+
+
जयस्थिति मल्लको अन्याय :

भक्तपुरका द्यःला किरात हुन् कि दलित ?

दलित हुन नमान्दा माइलाबाबु समानुपातिकमा परेनन्

मीरा राजभण्डारी अमात्य मीरा राजभण्डारी अमात्य
२०७४ माघ ११ गते १५:३४

उमेरले भर्खरै १८ पुगेकी भक्तपुर, भेलुखेलकी पूर्णमाया द्यःलाः (नाम परिवर्तन) लाई मज्जाले पानी खेल्दै नुहाउने रहर छ । तर, उनको यो रहर, रहरमै सीमित छ ।

पूर्णमाया किरात युवती हुन्, तर कामाडौं उपत्यकामा जयस्थिति मल्लले गरेको निर्णयका कारण उनका पूर्खाहरुलाई नेवारी दलितको कित्तामा राखिएको छ । सार्वजनिक धारामा द्यःलाहरु अझैसम्म बञ्चित छन् ।

भक्तपुरको भेलुखेल वस्तीमा तीनवटा निजी पानीट्यांकीले पानी बेच्छन् । खानेपानी जारको तीस रुपैयाँ र अन्य पानी प्रतिबाल्टिन ७ रुपैंयाँ पर्छ ।

वस्ती नजिकै पानी पँधेरो गर्न एउटा इनार पनि छ । तर, कथित उपल्लो तहका मानिसहरुले विगतदेखि त्यो इनारलगायत शहरका अन्य इनार र धारामा छुन मनाही गरेको द्यःला जातिका मानिसहरु बताउँछन् ।

झुक्किएर सानैमा खेल्दै सो वस्तीमा छिरेका कारण पोड्यात वलः पोड्यात वलः (पोडेहरु आए, पोडेहरु आए ) भन्दै उपल्लो जातका मानिसले लखेट्ने र भाटाले हान्ने गरेको सम्झना ताजै रहेको कारण अन्यत्रको पानीसम्मको पहुँच पूर्णमाया लगायतका किशोरीहरुका लागि आकाशको फलजस्तै बनेको छ ।

वस्तीको वीचमा सरकारी धारो छ । तर, पानी नझरेको बीसौं वर्ष भयो । निजी धाराको अवस्था पनि त्यस्तै छ । भर्खरै प्रतिनिधि सभा र स्थानीय तहको चुनावताका अचानक निजी धारामा दिन बिराएर पानी झर्‍यो । वस्तीवासीले सोचे-युग फेरिएछ, हाम्रा पनि दिन आएछन् । तर, निर्वाचन सकिएलगत्तै धारोमा पानी सुक्यो ।

र, पूर्णमाया लगायत कैयौं किशोरीका पानीसँगै खेल्दै नुहाउने सपना अहिले त्यही ७ रुपैयाँ बाल्टिनको पानीमै सीमित भएको छ ।

हुन त वस्तीभन्दा पर अन्य वस्तीटोलमा पनि खासै पानी त आउने होइन । तर, भेलुखेलमा भन्दा उतातिर अलि बढी पानी आउने व्यवस्था खानेपानीका कर्मचारीले नै मिलाई दिएको गुनासो छ द्यःला समुदायको ।

किरातलाई दलित बनाइएको गुनासो

भक्तपुरका राजा जयार्जुन मल्ललाई कैद गरी राजा बनेका जयस्थिति मल्लले आफ्नो शासनकाल  (नेपाल सम्वत ५००) मा भक्तपुरका साथै उपत्यकाको सबै राज्यभार आफ्नो अधीनमा लिए ।

सामाजिक सुधारमा कार्यविभाजनका आधारमा ब्राह्मण, क्षेत्री वैश्य शुद्र गरी चार वर्णलाई उनले ६४ जातमा विभाजन गरे । यसअन्तरगत एक नम्बरमा चर्मकारदेखि ६४ मा द्धिज, विप्र वा ब्राहृमणसम्मका जातको व्यवस्था गरी तिनीहरुको पहिरन, खानपान, विवाह भोजभतेरदेखि काजक्रियासम्मको व्याख्या गरियो । कुन जातको कहाँ र कुन ठाउँमा अन्त्येष्टि गर्ने भन्नेसम्म जयस्थिति मल्लले नियम बाँधिदिए । तर, यसक्रममा आफूहरुमाथि अन्याय भएको द्यःला जातिका अगुवाहरु बताउँछन् ।

जयस्थिति मल्लले जात वा वर्ण विभाजन गर्दा शुद्रअन्तरगतका पोडे वा डोम नाम दिइएका कथित द्यःला वा द्यःपाःलाहरुलाई शुद्र, चाण्डाल वा दलित बनाइदिए । गरीब वा आर्थिकरुपमा विपन्न भएकै कारण आफूहरुलाई यसरी तल्लो जातमा विभाजित गरिएको द्यःला समुदायका बुढापाकाहरु बताउँंछन् ।

