२३ वैशाख, बझाङ । बझाङको थलारा गाँउपालिका-४ डिक्लागाडमा खहरे खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ ।
ढोढेखेत बजारबाट शनिबार राति घरतर्फ जाने क्रममा घर नजिकैको खहरे खोलामा बगेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा थलारा गाँपालिका-४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५ वर्षीया कलसी विक रहेको बझाङ्ग प्रहरी, प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।
एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएपनि परिवार र गाउँ शोकमा परेको छ । मृतक बिकको घरमा आमा बुबा र एक छोरा एक छोरी छन् ।
शनिबार राति करिब ८ बजेको समयमा परेको वर्षाका कारण खहरे खोलामा बाढी आएको थियो । घटना राति भएपनि विहान मात्रै जानकारी भएको प्रहरीले बताएको छ ।
रातको समयमा खोला तर्ने क्रममा उनीहरुलाई खहरेको भेलले बगाएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको शवलाई पोष्टमार्टमको लागि अस्पताल ल्याउने तयारी भैरहेको छ ।
गत १९ गते राति मात्रै बझाङ्गमै अचानक परेको पानीपछि आएको भेलले गुडीहरेको गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4