राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता र पेरिस जलवायु महासन्धिबाट अमेरिकालाई अलग गराए । नाफ्टा र टिपिपी व्यापार सम्झौताबाट हात झिके । शरणार्थी र आप्रवासीविरुद्ध खनिए । बेलायत युरोपियन युनियनबाट अलग हुने भो । हंगेरीमा दक्षिणपन्थी भनिएका प्रधानमन्त्री भिक्टर ओर्बानले दोश्रो कार्यकाल जिते । मानवअधिकार उल्लंघनका आरोपका बावजूद फिलिपिन्समा डुटेर्टे अझै लोकप्रिय छन् । अन्य युरोपेली मुलुकहरुमा पनि राष्ट्रवादी र अनुदारवादी दलहरुले चुनावबाटै वापसी (कमब्याक) गर्दैछन् ।
उदारवादको गर्भगृह मानिएका युरोप र अमेरिकाबाटै उदारवादको ओह्रालो यात्रा शुरु भएको छ । भिक्टर ओर्बानले त परम्परागत स्वच्छन्द लोकतन्त्रले अब नचल्ने भन्दै अनुदारवादी प्रजातन्त्र (इल्लिबरल डेमोक्रेसी) नामक नयाँ शब्दावली नै ‘क्वाइन’ गरेका छन् ।
आखिरमा किन सबैले राम्रो मानेको उदारवाद एकाएक रक्षात्मक अवस्थामा पुग्यो त ? मुलुकपिच्छे कारण धेरै छन् । तर उदारवादको सबैभन्दा ठूलो खोट के भने यसले समाजलाई कहिल्यै स्थिर हुन दिँदो रहेनछ । अनेक वाद, सिद्धान्त, मापदण्ड र मानकका नाममा समाजलाई जहिल्यै गिजोलिरहँदो रहेछ । समाजलाई कहिल्यै थिग्रिएर सोच्न नदिने । पछाडि फर्केर हेर्न पनि नदिने । आखिरमा विकासको प्रतिफल चाख्न पनि स्थिरता त चाहियो नि । गाडी गुडेको गुड्यै गरेर हुन्छ र? कहीँ गएर अडिनु पर्दैन ? अडिएपछि पो गन्तव्यमा यात्रु ओर्लिनसक्छन् । गति र अग्रगमनका नाममा गाडी कुदाएको कुदायै गर्ने, यात्रु आफ्नो बिसौनीमा पनि झर्न नपाउने !
उदारवादको अर्को गल्ती के भने यसले विवेक होइन भावनालाई बोकेर हिँड्दो रहेछ । व्यक्तिलाई समाज र राष्ट्रबाट अलग राखेर हेर्दो रहेछ । के व्यक्तिको निजी अस्तित्वमात्रै हुन्छ ? समाज र राष्ट्रप्रति व्यक्तिको कुनै दायित्व हुँदैन ? समाजबाट सुरक्षा र राष्ट्रबाट सम्पत्ति लिइसकेपछि बदलामा केही गर्नुपर्दैन ? उदारवाद चर्किँदै गयो भने परिवार किन चाहियो ? विवाह किन गर्नुप-यो ? बच्चा किन पाउनुप-यो ? राष्ट्र किन चाहियो ? सीमानाहरु हटाइदिए हुन्छ, समाज नभए पनि हुन्छ, सरकार अनावश्यक हो, सम्पत्ति किन राख्नुप-यो ? सेना, प्रहरी, अदालत र जेल किन चाहियो ? नियम कानुन किन बनाउनुप-यो? कर किन तिर्नुप-यो? नांगै हिंड्न किन नपाउने? धर्मसंस्कृति वाहियात हो जस्ता खतरनाक बहसलाई जन्म दिनेरहेछ । स्वतन्त्रताका नाममा उदारवाद मौलाउँदै गयो भने यसले हामीलाई अन्ततः पुर्खाहरुको जस्तै फेरि जंगलमा लगेर छोड्दोरहेछ । जे मर्जी लाग्छ गर, तिमीलाई रोक्ने/छेक्ने कोही छैन । मानवहरुलाई जैविक प्राणीको रूपमा मात्र हेर्ने र त्यस्तैत्यस्तै नियम बनाउने ! उनीहरुको सामाजिक, आर्थिक र राजनीतिक हैसियत/दायित्वलाई नकार्ने।