१० असार, बिराटनगर । दोस्रो चरणको मतदानको तिथि नजिकिनै लाग्दा १ नम्बर प्रदेशमा विभिन्न पार्टीका शीर्ष नेताहरुको ध्यान केन्द्रित भएको छ ।
विशेष गरी झापा, मोरङ र सुनसरीका ४४ वटा स्थानीय तहमा कसले आफ्नो पकड बलियो बनाउने भन्नेमा मुख्य दलका नेताहरुको होडबाजी सुरु भएको छ ।
एक नम्बर प्रदेशअन्तरगत तराईका यी ३ जिल्लामध्ये झापामा १५ वटा स्थानीय तह छन् भने मोरङमा १७ र सुनसरीमा १२ वटा स्थानीय तह छन् ।
यस प्रदेशमा एउटा महानगर र दुईवटा उपमहानगरसमेत भएकाले प्रमुख दलको प्रतिष्ठा जोडिएको छ ।
गृहजिल्ला झापामा चुनावी अभियान सकेर राजधानी फर्केका एमाले अध्यक्ष केपी ओली शनिबार मोरङमा विभिन्न सभालाई सम्वोधन गर्दैछन् ।
एमाले अध्यक्ष केपी ओलीले शनिबार मोरङको उर्लाबारी, बेलबारी र बिराटनगरका चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ भने सुनसरीको इटहरीमा पनि ओलीले सम्वोधन गर्ने कार्यक्रम छ ।
त्यसैगरी माओवादी नेता रामबहादुर थापा बादलले पनि मोरङ र सुनसरीका सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । प्रचण्ड पूर्व आउने भनिए पनि उसको साटो बादल आउन लागेका हुन् ।
माओवादी नेता रामहादुर थापा बादलले मोरङको बेलबारी र पथरी शनिश्चरे नगरपालिकाका चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी मोरङका अध्यक्ष गोपी अछामीले अनलाइनखबरलाई बताए ।
माओवादी नेता बादलले आजै धरान र त्यसपछि बिराटनगरका सभालाईसमेत सम्वोधन गर्ने अछामीले बताए ।
त्यसैगरी पूर्वी नेपालको चुनावी अभियानमा रहेका कांग्रेस नेता गगन थापाले आज दमकमा आयोजित चुनाबी सभालाई सम्वोधन गर्दैछन् । पूर्वमन्त्री थापा इलामबाट झापा झरेका हुन् ।
कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल बिराटनगरमा सक्रिय छन् ।
प्रतिक्रिया 4