१० साउन, बिराटनगर । मोरङको बक्राहा खोलाको तटबन्धनका लागि ठेक्का दिने क्रममा बिराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका कर्मचारीले अनुचित कार्य गरेको पाइएको छ ।
ठेक्का सम्झौतापछि ठेकेदारले काम नगरेजस्तो गर्ने र कर्मचारीले ताकेता गरेजस्तो गर्दै बाढीपीडितका आँखामा छारो हाल्ने काम भइरहेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिराटनगरले हिमालय/निकिता जेभीलाई पथरी शनिश्चरे ५ स्थित जयनगरको तटवन्ध निर्माणको जिम्मा दिएको थियो । १ करोड १४ लाख २९ हजार ५ सय ३१ रुपैयाँमा हिमालय/निकिता जेभीले उक्त ठेक्का लिएको हो ।
ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरी रकम भुक्तानी लिएको छ । कम्पनीले तटबन्धको काम नगरे पनि दुईपटक गरेर ३९ लाख ४६ हजार ८ सय ३८ रुपैयाँ भुक्तानी लिएको देखिन्छ ।
ठेकेदारले काम नगरेको स्थानीय बाढीपीडितहरुले गुनासो गरिरहेकै बेला डिभिजन कार्यालय भने ठेकेदारलाई ५ चोटि ताकेता पत्र पठाएको भन्दै ‘पानीमाथिको ओभानो’ बन्ने प्रयासमा लागेको छ ।
४० प्रतिशत कम मूल्यमा ठेक्का सम्झौता
बाँध निर्माणको टेन्डरमा हिमालय/निकिता जेभीले ४० प्रतिशत कम मूल्यमा निर्माणको ठेक्का लिएको पाइएको छ । यहीँनेर डिभिजन कार्यालयका हाकिमले गडबडी गरेको देखिएको छ ।
जयनगर बाँध निर्माणका लागि कार्यालयले भ्याटसहित न्युनतम १ करोड ९१ लाख ३८ हजार ४ सय ८४ रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । तर, हिमालय/निकिताले भ्याटसहित १ करोड १४ लाख २९ हजार ५ सय ३१ रुयैयाँको निवेदन हालेको देखिन्छ ।
भत्किएको बाँध निर्माणका लागि १३ वटा निर्माण कम्पनीले टेन्डर भरेका थिए । यसमध्ये ४०.२७ प्रतिशत कम रकममा ठेक्का दिएर कर्मचारीले गडबडी गरेको देखिएको छ ।
डिभिजन कार्यालयका प्रमुख डा. देवनारायण यादव कालोसूचीमा परेको कम्पनीलाई कम मूल्यको ठेक्का दिलाएर यतिबेला इटली घुम्न गएका छन् । हिमालय/निकिता विगतमा पनि यसैगरी सिचाइर्ंको ठेक्का लिएर काममा लापार्वाही गरेको कम्पनी हो ।
केराबारी, टाँडी र लेटाङका ढुंगा हराए
ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने निर्माण कम्पनीका प्रतिनिधि विवेश कार्कीले आफूहरुले काम गर्न चाहे पनि पछिल्लो समयमा ढुङ्गा नपाएकाले काम अगाडि बढ्न नसकेको तर्क गरे । तर, मोरङको केराबारी, लेटाङ, टाँडीलगायतका क्षेत्रबाट ढुङ्गा ढुवानी गरेको देखिएको मोरङका निमित्त प्रजिअ पौडेल बताउँछन् ।
आखिर कहाँ गए केराबारी, टाँडी र लेटाङका ढुंगा ? यो अर्को जटिल प्रश्न छ । ठेकेदारले त्यहाँबाट बक्राहाका लागि ढुंगा निकाल्ने अनुमति लिएर अन्यत्रै ढुंगा बिक्री गरिएको हुन सक्ने स्थानीय प्रशासनको आशंका छ ।
मोरङ जिल्ला प्रशासनले केराबारी र लेटाङबाट ढुंगा निकाल्ने इजाजत दिँदा त्यसको बोधार्थ सम्बन्धित स्थानीय तहलाई दिइएको छैन ।
डिभिजन कार्यालयका इञ्जिनियर ललितनारायण यादवका अनुसार ठेकेदार कम्पनीले तार जाली भर्न आवश्यक ढुङ्गा नपाएको बाहनामा कामको गति सुस्त गरेको देखिन्छ । यद्यपि ढुंगा नपाएको बाहाना गरेपछि ठेकेदारलाई तार जाली भर्न आवश्यक ढुङ्गा निकासीका लागि जिल्ला प्रशासन कार्यालयको पहलमा सम्वन्धित निकायमा काटिएको र ढुङ्गासमेत निकासी गरेको देखिन्छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा स्वयं ठेकेदार र सरोकारवाल निकायवीचको छलफल गरी जाली भर्न आवश्यक ढुङ्गा ढुवानीका लागि जेष्ठ ३ गते अनुमति प्रदान गरिएको देखिन्छ ।
हेर्नुहोस् इजाजत पत्र
स्थानीय प्रशासनको चासो
यसैवीच जयनगरको बाँध निर्माणको ठेकेदार कम्पनीले गरेको लापरवाहीका बारेमा स्थानीय प्रशासनले चासो देखाएको छ । सम्झौता भएको समयसीमा सकिँदा पनि काम नभएको समाचार सार्वजनिक भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले यसबारेमा चासो राखेका हुन् ।
पौडेलले जल उत्पन्न प्रकोप डिभिजन कार्यालयमा निमित्त प्रमुख अशोक कर्णसँग तटवन्ध निर्माणको कामको प्रगतिबारे जानकारी मागेका छन् ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालका निमित्त प्रमुख अशोक कर्णका अनुसार निर्माण कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न भनी कार्यालयवाट लिखित रुपमा ५ पटकभन्दा बढी पत्राचार गरेको भए पनि उसले निर्माणको काममा अटेर गर्दै आएको छ ।
कारवाहीको साटो उसैलाई काम !
ठेकेदारले बाँध निर्माणमा हेलचेक्र्याइँ गर्दै आए पनि जल उत्पनन प्रकोप डिभिजन कार्यालयले सचेत गराउन बाहेक थप कार्वाही अगाडि बढाएको देखिँदैन ।
जयनगरको तटवन्धका साइट इञ्चार्ज रहेका इन्जिनियर ललितनारायण यादवले ठेकेदारलाई कार्वाही गर्ने भन्दा पनि उसैबाट काम गराउन आफूहरु लागिपरेको जवाफ दिए । यादवले भने- ‘ठेकेदार कम्पनीसँगको सम्झौता भंग गरी नयाँबाट काम गराउन अब १ वर्ष लाग्छ, त्यसैले अहिलेकै ठेकेदारवाट हारगुहार गरी काम गराउने पक्षमा हामी छौं ।
प्रतिक्रिया 4