
४ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएर केन्द्रीय कार्यालय प्रवेश गरेका छन् ।
शुक्रबार साँझ अर्का अध्यक्ष प्रचण्ड र हाइकमाण्डका नेताहरुसँगै ओली पेरिसडाँडा पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेर पदभार सम्हालेका हुन् ।
ओलीले पार्टी कार्यालय पुगेर जनयुद्ध स्तम्भमा माल्यार्पण गरी टाउको झुकाउँदा उपस्थित नेता कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । ओलीलाई पेरिसडाँडामा पूर्व माओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए ।



पेरिसडाँडास्थित पार्टी कार्यालयमा पदभार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ।
धुम्बाराहीमा प्रचण्डको स्वागत

त्यस्तै शुक्रबार नै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितको टोली धुम्बाराहीस्थित कार्यालयमा पुगेको थियो । उक्त कार्यालयमा कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रचण्डलाई स्वागत गरेको थियो । त्यहाँ कम्युनिष्ट पार्टीका अध्यक्षद्वय र सचिवालय सदस्यले सामूहिक तस्वीर खिचाएका थिए ।

प्रतिक्रिया 4