आर्य समाज वा हिन्दु वर्णाश्रममा आधारित शुद्रसँग आफ्नो समुदायको केही पनि सम्बन्ध नभएको बताउँछन् द्यःलाः समाजका अध्यक्ष माईलाबाबु द्यःलाः ।

आफूलाई किरात वंशको मान्ने यो जाति पूर्णतः प्रकृतिपूजक हो । द्यःलाःहरु दिगु देवतालाई नै कुलदेवता मान्छन्, जसको कुनै रुप र आकार छैन । उनीहरु आकारविहीन ढुंगा पुज्छन् । यो समुदाय भुलुखेलको पूर्वी भाग लगायतका स्थानमा छरिएर रहेको छ ।

जयस्थिति मल्ल राजा भए पनि भारदारलगायतले मन नपराएका कारण उनले शासन सत्तामा आफ्नो प्रभाव जमाउन नेपालको सामाजिक जीवन सुधारका नाममा यहाँका रैथाने आदिवासी-जनजाति लगायतका सम्प्रदायलाई हिन्दु वर्णाश्रममा ढालेको देखिन्छ ।

कार्य विभाजनका आधारमा विभिन्न जात र उपजातमा विभाजन गरी त्यसैका आधारमा काम र माममा पहुँच दिलाइएका विभिन्न जातिमा यी द्यःलाः जातिहरुलाई निम्नस्तरको आर्थिक र सामाजिक अवस्थामा पुर्‍याइयो ।

यी द्यःलाः वा द्यःपाःला जातिलाई कालान्तरमा जयस्थिति मल्लका पालामा शुद्र अन्तर्गत पोडे नामांकन गरी (हालको भाषामा दलित) को दर्जा दिई मसानमा मूर्दा पोलेको कर लिने, साँझ परेपछि शहर पस्न नपाइने, शहर पस्दा जालले छोपेर पस्नुपर्ने, सुनचाँदी लगायतका गहना र उपल्लोे तहको जस्तो देखिने गरी पोशाक पहिरिन नपाउने नियम बनाइदिए ।

अहिले युग परिवर्तन भयो । भक्तपुर शहरको फोहरमैला हनुमन्ते खोलाले बगाउँदै लग्यो । तर, हनुमन्ते खोला किनारमा समाज सुधारका नाममा शुद्रमा दरिएका वा दरिन बाध्य बनाइएका द्यःपाःला जाथिको आर्थिक सामाजिक र राजनैतिक अवस्था जस्ताको त्यस्तै छ ।

रुपान्तरित समाज र नयाँ नेपालका नाममा दश वर्ष जनयुद्ध लडेर गणतन्त्र स्थापना गर्न सफल माओवादी लगायतका नयाँ धारका राजनैतिक हस्तीहरुको मूलधारे राजनीतिमा प्रवेशपश्चात पनि यी द्यःलाहरुको अवस्था ज्युँका त्यूँ छ ।

चाहे त्यो २०२० सालको मुलुकी ऐनमा व्यवस्था भएको छुवाछुत र विभेद गर्न नपाउने कानुनी व्यबस्था होस् वा रुपान्तरित नयाँ नेपालको संविधान ०७२ का धाराहरुमा भएका मौलिक हक नै हुन् । राज्यलेसमेत यी आदिवासी जनजाति द्यःला हरुलाई गर्ने नीतगत व्यवहारमा परिवर्तन आउन सकेको छैन । उनीहरुलाई समाजले गर्ने व्यवहार त धेरै परको कुरा रहृयो ।

मन्दिरको संरक्षण गर्ने जाति

आफ्नो पूर्खाको थातथलो यहीँ रहेको बताउने द्यःलाः वा द्यःपाःलाहरु विगतमा मन्दिरहरुको संरक्षक, गहना सामानको जिम्मा मन्दिर वरिपरिको पर्यावरण सन्तुलत र शुरक्षित राख्नेजस्ता जिम्मेवारी पाएका थिए ।

हरेक नयाँ वर्षको शुरुवातसँगै भक्तपुरमा बिस्केट जात्रा शुरु हुन्छ । भेलुखेलस्थित लिंगो गाड्ने स्थानसँगै रहेको भैरव मन्दिरमा पूजा गरी राँगो काटेपछि सो राँगोको टाउको द्यःलाहरुका पजलो परेका मध्येले बोकी न्यातपोल रहेको स्थान तमारी (तौमढी) टोलमा पुर्‍याइन्छ ।

त्यसपश्चात द्यःलाहरुले समय बजी (च्युरा, मासु र कालो भटमास लगायतको खास परिकार वा व्यञ्जन ) ग्रहण गरी पुनः भेलुखेल फर्के लिंगो उठाउने स्थानसम्म लिंगो तानेर पुुर्‍याउँछन् । त्यसपछि अन्य जातिले लिंगो ठड्याएपश्चात बिस्केट जात्रा शुरु हुन्छ ।

