+
+
पुस्तक :

आफ्नो भाषामा किताब लेख्नु किन महत्वपूर्ण छ ?

जापानीहरूले मेइजि युग (१५० वर्ष जति अगाडि) तिर विदेशबाट थाहा पाएका नयाँ शब्द र विचारहरूलाई जापानी भाषाका आफ्नै शब्दहरूमा अनुवाद गरेका छन्। यसले गर्दा विद्यार्थीले विदेशमा उत्पादन भएको ज्ञान आफ्नै भाषामा ग्रहण गर्ने अवसर पाउने गरेका छन्। तर, नेपालमा विद्यार्थीलाई अंग्रेजी भाषा आवश्यक पर्ने रहेछ जस्तो मलाई लागेको छ।

चिहिरो कावागुची चिहिरो कावागुची
२०८१ भदौ २९ गते ९:४०

सुरेश ढकालको नयाँ प्रकाशित पुस्तक ‘इतिहासअघिको इतिहास’बारे म यहाँ मेरा केही धारणाहरू राख्न चाहन्छु। मेरा कुरालाई म मुख्य दुई दृष्टिकोणबाट यहाँ राख्नेछु। पहिलोचाहिं मातृ भाषामा पढ्ने अधिकार र मौकाको बारेमा, अनि दोस्रोचाहिं सिकारी युगका महिलाहरू बारेमा। यो पुस्तकलाई पूर्ण रूपमा बुझ्नसक्ने मेरो क्षमता नभए पनि यो नेपाली भाषामा प्रकाशित हुनु महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ।

मैले शब्दकोश प्रयोग गरेर बुझेको कुराबाट मेरो विचार व्यक्त गर्छु। यो पुस्तक नेपाली भाषामा प्रकाशित हुनु किन महत्वपूर्ण हो भने नेपाली विद्यार्थीका लागि आफ्नो मातृभाषामा मानवशास्त्र र समाजशास्त्र जस्तो विषयमा पढ्ने पुस्तक पर्याप्त छैनन् जस्तो देखिन्छ।

हामीले जापानमा मानवशास्त्रबारे सिक्न थालेको बेलामा जापानी भाषाकै किताब पढेर मुख्य कुरा बुझ्न सक्यौं। अनि मुख्य विदेशी मानवशास्त्रीहरू र समाजशास्त्रीहरूका पुरानो किताबहरू पनि जापानी भाषामै पढ्न सक्यौं। आफ्नो अध्ययनको लागि विशेष थेसिस पढ्ने वेलामा अंग्रेजीमा पनि पढ्नुपर्छ तर पढ्न थाल्दा आफ्नो भाषामा पढ्ने मौका जापानमा धेरै छ।

जापानीहरूले मेइजि युग (१५० वर्ष जति अगाडि) तिर विदेशबाट थाहा पाएका नयाँ शब्द र विचारहरूलाई जापानी भाषाका आफ्नै शब्दहरूमा अनुवाद गरेका छन्। यसले गर्दा विद्यार्थीहरूले विदेशमा उत्पादन भएको ज्ञान आफ्नै भाषामा ग्रहण गर्ने अवसर पाउने गरेका छन्।

तर, नेपालमा अध्ययन गर्ने विद्यार्थीलाई अंग्रेजी भाषा आवश्यक पर्ने रहेछ जस्तो मलाई लागेको छ। बुबाआमाहरूले आफ्ना छोराछोरीलाई सानैदेखि अंग्रेजी भाषामा मात्र पढाइ हुने स्कुलमा पठाउने भएकाले उनीहरूले अंग्रेजी भाषामै संसारका सबै कुरा बुझ्न सुरु गर्छन्। यसले गर्दा विस्तारै विस्तारै नेपाली भाषाको महत्व बिर्सिंदै गएर अंग्रेजी नै महत्वपूर्ण मानिने अनि अंग्रेजीमा बोल्न नसक्नेलाई सानो मान्छे जस्तो व्यवहार गर्न थालिन्छ। ठूलो भएपछि पनि अंग्रेजी चाहिं महत्वपूर्ण भाषा हो भनेर विचार गरेर काम गर्छन् जस्तो मलाई लग्यो।

इन्डोनेसिया सरकारले टोकियोमा बस्नै गैरआवासीय इन्डोनेसियालीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिइरहेको छ। नेपाल सरकारले पनि गैरआवासीय नेपालीका छोराछोरीलाई मातृभाषामा नि:शुल्क शिक्षा दिनेबारे विचार गर्नुपर्छ

