+
+

निजी पढेकाले समावेशी कोटा नपाउने, स्वार्थ जोडिएका विषयमा बोल्न सांसदलाई बन्देज !

संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी, जेठ पहिलो साता नयाँ पार्टी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते ६:४४


२४, वैशाख, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सदाझैं आज पनि विविध विषयहरु समेटेका छन् । आर्थिक, सामाजिक, राजनीतिलगायतका  विषय आजको पत्रपत्रिकाको प्राथमिकतामा परेको छ ।

यातायात सिन्डिकेटलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले नछुटाइकन लेखेका छन् । केहीले २४५ यातायात व्यवसायीको बैंक खाता रोक्का भएको समाचार लेखेका छन् भने कुनैले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले सिन्डिकेट अन्त्य गर्ने भनेर व्यक्त गरेको भनाइलाई छापेका छन् । सिन्डिकेट अन्त्य गर्न व्यवसायी सहमत भएकोलाई पनि पत्रपत्रिकाले कभरेज गरेका छन् ।

यसका अतिरिक्त एमाले–माओवादी संयुक्त अधिवेशनको तयारीमा लागेको, निजीमा पढेका विद्यार्थीले समावेशी कोटा नपाउने नियम बसालिएको, रामायण सर्किटमा जनकपुर जोडिन लागेको लगायत समाचारले पनि आजका पत्रिकामा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी, जेठ पहिलो साता नयाँ पार्टी घोषणा

नयाँ पत्रिका दैनिकका अनुसार एकता प्रक्रियामा रहेका एमाले–माओवादी संयुक्त अधिवेशनको तयारीमा लागेका छन् । जेठको पहिलो साता बोलाइएको त्यस्तो अधिवेशनमार्फत नयाँ पार्टी र नेतृत्व घोषणा गर्ने दुई पार्टीको योजना छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाको लागि संयुक्त अधिवेशन बोलाउने समझदारी गरेको समाचारमा उल्लेख छ । ‘दुई अध्यक्षबीच बिहीबार भएको छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको छ’, नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

मोदीलाई चार तहको सुरक्षा, २५ सुरक्षाकर्मी आउँदै

नयाँ पत्रिकामै नेपाल भ्रमणमा आउन लागेका नरेन्द्र मोदीलाई चार तहको सुरक्षा दिन लागिएको समाचार छ ।

समाचार अनुसार मोदी इन्डियन एयर फोर्सको हेलिकोप्टरमा नेपाल आउने छन् । तर मुस्ताङ जान भने नेपलाी सेनाको हेलिकोप्टर प्रयोग हुनेछ । भारतीय पाइलट उक्त क्षेत्रको भूगोलमा अभ्यस्त नभएकाले यस्तो गर्न लागिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।
उनका सुरक्षाका लागि २५ सुरक्षाकर्मी पनि साथमै आउने छन् ।

२४५ समितिका बैंक खाता रोक्का

सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बैंक खाता आइतबार साँझदेखि रोक्का भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ ।

कान्तिपुर दैनिकका अनुसार सरकारले सम्पत्ति छानबिन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आइतबार राष्ट्र बैंकले ती समितिका खाता रोक्क ागर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

रामायण सर्किटमा जोडिँदै जनकपुर

कान्तिपुरका अनुसार जनकपुर रामायण सर्किटमा जोडिने भएको छ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको हो ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्कित अवधारणा ल्याइएको हो ।

स्वार्थ जोडिएको विषयमा सांसदले बोल्न नपाउने

व्यक्तिगत स्वार्थ जोडिएको विषयमा छलफल हुँदा सम्बन्धित सांसदले बोल्न नपाउने भएका छन् ।

अघिल्लो संसदका सांसदहरुले आफ्नो व्यक्तिगत स्वार्थअनुसार कानून बनाउन चलखेल गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले यस्तो प्रस्ताव गरेको कान्तिपुर दैनिकमा खबर छ ।

समाचार अनुसार संसद सदस्यले पालना गर्नुपर्ने आचारसंहितामै कुनै पनि विषयमा व्यक्तिगत वा निजी स्वार्थ गाँसिएको भए बैठक वा समितिलाई अनिवार्य त्यसको जानकारी गराइ छलफलमा भाग लिन नहुने प्रावधान राखेको छ ।

निजी पढेकाले समावेशी कोटा नपाउने

अब निजामति सेवामा समावेशी सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामति सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गरी कानूनको मस्यौदा अघि बढाउने तयारी गरेको हो ।

दूतावासको जिम्मामा ११ उत्तर कोरियाली

अध्यागमन विभागले श्रम स्वीकृतिबिनै काम गरेको आरोपमा पक्राउ ११ उत्तर कोरियालीलाई कुनै अनुसन्धान र छानबिन नगरी आइतबार रिहा गरेको छ ।

विभागले गैरकानूनी ढंगले काम गरेको पर्याप्त प्रमाण हुँदा हुँदै विनाअनुसन्धान उनीहरुलाई उन्मुक्ति दिएको अन्नपूर्ण पोस्ट दैनिकको समाचारमा उल्लेख छ ।

अध्यागमनले अनुसन्धान र बयान लिने औपचारिकता पूरा गर्दै आइन्दा प्रवेशाज्ञा दुरुपयोग नगर्ने लिखित सर्तमा उनीहरुलाई काठमाडौंस्थित उत्तर कोरियाली दूतावासको जिम्मा लगाइएको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?