१९ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै गत जेठ १५ गतेदेखि आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
मंगलबार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका वरिष्ठ नेता पौडेललाई उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ ।
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता वरिष्ठ नेता पौडेलको भनाइ छ ।
‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारवाहीका लागि अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो ।गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ’ उनले भने ।
वरिष्ठ नेता पौडेलले विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने परम्परा स्थापित हुन थालेको भन्दै सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको बताए ।
प्रतिक्रिया 4