।
खेमलाल प्रतिभा पुरस्कार यसअघि ‘शूपर्णखा’ खण्डकाव्यका लागि कवि गोविन्दराज विनोदी र ‘इरेजर’ निबन्धसङ्ग्रहका लागि बलराम अधिकारीले प्राप्त गरेका थिए ।
मूलत: कविता विधामा सक्रिय सीमा कथा पनि लेख्छिन् । उनका यसअघि ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रह (०६३) र ‘टापुका स्वरहरु’ कथासङ्ग्रह (०६६) प्रकाशन भइसकेको छ ।
प्रतिक्रिया 4