द्यःलाहरुले सुँगुर र हाँस पाल्ने परम्परा पनि यहाँको संस्कृतिसँग जोडिएको छ । भक्तपुरको तलेजु भवानी मन्दिरमा प्रत्येक वर्ष दशैंमा अनिवार्यरुपमा सुँगुर बुझाउनुपर्छ बलीका लागि ।

त्यस्तै तलेजुका कतिपय परम्परागत कार्यमा द्यःलाहरुको भूमिका रहन्छ । यी द्यःलाहरुले नै बुनेका नरकटका टोकरीहरु पनि अनिवार्य रुपमा दशैंलगायत थाः पूजामा समेत बुझाउनुपर्ने अनिवार्य परम्परा छ ।

दलित हुन नमान्दा माइलाबाबु समानुपातिकमा परेनन्

माइलाबाबु द्यःला जो स्वयंम एमालेका पुराना कार्यकर्ता हुन् । तर, दलित कोटा अश्विकारेकै कारण उनी यसपालिको समानुपातिकको सांसद पदबाट बञ्चिञ्त हुनु परेको बताउँछन् ।

‘आफ्नो आत्मसम्मान र पहिचानभन्दा ठूलो पद हुन सक्दैन’ दलितको कोटा अस्वीकार गरेका माइलाबाबु भन्छन् ।

अहिले समस्त विश्वका मानवजातिको प्रतिष्ठा, समानता र अधिकारहरुको सम्मान र रक्षार्थ अन्तरराष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणापत्र र महासन्धिहरुले व्यवस्था गरेका छन् ।

नेपालमा जातीय विविधता, संस्कृति र धर्मका आधारमा प्राथमिकता दिने बलिया संवैधानिक प्रावधानहरु भए पनि भेलुखेलका द्यःलाहरु आदिवासी भएकै कारण राज्यले सोअनुरुप अधिकारलाई सुनिश्चतता दिन सकेको छैन ।

भक्तपुरलगायत उपत्यकका हरेक शक्तीपीठ तथा मन्दिरहरुमा हुने पूजा, जात्रा तथा पर्वमा यी द्यःलाहरु को परम्परागत उपस्थति रहँदै आएको हुनाले उनीहरुको पहिचान र अस्तित्व जोगाउन र नेपालको विविध संस्कृति जोगाउनकै लागि पनि उनीहरुको आवासको हकलाई किनार लगाउन आवश्यक छ । किनभने अहिलेसम्म उनीहरुले जग्गाधनी प्रमाणपूर्जा पाएका छैनन् ।

पूर्णमाया द्यःलाजस्ता किशोरीले एकबाल्टी पानीका लागि ७ रुपैयाँ तिर्नुनपर्ने र धित मरुञ्जेल नुहाउन पाउने दिन कहिले आउला ?

पहिचानको लडाइँमा युवापुस्ता

विगतमा राज्यले विभेद र बहिस्करणमा गरी शिक्षाको पहुँचलाईसमेत तगारो लगाएकै कारण द्यःला समुदाय राज्य र समाजबाट पाउने सुविधा एवं सम्मानबाट हालसम्म पनि वञ्चितीकरणमा परिरहेको छ ।

अधिकांश द्यःलाहरु हालसम्म अशिक्षित अवस्थामै छन् । आफूलाई पढाउन आफ्ना दाजुले द्यःला थर लुकाएर नेपाली थर राखी आदर्श विद्या मन्दिरमा भर्ना गरिदिएकै कारण १९ वर्षे नवीन द्यःलाले भने अहिले १२ कक्षा पास गरेका छन् । पढ्न पाएकोमा उनी गौरव गर्छन् ।

अचेलका युवापुस्ता भन्दा फरक नवीनको अधिकांश समय अहिले आफ्ना पुस्ताको इतिहास, थातथलो र पहिचानको खोजीमा बित्ने गरेको छ । तर, विगतमा दाजुले पढ्नकै लागि भनेर आफ्नो जात लुकाइदिएकोमा अहिले नवीनलाई चित्त बुझेको छैन । द्यःलाहरुलाई राज्यले दलित कोटामा रखेकोमा उनी सन्तुष्ट छैनन् ।

यो पनि पढ्नुहोस्

बत्तिमुनिको अँध्यारोः लालपूर्जाविहीन छन् भक्तपुरका रैथाने द्यःला

लेखकको बारेमा
मीरा राजभण्डारी अमात्य

पत्रकार महासंघकी लेखा समिति सदस्यसमेत रहेकी मीरा पत्रकार हुन् । उनी सामाजिक- सांस्कृतिक विषयमा कलम चलाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?