१५ मंसिर, इलाम । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थिर सरकार निर्माणका लागि वाम गठबन्धन गरेको बताएका छन् ।
चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र त्यसपछि विकास र निर्माणको नयाँ युग सुरु हुने खनालको भनाइ छ ।
यहाँको माई नगरपालिकाको दानाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खानलले भने, ”हिजो मुलुक क्रान्ति र आन्दोलनको युगबाट अघि बढ्यो । अब विकासको गति लिएर अघि बढ्ने छ ।”
खनालले वाम गठबन्धनको सरकारले विकासको नयाँ लहर ल्याएर गरिबीको अन्त्य गर्ने दाबी पनि गरेका छन् ।
जनताको भाग्य र भविष्य उज्वल बनाउनका लागि वाम गठबन्धन गरेर चुनाव लडिरहेकाले निर्वाचनलाई सफल बनाउनका लागि गतिशील भएर लाग्न पनि खनालले आव्हान गरेका छन् ।
बरिष्ट नेता खनालले कांग्रेसले संविधान जारी हुने बित्तिकै यसको कार्यान्वयन जोड दिनुपर्नेमा विदेशीको अनुकूलतामा संशोधन गर्न खोक्रो बनाउने खेलमा लागेकाले संविधानलाई जोगाउनका लागि पनि बाम गठबन्धन गरेको बताए ।
वाम गठबन्धनलाई अब बलियो र उन्नत बनाएर एउटै कम्प्युनिष्ट पार्टी बनाएर संविधानको संरक्षण, कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउने पनि खनालले बताए ।
इलामको गहनाको रुपमा रहेको चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै खोर अपमान गरेको आरोप पनि लगाएका छन् ।
बासबारी जुत्ता कारखना र हेटौंडा कपडा कारखनाजस्ता कारखनाहरु विदेशीलाई कौडीको मूल्यमा विक्री गरेर नेपाली कांग्रेसले मुलुकलाई विदेशीहरुको बजार बनाएको बताए ।
नेपाली कांग्रेसकै कारण हामी विदेशमा निर्भर रहनु परेको भन्दै खनालले भने-”नेपाली कांग्रेसको राष्ट्रियता खोक्रो र विदेशीको पूजा गर्ने राष्ट्रियता हो । कांग्रेसकै कारण मुलुक विदेशी पूँजीपतिको नियन्त्रणमा पुगेको छ । यस्तो व्यवस्था कांग्रेसले ल्याएको छ ।”
प्रतिक्रिया 4