१० फागुन, यूएई । रौतहटको सन्तपुर एकीकृत नमूना वस्ती निर्माण गर्दा धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ ७० लाख ऋण लागेको समाचार सार्वजनिक भएपछि चितवनकी सीता सुवेदी भाबुक भइन् ।
लामो समय यूएईमा रहेका आफ्ना श्रीमान रमेशलाई धुर्मुस सुन्तलीको अभियानमा सहयोग जुटाउने बारेमा सल्लाह गरिन् ।
१७ वर्षभन्दा लामो समय यूएईमा बिताएका सामाजिक अभियन्ता रमेशले देश र देशवासीको विकासका लागि सकेको सहयोग गर्ने आश्वासन दिए ।
चितवनको खैरेनीमा मुनाल क्लबले सम्पन्न गरेको सामाजिक कामबाट प्रभावित भएर यूएईमा पनि मुनाल बचत समूह बनाइ आर्थिक समृद्धिको बाटोमा रमेश, सीता, कैलाश अर्याल लगायतका १७ जना नेपालीहरु संगठित भएकै थिए ।
यो समूहले सदस्यहरुको आर्थिक बचत तथा सस्तोमा लगानीका साथै विशेष अवस्थामा सामाजिक काम पनि गरेको छ ।
केही समयअघि महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाएको यो समूहले धुर्मुस सुन्तली फाउन्डेसनलाई यूएईबाट एकीकृत वस्ती निर्माणमा आर्थिक सहयोग जुटाएको छ ।
मुनाल बचत कोष, यूएईबाट एकीकृत बस्ती निर्माणका लागि ३५ हजार २ सय ५५ रुपैयाँको आर्थिक सहयोग गरिएको हो ।
चितवन, काठमाडौं र पाल्पाका १७ जनाको एक समूह बनाई मासिक रुपमा बचत अभियान चलाउदै आएका नेपालीहरुले एकीकृत वस्ती निर्माणकार्यमा सानो योगदान गरेको अभियन्ता सीता सुवेदीले जानकारी दिएकी छन् । धुर्मुस सुन्तलीले गरेको कामको उच्च सम्मान स्वरुप सहयोग अभियान चलाएको मुनाल बचत कोष परिवारले जनाएको छ ।
समूहको अग्रसरतामा सीता सुवेदीको नेतृत्वमा मुनाल बचत कोषले रकम संकलन गरेको सहयोगी पाल्पाली समाजका उपाध्यक्ष कैलाश अर्यालले बताए ।
धुर्मुस र सुन्तलीले कलाकारिताका साथमा देश निर्माणका लागि अनुकरणीय काम गरेकोमा परदेशबाट सहकार्य गर्न पाउँदा गर्वको अनुभुती भएको अभियन्ता सुवेदीले बताइन् ।
प्रतिक्रिया 4