यस्तो विश्व व्यवस्था कुनै स्वछन्द कविको रोमान्चक कवितामा राम्रो देखिएला, तर ढुक्क भएर बाँच्न यसले पनि दिँदो रहेनछ ! स्वच्छन्दता र उदारतालाई ज्यादै मसिनो रेखाले छुट्याउने रहेछ, जुन धेरैले ठम्याउनसक्दा रहेनछन् ।
उदारवादको अर्को भूल के भने यसले सधैंभरि अधिकार र स्वतन्त्रता भनेर चिच्याइरह्यो, तर कर्तव्य र जिम्मेवारीका बारेमा मुखै खोलेन । समाजमा जहाँ पनि एउटाको अधिकार भनेको अर्काको कर्तव्य हो । एउटाको स्वतन्त्रता भनेको अर्काका लागि जिम्मेवारी हो । तर उदारवादले सिक्काको एउटा पाटोमात्र उछालिरह्यो । पानी बन्न हाइड्रोजन र अक्सिजन दुवै चाहिन्छ । कुनै एउटाको अभावमा पानी बन्दैन । तर उदारवादले एउटामात्र घटक लिएर पानी बनाउन खोज्यो, जुन असम्भव थियो । कवितामा समाज चल्दैन । दिवास्वप्नले देश चल्दैन । समाज चलाउन, देश हाँक्न मीठो जति चाहिन्छ, तीतो पनि त्यत्तिकै। तीतो धेरै भयो भने बान्ता हुन्छ । मीठो धेरै भयो भने पनि मधुमेह हुन्छ । शासन आदर्शमा मात्र चल्दैन, समयको चाप हेरेर कतिपय अप्रिय निर्णय गरेर पनि जानुपर्छ । तपाईंले कहिल्यै पनि हरेकको चित्त बुझाउन सक्नुहुन्न, न त परिवारमा, न त समाज वा राष्ट्रमा ! आखिरमा एकै फैसला एकै समयमा सही र लोकप्रिय दुवै नहुनसक्छ, कुनै एउटामात्र पनि हुनसक्छ ।
हो, उदारवादले मानिसहरुलाई सचेत र जागरुक बनायो । यो पक्कै राम्रो पक्ष हो । तर त्यो सचेतना र जागरुकता अधिकार र सहुलियतका लागि मात्र भयो । कर्तव्य, अनुशासन र जवाफदेहितातर्फ यो चेतना सोझिन सकेन । यसको परिणाम के भयो भने चेतनाको नाममा समाजमा उत्तेजना फैलियो । जागरुकताका नाममा खुराफात पनि झांगियो । अर्धसत्य, आधा तस्वीर र आफूलाई अनुकूल हुने पाटोमात्र हेरेर परिस्थिति एवं पदार्थको विश्लेषण गर्न थालियो । यसले वैकल्पिक सत्यलाई पूर्णसत्यको रूपमा स्थापित गरिदियो । हिन्दू धर्मलाई पछि पण्डाहरुले बिगारेजस्तै, उदारवादका पछिल्ला मठाधीशहरुले पनि यसमा अनेक रङ्ग दली दिए । पछिल्ला दिनमा उदारवाद नवकुबेर जन्माउने र गफ गरेर, नारा बेचेर खाने कुरौटे अखडासमेत बन्न थाल्यो ।अमेरिका र युरोपका बासिन्दाले अल्पमतको दवाब र शासनमा बहुमतपट्टिकाहरु परिरहेको महसूस गरे ।यसलाई उनीहरुले प्रकृतिको नियमविरुद्ध बुझे ।
