२० पुस, काठमाडौं । काठमाडौंमा चोरीको घटना बढ्दै गएको छ । पछिल्ला दिनहरुमा प्रहरी समक्ष ट्याक्सीदेखि गरगहना र ल्यापटपसम्म चोरी भएका उजुरी बाक्लै आउन थालेको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका–८ का प्रदिप खत्रीको ट्याक्सी राति पार्किङ गरिराखेकै अवस्थामा चोरी भयो । उनको बा.१ ज २१५० नम्बरको ट्याक्सी लक गरी काठमाडौं–२६ गोंगबु मित्रनगर मैपी पुल नजिक सडकमा पार्किङ्ग गरी राखेको अवस्थामै चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१६ ढल्कुस्थित शारदा पौडेलको घरमा नगदसहित सुनको गरगहना चोरी भएको छ । घरको मुलढोकाको ताल्चा फोडेर दराजमा रहेको नगद १ लाख रुपैयाँ नगद र विभिन्न सुनका गरगहना समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सानु श्रेष्ठको घरमा रहेको कार्गो कार्यालयबाट ताल्चा फोडेर करिब १ लाख ४० हजार रुपैयाँ मूल्य बरावरको २ थान ल्यापटप बिहीबार चोरी भएको छ ।
ट्याक्सी लगायतका धनमाल तथा चोरहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया 4