आज विश्व मधुमेह दिवस । प्रत्येक वर्ष नोभेम्बर १४ तारीखका दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व मधुमेह दिवस’ मनाइने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय डायविटिज महासंघसितको साझेदारीमा मधुमेह रोगबारे जनचेतना जगाउने उद्देश्यका साथ सन् १९९१ देखि यो दिवस मनाउँदै आएको छ । इन्सुलिनका आविष्कारक तथा उक्त इन्सुलिनलाई मानव शरीरमा प्रयोग गर्ने पहिलो व्यक्तिसर फेडरिक बानिटङको जन्मदिन पारेर यो दिवस मनाइने गरिन्छ ।
विश्व मधुमेह दिवसको यस वर्षको नारा ‘महिला र मधुमेह रहेको छ , स्वस्थ भविष्य हाम्रो अधिकार’ रहेको छ ।
दुई करोड पीडित
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा करिब २०५ मिलियन (दुई करोड पाच लाख) मानिस मधुमेह रोगबाट पिडित छन् । मधुमेहकै कारण अति कम विकसित मुलुकका करिब आधा जनसंख्याको मृत्यु ७० वर्ष नपुग्दै हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार विशवमा प्रत्येक सात मध्ये एउटा जना गर्भवती महिला मधुमेहको उच्च जोखिममा रहने गरेका छन् ।
त्यस्तै, विश्वका शहरी क्षेत्रमा बसोवास गर्ने करिब २० प्रतिशत मानिस मधुमेहको जोखिममा रहने गरेकोमा नेपालमा करिब १५ लाख मानिस मधुमेह रोगबाट पिडित रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
नेपालमा कति छन् मधुमेह रोगी ?
ग्लोबल हेल्थ एक्सनमा प्रकाशित डा. ज्ञवाली एण्ड अल गरेको एक अध्ययन अनुसार नेपालमा कुल ३० हजार जनसंख्यामध्य करिब ४१ दशमलव ५ प्रतिशत पुरुष तथा ५८ दशमलव ५ प्रतिशत महिला मधुमेह रोगबाट पिडित छन् ।
त्यस्तै, मधुमेहको जाखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्य पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।
यसकारण बढ्दैछ जोखिम
स्वास्थ्यको पहुँच कम हुनु, नियमित औषधीको सेवन नुहुनु, गर्भावस्थामा महिलालाई मधुमेहको जोखिम बढी हुनु, गर्भवती महिलाबाट जन्मने शिशुमा मधुमेहको जोखिम बढी हुनुले पनि महिलाहरु मधुमेहको उच्च जोखिम रहने गरेको त्रि.वि शिक्षण अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. ज्योती भट्टराई बताउँछिन् ।
भन्छिन्,’ विशेषगरी गर्भास्थामा गतमा चिनीको मात्रा अचानक बढ्नुले पनि गर्भावस्थामा महिलाहरु मधुमेहको जोखिममा पर्ने गरेका छन् ।’
मधुमेह भएमा मृगौला, मुटुलाई असर गर्नुका साथै आँखा तथा शरीरका अन्य भागमा समेत असर पर्न सक्ने हुदाँ यसको नियन्त्रणका लागि व्यक्तिगत स्तरमा तथा सरकारी स्तरमा काम कारवाही अगाडी बढाउनु पर्ने डा. भट्टराईको सुझाव छ ।
मधुमेह नियन्त्रणका उपाय
मधुमेह रोगको रोकथामका लागि व्यक्तिगत स्तर तथा सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने देखिन्छ ।
सरकारी सावधानी
गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले एकजना मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्छ ।
१. सरकारले चिनीयुक्त पेय पदार्थमा कर बढाउन जरुरी छ ।
२. अस्पताल तथा विद्यालय स्तरमा जंकफुड तथा गुलियो पेय पदार्थमा रोक लगाउनु पर्ने ।
३. वायु प्रदुषणका कारण पनि मधुमेह हुने भएकोले यसको नियन्त्रणका लागि प्रदुषण कम गर्ने ।
४. पार्क तथा साइड पाकको व्यवस्था गर्नु पर्ने । तेलको अनगमन गर्नुपर्ने ।
व्यक्तिगत सर्तकता
यदी कसैको परिवारमा वंशाणुगत मधुमेह भएमा उक्त मधुमेह एक व्यक्तिबाट अर्को व्यक्तिमा देखा पर्न सक्ने हुदाँ विशेष सावधानी अपनाउन जरुरी छ । त्यसबाहेक, यी कुराहरुमा ध्यान दिएर पनि मधुमेह रोगबाट बच्न सकिन्छ ।
१. खानपानमा विशेष ध्यान दिने
२. नियमित व्यायाम गर्ने
३. पौष्टिक आहारको सेवन
४. विद्यालयस्तरबाटै मधुमेह रोगबारे वृहत रुपमा शिक्षा दिने
५. तौल घटाउने
६. वर्षमा कम्तीमा एक पटक रगतको जाँच गर्ने
प्रतिक्रिया 4