फेरि, मानिसको पहिलो आवश्यकता गास, बास र कपास हुन्छ । मस्तिष्कसिंचन त्यसपछिको जरुरत हो ।उदारवादले मानिसहरुलाई सोच, विचार र तर्कमा सम्प्रभु बनाईदियो । तर तिनीहरुको आङ ढाक्न र भोक मेट्न सकेन । वैचारिक उचाईले आर्थिक समृद्धि र सामाजिक सुरक्षा दिन सकेन । हिजो अज्ञानतामा यस्तै होला भनेर सहिबसेका मानिसहरुले वास्तविकता त बुझे, तर त्यसलाई बदल्न सकेनन् । बदल्न नसक्दाको पीडा र आक्रोश अन्तत: उदारवादमाथि नै पोखियो । किनकि उदारवादसंग मनचिन्ते योजनामात्र थियो, ज्यावल, उपकरण र हातपाखुरा थिएनन् जसले त्यो योजनाबाट रस निकाल्थ्यो । बेरोजगारी, गरिबी, शरणार्थीको ओईरो, वनसांगलाले घर सांगलालाई लखेटेको दृश्य, उदारवादी सोचका नाममा भइरहेको गलत सूचनाको व्यापार, परिवर्तनको राग अलाप्ने तर काम केही नहुने, आदि कुराले आजित भएरै युरोपेली र अमेरिकीले अनुदारवादमा भविष्य देखेका हुन् ।कतै उदारवाद र राष्ट्रियता संगै जान सक्दैनन् कि भन्ने त्रास खासगरी प्रौढ पुस्तामा व्याप्त भयो ।
चुरो कुरा के भने एक न एक दिन सत्यको सामना तपाईं हामीले गर्नैपर्छ । एक न एक दिन भुइंमा टेक्नैपर्छ । एक न एक दिन चिसो पानीले नुहाउनैपर्छ । हो समाजमा परिवर्तन आवश्यक छ, तर अति परिवर्तनले पनि बिगार्छ । हरेक कुरामा परिवर्तन जरुरी पनि छैन । कतिपय परिवर्तनहरु समयले प्राकृतिक रूपमा ल्याओस् भनेर पर्खिन पनि सक्नुपर्छ । असारमा धान रोपेपछि काटेर भित्राउन कार्तिकसम्म कुर्नुपर्छ । यसको मतलब त्यो बेलासम्म निदाएर बस्नुपर्छ भन्ने होइन । अरु काममा व्यस्त हुन सकिन्छ । बाह्य बल लगाएर असमयमा गरिएको परिवर्तनलाई टिकाउन गाह्रो हुन्छ ।परिवर्तनको फल चाख्न पनि स्थिरता चाहिन्छ । नत्र देश प्रयोगशाला हुन्छ भने जनताहरु गिनी पिग ! त्यो बेला लगाम थाहै नपाई अरुको हातमा सरिसकेको हुन्छ !
तेश्रो विश्वमा उदारवाद त्यति धेरै विकर्षक भइसकेको छैन । विकासोन्मुख मुलुकहरु तानाशाही र प्रत्यक्ष शासनबाट तन्ग्रिएको धेरै भएको पनि छैन । हिजोसम्म कठोर शासन झेलेका जनतामा उदारवाद अझै प्यारो छ । स्मिथ, कीन्स र मिलरले आर्थिक प्रणालीमा सर्वप्रथम उदारवादको प्रयोग गरेका थिए, जुन पछि राजनीतिक र सामाजिक पद्धतिमा समेत फैलियो ।
भोलिका दिनमा उदारवाद कता जान्छ, कस्तो खोलमा आफूलाई फिट गराउँछ, त्यो हेर्न बाँकी छ ।त्यसैगरी, लोकतन्त्र सर्वश्रेष्ठ शासनप्रणाली भएकोमा ध्वनिमत भए पनि त्यो भोलिका दिनमा फरक प्याकेजमा आउनसक्छ, त्यसका मान्यता र प्राथमिकता फेरिन सक्छन्।अधिकारमुखीभन्दा नतिजामुखी सोच हावी हुनसक्छ । यसरी, लोकतन्त्र र उदारवादको २ शताब्दी पुरानो परिभाषा भने अब बदलिएरै छोड्नेछ ।
प्रतिक्रिया 4