+
+

२० वर्षपछि उत्तर कोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते ८:५४


१७ जेठ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल कायम रहेका बेला किमका अतिनिकटस्थ नेता जनरल किम योङ चोलले विदेशमन्त्री माइकलाई न्यूयोर्कमा भेटेका हुन् ।

चोल अमेरिका भ्रमण गर्ने २० वर्ष यताकै हाइप्रोफाइल नेता हुन् । उनी चीनको राजधानी बेइजिङबाटबाट एयर चाइनाको जहाज चढेर अमेरिका पुगेका थिए ।

यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता अमेरिकाले एकतर्फी स्थगित गरेको थियो । परमाणु निःशस्त्रीकरणका विषयमा विवाद भएपछि ट्रम्पले पूर्वनिर्धारित कार्यक्रम रद्दको घोषणा गरेका थिए ।

तर अमेरिका र उत्तर कोरियाली नेताबीच वार्ताको वातावरण बनाउने प्रयास जारी छ । यसै प्रयासस्वरुप उत्तर कोरियाली नेता किमका निकटस्थ चोल र अमेरिकी विदेशमन्त्री पोम्पिओबीच पहिलो छलफल भएको छ र आजै अर्को चरणको भेटवार्ता हुनेछ ।

बुधबार बेलुकी अमेरिकी डिपार्टमेन्ट अफ स्टेटका सचिव पोम्पियो र जनरल किम संयुक्त राष्ट्रसंघको कार्यालय नजिकैको एक भवनमा छुट्टाछुट्टै प्रवेश गरेका थिए ।

त्यसको केहि समयपछि पोम्पियोले न्यूयोर्कमा किम योङसँग वार्ता गर्दै सँगै खाना खाएको भन्दै टि्वट गरेका थिए । उनले मेनुमा स्टेक, कर्न र चिज रहेको पनि टि्वटमा उल्लेख गरेका थिए ।

दुईबीचकाे उच्चस्तरीय भेटले जारी असहमति हल हुने विश्वास लिइएको छ ।

यसैबीच उत्तर कोरियाले ट्रम्प प्रशासनको सदस्यहरुले उत्तर कोरियाली नि:शस्त्रीकरणलाई लिबियासँग तुलना गरेकोमा आपत्ति जनाएको छ ।
पूर्व लिबियाली नेता कर्णेल गद्दाफीले आफ्नो आणविक कार्यक्रम बन्द गरेको केहि वर्षपछि पश्चिमा समर्थित विद्रोहीले उनको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?