२२ असोज, काठमाडौं । ठूलो उत्साहका साथ कम्युनिस्ट एकता गर्ने घोषणा गरेका तीन दल एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचन क्षेत्र निर्धारणको बहस सुरु भएको छ ।
तीन दिनभित्र सिट बाँडफाँट टुंग्याउने म्यान्डेटसहित तीन दलले कार्यदल पनि बनाएका छन् । कार्यदलको पहिलो बैठकले ०७० सालको संविधानसभा चुनाव, हालै सम्पन्न स्थानीय चुनाव, ६०/४० को भागबण्डा र जित्ने आधारमा सिट बाँडफाँट गर्ने तय गर्यो । तर, यसमा ठोस प्रगति हुन सकेको छैन ।
कार्यदलका एक सदस्यले भने, ‘एमाले र माओवादी साथीहरु तथ्यांक संकलन गर्दै हुनुहुन्छ ।’
माओवादीका एक नेता भने यो निकै कठीन र झण्झटिलो प्रक्रिया भएको बताउँछन् । उनका अनुसार सिट बाँडफाँट टुंगो लाग्न अझै केही दिन लाग्नसक्छ ।
छलफलहरुमा नयाँशक्ति पार्टीले १५ प्रतिशत हिस्सा आफूले पाउनुपर्ने माग राखेको स्रोतको दाबी छ ।
एमाले र माओवादी दुवैले अन्य साना दलहरुलाई आफ्नो चुनाव चिन्हमा लड्ने सहमति पनि गरिरहेका छन् । यसले पनि सिट निर्धारणलाई झनै जटिल बनाएको छ ।
तीन दलबीच भएको ६ बुँदे सहमतिमा एमाले र माओवादीबीच नयाँशक्तिसहितका दलहरुलाई दिएर बाँकी सिटमा ६०/४० को भागबण्डा गर्ने भनिएको छ ।
घोषणापत्र कार्यदल पनि सक्रिय
तीन दलले साझा घोषणा पत्र बनाउने निर्णय गर्दै मस्यौदाका लागि कार्यदल पनि बनाएका छन् । एमालेका बामदेव गौतम र माओवादीका नारायणकाजी श्रेष्ठ रहेको यो कार्यदलले भर्खरै काम थालेको छ । तर, मुल राजनीतिक मुद्दाहरुमा अझै छलफल गर्न बाँकी रहेको कार्यदलका एक सदस्यले बताए ।
प्रतिक्रिया 4