+
+

पोखराको पालिखेचोकमा ४ दशकदेखि विवादित घरमा डोजर

अमृत सुवेदी अमृत सुवेदी
२०७५ साउन १७ गते १९:०६

१७ साउन, पोखरा । ४ दशक अघिदेखिको विवादित पाखिलेचोकको घर बिहीबार भत्काइएको छ । लामो समयदेखि विवादित घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पोखरा महानगरले पालिखेचोककासडक मापदण्डभित्रका घर भत्काउने अभियान अन्तर्गत बिहीबार थप एक भत्किएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाको नेतृत्वमा बिहीबार वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घरमा डोजर लगाइएको छ । उनीहरुलाई महानगरले मुआब्जा दिएर भत्काएको हो ।

४ जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्न सहमत भइसकेका छन् । बाँकी ३ घर पनि हप्तादिनभित्रै भत्काउने गरी योजना अगाडि बढिरहेको बास्तोलाले जानकारी दिए ।

वडा नम्बर ३ अन्तर्गत पालिखेचोक अन्तर्गत सडक मापदण्डभित्र परेका र नयाँ घर बनाउनसमेत नमिल्ने जग्गामा रहेको घर भत्काउन यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो ।

वसन्त परिवारसँगै प्रदीपशंकर पालिखेले पनि घर भत्काउनका लागि मुआब्जा बुझिसकेका छन् । बसन्त उदासको नाममा सूचना जारी भए पनि सोही कित्तामा ३ जनाको संयुक्त लालपूर्जा रहेकोले तीनैजनाको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ ।

वसन्त परिवारले ७६ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जा बुझिसकेका थिए । घरको क्षतिपूर्ती ४ लाख ११ हजार ५० र जग्गाको क्षतिपूर्ती ७२ लाख ७२ हजार रुपैयाँसहितको मुआब्जा उनीहरुले बुझेपछि घर भत्काइएको हो ।

यस्तै किशोरीदेवी श्रेष्ठ, प्रदीपशंकर पालिखे र कृष्णमान श्रेष्ठको घर पनि भत्काउन मुआब्जा निर्धारण भइसकेको छ । किशोरीदेवीले ७३ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जामा सहमति गरिसकेकी छन् भने प्रदीपशंकरले पनि ४४ लाख ६२ हजार ८ सय ९१ रुपैयाँ मुआब्जा लिने सहमति जनाइसकेका छन् ।

कृष्णमान श्रेष्ठको नाममा रहेको घर भत्काउन ६४ लाख २१ हजार ७ सय ५२ रुपैयाँ मुआब्जा लिएर घर भत्काउने सहमति भएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

यी घर भत्काइएसँगै अब पालिखेचोक पनि फराकिलो हुने भएको छ । साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिबर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको छ ।

पालिखेचोकको १ सय ९९ बर्गमिटर जग्गा अधिग्रहण गरिएको छ । यहाँका घर भत्काउने प्रयास ४० वर्षअघि थालिएपनि जनप्रतिनिधि आएको एक वर्षभित्र सडक चौडा बनाउन सफल भएको हो ।

४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउन खोजेको जानकार बताउँछन् । स्थानीयको विरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?