११ साउन, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाको नाम परिर्वतन गर्न खोजेको भन्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।
नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि नगरपालिका राख्न लागिएको भन्दै वडाध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
महेन्द्रनारायण निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका बुवा हुन् ।
नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका स्व.पिता महेन्द्रनारायण निधिको नामबाट नगरपालिकाको नाम राख्न खोजेको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रेका हुन् ।
नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले गोप्यरुपमा परिषदमार्फत नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि नगरपालिका राख्ने प्रक्रिया अघि बढाएपछि आफूहरु आन्दोलनमा उत्रिएको वडानम्बर १ का अध्यक्ष प्रमोद साहले बताए ।
नगरपालिकाका मेयर यादवले गत असार २० गते भएको नगरपरिषदकै क्रममा गोप्यरुपमा नाम परिवर्तन गर्ने प्रस्ताव अघि अघि बढाएको तर छलफलमै नल्याएको वडा नं. ७ का अध्यक्ष रामदुलार मुखियाले बताए ।
नगराइन नगरपालिकाको ९ वटा वडामध्ये ५ वटा वडामा कांग्रेस र ४ वटा वडामा नेकपाले जितेको छ । जसमा कांग्रेसका मेयर लगायत पाँचवटै वडाका अध्यक्ष र सदस्यहरु पक्षमा छन् । नेकपाका ४ वटै वडाका अध्यक्ष र सदस्यहरु नाम परिवर्तणको विपक्षमा छन् ।
नगरपालिकाको नाम परिवर्तन गर्नुपरेमा सम्बन्धित सभामा तत्काल रहेको सदस्यसंख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई पठाउनु पर्ने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया 4