+
+

कम्युनिष्ट शासन आए सधैं त्रासमा बस्नुपर्छः प्रधानमन्त्री

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर १४ गते १९:३५

१४ मंसिर, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टको शासन आएमा सधैं डर र त्रासमा बस्नुपर्ने बताएका छन् । उनले कम्युष्टिले संविधान खारेज गरेर राष्ट्रपति शासन लाद्न खोजेको र एकदलीय शासन ल्याउन लागेको आरोपसमेत लगाए ।

वीरगञ्जमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेसले मात्रै मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गरे ।

रातो बंगाला परिसरमा पार्टीले गरेको चुुनावी सभामा प्रधानमन्त्री देउवाले भने, ‘ कम्युनिष्ट शासन भएको कुन देशमा बोल्न र लेख्न पाइन्छ ? कम्युनिष्ट शासन आयो भने बोल्न लेख्न पाइँदैन, सधैं डर र त्रासको माहोल हुन्छ । त्यति मात्रै होइन कम्युनिष्ट शासन आयो भने चुनाव नै हुन्न ।’

कम्युनिष्टको हातमा सत्ता सुम्पनु भनेको एकदलीय तानाशाही शासनलाई निम्ता दिनु भएको बताउँदै प्रधानमन्त्री देउवाले देश सम्पन्न बनाउन कांग्रेसले नै जित्नुपर्ने दाबी गरे । ‘देशको विकास गर्नका लागि विदेशी लगानी ल्याएर ठूला ठूला उद्योग धन्दा खोल्नुपर्छ, त्यसपछि रोजगारी सृजना हुन्छ र देश विकास र समृद्धिको दिशामा अघि बढ्छ ।’ प्रधानमन्त्रीले थपे ‘कम्युनिष्ट देशमा विदेशी लगानी आउँदैन, देश वर्वाद हुन्छ ।’ नेपाल र मधेसको मुहार फेर्नका लागि कांग्रेसले नै जित्नुपर्ने धारणा उनको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको उदगम स्थल वीरगञ्ज नै भएको बताउँदै प्रधानमन्त्री देउवाले कांग्रेसकै नेतृत्वमा क्रान्ति सफल भएको र नेपाली जनतालाई मालिक बनाउने पार्टी कांग्रेस भएकोले आफ्नो पार्टीले जित्नुपर्ने दाबी गरे ।

प्रधानमन्त्री देउवाले संविधानमा देखिएका कमीकमजोरी सुधारेर मधेसी जनताको चाहना र भावना अनुसार संविधान संशोधन गर्न एमालेले नमानेको आरोप लगाए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?