यसमा पनि मैले देखेका तीन पक्ष वा तीन किसिमका विद्यार्थी छन्। पहिलो कुरा त सबै विद्यार्थीले अंग्रेजीमा पढ्न पाउँदैनन्। राम्रो अंग्रेजी स्कुलमा छोराछोरी पढाउनलाई धेरै पैसा लाग्छ। त्यो खुबी सबै जनाको हुँदैन। अनि अंग्रेजीमै पढाउने स्कुल पनि सबै उस्तै छैनन्। स्थान अनुसार स्कुलको स्तर पनि फरक हुन्छ। अनि अर्को कुरा चाहिं नेपालमा विभिन्न किसिमका जात र समुदायहरू छन्। जनजातिका साथै मैथली, भोजपुरी र अवधी बोल्ने मानिसहरू छन् जसको नेपाली भाषा मातृभाषा होइन, दोस्रो भाषा हो। उनीहरूले अंग्रेजी मात्र सिकेर मात्रै पुग्दैन, नेपाली पनि सिक्नुपर्छ। त्यसैले एउटा भाषा सिके पुग्ने र दुइटा भाषा सिक्नुपर्नेको बराबरी हुँदैन। अनि मैले अघि भनेको जस्तो सबै जनासँग अंग्रेजीमा पढ्न सक्ने मौका छैन। त्यसैले मेरो विचारमा अंग्रेजी केन्द्रित शिक्षाले सामाजिक असमानता र समस्याहरू समाधान गर्दैन।

दोस्रो कुराचाहिं आफ्नो मातृभाषा राम्रोसँग बोल्नुभन्दा अगाडि अंग्रेजी जस्तो अर्को भाषामा सिक्न थालेको बच्चाहरूलाई डबल लिमिटेड/सेमी लिंग्वेल हुन सक्छ भन्ने कुरा हो। किनभने मातृभाषामा, अनि दोस्रो भाषामा पनि सोच्ने र अभिव्यक्त गर्ने क्षमता पुग्दैन जस्तो संज्ञानात्मक क्षमताको समस्या हो। अहिले जापानमा बस्ने १ लाख ५० हजार जति नेपालीका छोराछोरीलाई पनि आफ्नो मातृभाषामा पढ्ने मौका जापानी सरकारले दिनुपर्छ भन्ने मेरो विचार छ।

जापान मात्र होइन, विदेशमा काम गर्ने आफ्नो देशका नागरिकलाई गुणस्तरीय शिक्षा मातृभाषामा दिनु नेपाल सरकारको पनि दायित्व हो। नेपाल सरकारले गैरआवासीय नेपालीहरूबाट आफ्नो देशमा लगानी हुन्छ भन्ने आशाले एक वर्षअघि नागरिकता ऐन संशोधन गरेको हो जस्तो देखिन्छ। वास्तविक रूपमा नेपालको जीडीपीको २५ प्रतशित बराबर धन विप्रेषणबाट आएको छ।

चिहिरो कावागुची

तर, गैरआवासीय नेपालीहरू केवल पैसा पठाउने मान्छे मात्र होइनन्। उदाहरणका लागि इन्डोनेसिया सरकारले टोकियोमा बस्ने गैरआवासीय इन्डोनेसियालीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिइरहेको छ।

नेपाल सरकारले पनि गैरआवासीय नेपालीका छोराछोरीलाई मातृभाषामा नि:शुल्क शिक्षा दिनेबारे विचार गर्नुपर्छ। अनि दोस्रो कुरा, दोस्रो भाषा सिक्नका लागि आफ्नो मातृभाषामा सिपालु भएपछि पनि ढिलो हुँदैन भन्ने तथ्य केही नयाँ अध्ययनहरूले देखाएका छन्।

‘बार्सिलोना एज फ्याक्टर प्रोजेक्ट’ नामक प्रख्यात रिसर्चमा संज्ञानात्मक क्षमताको कारण सानो उमेरका बच्चाहरू भन्दा ठूलो उमेरका केटाकेटीहरूले छिटै राम्रोसँग दोस्रो भाषा सिके भन्ने कुरा आयो। तर, मातृभाषाको जस्तो उच्चारण गर्न गाह्रो हुन्छ।

मेरो कुरा सुन्ने मान्छेहरूले जापान जस्तो विकसित देशमा पो मान्छेहरूले आफ्नै मातृभाषामा पढेर पनि पैसा कमाउन सक्छन् अर्को भाषा आवश्यक पर्दैन तर नेपालको अवस्था त फरक छ नि भनेर सोच्नुहुन्छ होला। यसबारेमा मैले भन्न खोजेको कुरा चाहिं यस सन्दर्भमा अलि व्यापक कुरा हो ।

यो संसारमा अहिलेसम्म भाषिक साम्राज्यवादको प्रभाव धेरै ठूलो छ। किन अहिले विश्वभर अंग्रेजी भाषाको उपस्थिति धेरै ठूलो छ ? बेलायतको उपनिवेशवादको इतिहास, अनि पूँजीवादको बलमा ठूलो भएको अमेरिकाको प्रभावको कारणले अहिलेसम्म अंग्रेजी मातृभाषा बोल्नेको प्रभाव ठूलो छ। उनीहरूले संसारमा जहाँ गए पनि काम पाउन सक्छन्। अनि उनीहरू अध्ययन संस्थानका पनि केन्द्रमा छन्। तर, अरू देशका मान्छेले त्यो शक्ति र अवसर पाउँदैनन्। यस्तो किन भएको हो भने यो संरचना युद्धमा जितेर उपनिवेश कायम गरेकाहरूले बनाएकाले गर्दा भएको हो।

