+
+

पहिलो बैठकअघि नै मुख्यमन्त्री चयन गर्नुपर्ने शंकर पोखरेलको मत

'प्रदेश प्रमुखले मिति तोकेर मुख्यमन्त्रीको लागि आह्वान गर्नुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १७:४९
फाइल फोटो

१२ माघ, काठमाडौं । प्रदेश नम्बर ५ को मुख्यमन्त्री बन्न लागेका नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेश संसदको पहिलो बैठक बस्नुअघि सरकार गठन हुनुपर्ने बताएका छन् ।

एमाले संसदीय दलको नेता चयन भइसकेका पोखरेलले प्रदेश प्रमुखले मिति तोकेर मुख्यमन्त्रीका लागि आह्वान गर्नुपर्ने धारणा व्यक्त गरे ।

अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले भने ‘सरकार गठन नभई संसदलाई कसले बिजनेश दिने ? पहिलो बैठकमा प्रदेश प्रमुखले के बोल्ने,कसको तर्फबाट बोल्ने ? मुख्यमन्त्री चयन नभई संसद बैठक बस्ने कुरा उल्टो हुन्छ भन्ने मेरो धारणा हो ।’

पोखरलले यस विषयमा आफ्नो प्रदेशका प्रमुखलाई पनि सुझाव दिएको बताए । सरकार गठनपछि संसद बैठक राख्दा प्रदेश प्रमुखले सम्वोधन गर्ने विषय र संसदले पनि बिजनेश पाउने उनको भनाइ छ ।

‘निश्चित मिति तोकेर प्रदेश प्रमुखले सरकार गठनको लागि सार्वजनिक सूचना जारी गर्नुपर्छ भनेर मैले सुझाव दिएको हुँ’ पोखरेलले भने ‘बहुमतप्राप्त संसदीय दलको नेता मुख्यमन्त्रीको दावी सहित जान्छन्, नहुनेले अर्को दलको सहमति सहित दाबी गर्न सक्छ’ ।

संविधानले प्रदेशसभाको सम्पूर्ण नतिजा आधिकारिक रुपमा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा बैठक बोलाउनुपर्ने भनेको छ । त्यसैले माघ ३ गते नतिजा सार्वजनिक भएको मितिले माघ २३ भित्र पहिलो बैठक बोलाउनुपर्ने बाध्यता प्रदेश प्रमुखहरुलाई छ ।

संविधानअनुसार नतिजा सार्वजनिक भएको एक महिनाभित्र मुख्यमन्त्री चयन हुनुपर्छ । त्यसैले मुख्यमन्त्री चयन फागुन ३ भित्र हुनुपर्छ । प्रदेश प्रमुखले मिति तोकेर आह्वान गर्ने हो भने एक साताभित्र सबै प्रदेशमा सरकार गठन हुन सक्ने पोखरेलको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?