१६ जुलाई, काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताहरुको संस्था अष्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)ले नेपालमा पहिलोपटक आयोजना गरेको एजुकेशन फेयर सफल भएको छ ।
एक्काले शुक्रबार र शनिवार काठमाडौैंको होटल अन्नपूर्णमा एजुकेसन फेयर आयोजना गरेको थियो ।
जहाँ ठूलो संख्यामा अष्ट्रेलियामा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले परामर्श लिएका थिए ।
‘हाम्रो पहिलो प्रयास नै निकै सफल रह्यो’ एक्काका अध्यक्ष निरज श्रेष्ठले अनलाइनखबरसँग भने-‘सहभागी सबै संस्थाले विद्यार्थीको राम्रो उपस्थिति रहेको भन्दै प्रसन्नता ब्यक्त गर्नुभएको छ ।’
अष्ट्रेलियामै बसेर ब्यबसाय गरिरहेका तथा त्यहाँको ब्यबसायिक जीवनमा सफलता हाँसिल गरिसकेका नेपालीहरुले आयोजना गरेको मेला हुनाले अष्ट्रेलियाको शिक्षा, बसाई तथा आयआर्जनबारे सही सूचना पाइएको सहभागी बिद्यार्थीहरुले बताए ।
मेलामा हालै प्लस टुको परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुको ठूलो सहभागिता थियो ।
उनीहरुले त्यहाँ उपलब्ध कोर्स, आबेदन गर्ने तरिका, बसाइ तथा आम्दानीका बिषयमा चासोपूर्वक सोधीखोजी गरेका थिए ।
सिड्नीमा प्यासिफिक कलेज अफ टेक्नोलोजी सञ्चालन गरिरहेका कलेजका प्रबन्ध निर्देशक प्रदिप ढकालले अष्ट्रेलियामा भबिष्य बनाउन चाहाने स्तरीय बिद्यार्थीहरुलाई परामर्श दिने अबसर पाएको बताए ।
हालै साउदर्न अष्ट्रेलिया कलेज अफ बिजनेस एण्ड टेक्नोलोजीको स्वामित्व लिएका गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष मन केसीले पनि मेला निकै उपलब्धीपूर्ण भएको बताए ।
मेलामा अष्ट्रेलियामा सञ्चालित प्राबिधिक शिक्षालय तथा शैक्षिक परामर्शदाता गरी २० वटा सेवा प्रदायकको स्टल रहेको थियो ।
मेलाको उदघाटन नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले गरेका थिए ।
प्रतिक्रिया 4