हामी अहिलेसम्म त्यही संरचना, ढाँचामा बसिरहेका छौं। भाषा आफैंमा बलियो वा कमजोर भन्ने हुँदैन, त्यसमा तलमाथि छैन। तर, जितेको वा बलियो मान्छेको इतिहासले त्यस्तो बनायो। मान्छे, देश वा संस्कृतिको शक्ति अनुसार भाषाको शक्ति निर्धारण हुन पुग्यो।

आजकलको मुख्य भाषा अथवा मुख्य इतिहास पनि शक्ति भएकाहरूकै हो जस्तो देखिन्छ। त्यसलाई परिवर्तन गरेर नयाँ बनाउनका लागि महिला, आदिवासी अथवा विभिन्न समुदायका मान्छेहरूले आफ्नो भाषामा थेसिस र किताब लेख्नुपर्छ अनि प्रकाशित गर्नुपर्छ भन्ने मलाई लाग्छ

त्यस्तो संसारको संरचनालाई परिवर्तन गरेर अथवा आफ्नो संस्कृति, समाज र चलनको बारेमा अर्को युगको मान्छेहरूलाई सिकाउनको लागि आफ्नो मातृभाषामा पुस्तक प्रकाशित गर्ने काम धेरै महत्वपूर्ण हो भन्ने मलाई लाग्यो। त्यसैले मलाई सुरेश ढकालले लेख्नुभएको यो किताब, मार्टिन चौतारीले प्रकाशन गर्ने समाज अध्ययन पत्रिका अथवा मेरा थारू साथीहरूले थारू भाषामा गर्नुभएको संविधानको अनुवाद, यी सबै एकदमै महत्वपूर्ण कदम हुन् जस्तो लाग्यो।

अन्तिममा म यो पुस्तकको लैङ्गिक अध्ययन अनुसारको अध्याय बारे पनि कुरा गर्न चाहन्छु। यो अध्यायमा शिकारी युगको इतिहासमा महिलाहरूको भूमिका महत्वपूर्ण थियो भनिए पनि इतिहासमा यस पक्षबारे किन त्यत्ति धेरै लेखिएको छैन भन्ने कुरा उठाइएको छ। महिलाहरू साँच्चिकै कमजोर थिए कि इतिहास लेख्ने पुरुषहरूले कमजोर बनाए भन्ने प्रश्न लेखकले उठाउनुभएको छ। अहिले पितृसत्ता भयो भन्दैमा सधैं त्यही थियो भन्ने होइन भन्ने पनि यहाँ लेखिएको छ।

अनि त्यसपछाडि, ‘शिकारी युग भनिनु केवल शब्दको मात्र कुरा थिएन, यो त शक्ति भएकाहरूले कसरी इतिहास र ज्ञानलाई एकलौटी बनाउँछन् भन्ने उदाहरण थियो’ भनेर पनि पुस्तकमा लेखिएको छ। म यो कुरालाई शतप्रतिशत समर्थन गर्छु। पुस्तकमा शिकारी युग मातृवंशीय भएको हुनसक्ने सम्भावना छ भने पनि पुस्तकमा लेखिएको छ।

त्यसपछि, “मातृ पहिचान सहितको वंश परम्परा पनि हुन सक्छ भन्दा किन त्रसित हुन्छौं हामी ?” भनेर पनि लेखिएको छ। यो कुरा पढेर वंशको आधारमा आमाको नामबाट नागरिकता प्राप्त गर्न खोजिरहेको एकल महिलाहरूले वडा कार्यालयमा अथवा प्रहरीसँगको छानबिनको वेलामा अनुभव गरेको उत्पीडन/ह्यारेसमेन्टको बारेमा याद आयो ।

अहिलेको समाजले पितृसत्ताको आधारमा सधैं बुवाको नाम र श्रीमान्‌को नाम सोध्छ। आजकलको मुख्य भाषा अथवा मुख्य इतिहास पनि शक्ति भएकाहरूकै हो जस्तो देखिन्छ। त्यसलाई परिवर्तन गरेर नयाँ बनाउनका लागि महिला, आदिवासी अथवा विभिन्न समुदायका मान्छेहरूले आफ्नो भाषामा थेसिस र किताब लेख्नुपर्छ अनि प्रकाशित गर्नुपर्छ भन्ने मलाई लाग्छ।

(जापानस्थित क्योटो विश्वविद्यालयमा मानवशास्त्र विषयमा विद्यावारिधि गरिरहेकी चिहिरो कावागुची अनुसन्धानको सिलसिलामा हाल नेपालमा छिन्। नेपाली भाषामा पढ्न, लेख्न रुचि राख्ने उनले भदौ पहिलो साता त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागद्वारा आयोजित मानवशास्त्री सुरेश ढकालको ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ पुस्तक माथिको परिचर्चा कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?